जागिर दिने नाममा ठगी धन्दा

समाधान संवाददाता २०७८ भदौ २५ गते २२:४६

आकर्षक जागिर लगाइदिन्छु भनी ठग्ने कृष्णप्रसाद पौडेल पक्राउ

सञ्जय रानाभाट

पोखरा -पोखरा १४ चाउथे बस्ने सन्तोष नेपाली ३ महिनादेखि तनावमा छन् । बिबिएस प्रथम वर्षमा पढ्ने सँगै जागिर गर्न खोज्दै थिए । दैनिक उनी चिनेजानेका भनसुनदेखि पत्रपत्रिकाका आवश्यकता पढ्थे ।

केही ठाउँमा जागिर पाए पनि उनले खोजे जस्तो भएन । फेसबुक चलाइरेका उनको असार २१ गते बेलुका एक्कासी देखिएको एउटा पोस्टले ध्यान तान्यो । लेखिएको थियोः १०० प्रतिशत जब ग्यारेन्टी, मासिक २५ हजार तलब ।

यो पोस्ट देखेपछि उनी थप उत्सुक भए । यो काम गर्न पाए घर, परिवारसहित आफ्ना आवश्यकता सजिलै पूरा हुन्थे भन्ने सोचे । भोलिको प्रतीक्षामा उनलाई रातभर निन्द्रा परेन । भोलिपल्ट बिहान ९ बजे नै उनी घरबाट निस्के । फेसबुकमा उल्लेख भएको ठेगाना पोखरा २७ मा रहेको पिजिएस एग्रो एन्ड मल्टिप्रपोज प्राइभेट लिमिटेड नामक जब सेन्टर पुगे । त्यहाँ पुगेपछि उनलाई थाहा भयो, कामका लागि फर्म भर्नुपर्ने रैछ ।

उनलाई काम चाहिएकै थियो । ‘फुड कम्पनीका लागि म्यानेजरमा र्फम भरेँ । फर्म भर्न २५ सय लाग्यो,’ उनले भने । सेन्टरबाट अन्तर्वार्ता लिइने र पछि कल आउने जानकारी उनलाई गराइयो । दिन बित्दै थियो तर उनलाई न फोन आयो न नै म्यासेज । निकै दिन पर्खेपछि उनी दैनिकजसो त्यो अफिस गएर जब लगाइदिन आग्रह गरिरहे । ‘एक दिन अचानक इन्टरभ्यु लियो,’ उनले भने । तर उनलाई सिधै फेल गराइएको उनको दाबी छ ।


फेरि अर्को फम भर्न वा सुपरभाइजरमा लड्न उनलाई भनियो । उनले सुपरभाइजरमा फेरि फर्म भरे तर अझै उनको अन्तर्वार्ता भएको छैन । शुक्रबार उनी जब सेन्टर पुग्दा कार्यालय प्रमुख नै पक्राउ परेको सुने । कार्यालय प्रमुख कृष्णप्रसाद पौडेललाई प्रहरीले पक्राउ गरेको थियो ।

जब सेन्टरका हाकिम पक्राउ परेपछि सन्तोष प्रहरीकैमा पुगे । शुक्रबारै प्रहरी कार्यालयमा २ सय ५० जना भेला भएर गएको उनले सुनाए । ‘लगभग ४ हजार मानिसलाई पोखरामा यसै गरी दुःख दिएको भेलामा सबैले भन्नुभा’छ,’ उनले भने ।

स्याङ्जा घर भएको सन्दीप पुरी २ वर्षअघि विदेशबाट नेपाल फर्किए । महामारीपछि फेरि विदेश जाने सोच बनाएका थिए । एक दिन उनलाई साथीले नेपालमै २५ हजारको जागिर पाइने जब सेन्टर पु¥याए । उनले सुपरभाइजरका लागि फर्म भरे, २५ सय तिरे । अनेक पटक आग्रक गरेपछि बल्ल उनको अन्तर्वार्ता लिइयो । त्यसमा पास भएको अहिले १ महिना पुग्न लाग्यो । यो बीचमा उनको अफर लेटर पनि आयो ।

उनले अझै जागिर गर्न पाएका छैनन् । सन्दीपलाई पोखराको आद्यौगिक क्षेत्रमा रहेको फुड कम्पनीमा जागिर लगाइदिने भनिएको थियो । अन्तर्वार्तामा पास भएपछि उनलाई पिसिआर गर्न लगाइयो । खोप लगाएको कार्ड बनाए, प्यान नम्बर पनि लिन लगाइयो । आकर्षक जागिरको आशमा जे जे भनियो, उनी त्यही त्यही गर्र्दै गए । त्यहाँ जागिर पाउनुको साटो अन्य मौकासमेत उनले गुमाए । यसरी अनेक प्रक्रियामा भुलाएर ठगी गर्नेलाई कडा कारवाही हुनुपर्ने उनको माग छ ।

पोखरा १४ छिनेडाँडा बस्दै आएका राजेश सुनार पनि केही महिनादेखि जागिरको खोजीमा थिए । उनी पनि त्यही जब सेन्टरको चक्रब्यूहमा परे । विभिन्न माध्यमबाट २५ हजारको जब पाइने सुनेपछि उनी पनि त्यही पुगे । भने जति शुल्क तिरे, प्रक्रिया पूरा गरे । अरु जब सेन्टरले जागिर पाएपछि पहिलो महिनाको तलबको निश्चित प्रतिशत लिने गरेकोमा यो जब सेन्टरले २५ सयमात्र लिने भनेपछि त्यही गएको उनले सुनाए ।

भदौ २५ गतेसम्म फिक्स जब भने पनि उनले जब पाएनन् । शुक्रबार सम्पर्क गर्दा उनलाई फेरि अर्काे भाका दिइयो आइतबार । उनलाई वर्करमा काम लगाइदिने र अन्तर्वार्ता दिन नपर्ने भनिएको थियो ।

प्रहरीले शुक्रबार कृष्णप्रसाद पौडेललाई प्रहरीले पक्राउ गरेको छ । स्याङ्जाको फेदीखोला १ घर भएका २१ वर्षीय पौडेललाई शुक्रबार शिशुवा प्रहरीले प्रक्राउ गरेको हो । पोखराको २७ मा पिजिएस एग्रो एन्ड मल्टिप्रपोज प्राइभेट लिमिटेड नामक जब सेन्टरमा जागिर लगाइदिन्छु भनी रकम लिएर रसिद काट्दै गर्दा प्रहरीले प्रक्राउ गरेको हो । आफूहरु ठगिएको भन्दै शुक्राबार २ सयभन्दा बढी प्रहरी कार्यालयमा आएको जानकारी दिँदै इलाका प्रहरी कार्यालय शिशुवाका प्रमुख महेन्द्र मरासिनीले जाहेरी परेपछि थप अनुसन्धान हुने बताए ।

पक्राउ परेपछि पौडेलले जागिर खोज्नेहरुबाट १७ लाख उठाएको स्वीकारेका छन् । प्रहरीका अनुसार केन्द्रीय कार्यालय पोखरामा बनाएर देशका विभिन्न ठाउँमा शाखा कार्यालय खोलेर धेरै जनालाई दुख दिएको हुन सक्ने प्रहरी स्रोत बताउँछ ।

तपाईको प्रतिक्रिया