पाेखराकाे स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबिबिएस पढाइ हुने

सञ्जय रानाभाट २०७८ भदौ २७ गते १३:३३

सञ्जय रानाभाट
पोखरा-पोखराको स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मेडिकल कलेजको पूर्वाधार बन्ने भएको छ । कलेज बनेपछि प्रदेशमै सरकारी अस्पतालमा एमबिबिएस अध्यापन हुनेछ । संघीय सरकारले २०७३ मा ‘१ प्रदेश, १ सरकारी मेडिकल कलेज’को अवधारणा अगाडि सारे अनुसार गण्डकीमा अब एमबिबिएस पढाइ गर्ने तयारी भएको हो ।


यसअघि गण्डकी प्रदेशमा सरकारी मेडिकल थिएनन् । प्रदेशमा एमबिबिएस पढ्न ठूलो रकम खर्चेर प्राइभेट कलेज रोज्नुपर्ने वाध्यता थियो । संघ सरकारको २०७५ फागुन ३ गतेको मन्त्रिपरिषद् बैठकले मेडिकल कलेज स्थापनाका लागि पूर्वाधार निर्माण विकास आयोजना स्वीकृत गरेको थियो । त्यसै अनुरुप स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गण्डकी प्रदेशको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, महोत्तरीको बर्दिबास, प्रदेश १ को इलाम, लुम्बिनी प्रदेशको लुम्बिनी र कर्णाली प्रदेशको सुर्खेतमा मेडिकल कलेज एवं एमबिबिएस कार्यक्रम सञ्चालनका लागि ३ महिनाभित्र ठोस विस्तृत प्रतिवेदन दिन पत्राचार गरेको छ ।


स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पत्राचारपछि गण्डकी प्रदेशको पोखरामा रहेको स्वास्थ्य विज्ञान प्रतिष्ठानले १ महिनाभित्र डिपिआर बुझाउने तयारी गरेको उपकुलपति डा. डुकबहादुर क्षेत्रीले जानकारी दिए ।

Advertisement


अस्पतालका निर्देशक डाक्टर भरतबहादुर खत्रीले मन्त्रालयमा विस्तृत प्रतिवेदन छिट्टै पठाउने तयारी रहेको बताए । ‘हामी जग्गा खोज्दै छौं । कहाँ बनाउने टुंगो भएको छैन । अब छिट्टै सबै कुराको टुंगो लागेपछि रिपोर्ट पठाउँछौं,’ उनले भने ।


अस्पतालले प्रारम्भिक रिपोट बुझाइसकेको छ । प्रारम्भिक रिपोर्टमा १ अर्ब २० करोड खर्च लाग्ने विवरण पठाएको र अहिले समिति गठन भई अनुुसन्धान भइरहेको खत्रीले उल्लेख गरे । ‘स्थायी रुपमा मेडिकल कलेज स्थापना गर्न धेरै वर्ष लाग्छ । त्यसैले हामी अस्थायी रुपमै कसरी छिट्टै मेडिकल कलेज स्थापना गर्न सकिन्छ भनेर लागेका छौं,’ उनले भने । स्थायी रुपमा मेडिकल भवन बनाउन धेरै जग्गा चाहिने उनी बताउँछन् । भन्छन्, ‘अस्पतालमै मेडिकल कलेज पूर्वाधार बनाउन सम्भव छैन । अन्य ठाउँमा जग्गा खोजिरहेका छै ।’

Advertisement


कजेज बनाउन ठूलो जनशक्ति पनि चाहिन्छ । अस्पतालको नाममा सिम्पानीमा रहेको करिब ६० रोपनी जग्गामा मेडिकल कलेज बन्ने सम्भावना खत्रीले औंल्याए । उनी भन्छन्, ‘हामीसँग अस्पताल छ । अब भवन निर्माण हुने जग्गा फाइनल भएपछि छिट्टै काम सुरु हुन्छ ।’ सरकारले दिएको म्यादअघि नै अस्थायी रुपमै भए पनि एमबिबिएस पढाइ सुरु गर्ने तयारीमा रहेको उनले जानकारी दिए ।


मेडिकल कलेजको डिपिआर हाल अस्पताल रेट्रो फिटिङ गर्दै गरेको कम्पनीले तयार गर्दै छ । अस्पतालमा एमबिबिएस पढाउन केही सहज हुने प्रतिष्ठानका उपकुलपति डाक्टर डुक क्षेत्री बताउँछन् । ‘४ वर्षे कोषमा २ वर्ष बेसिक साइन्स र २ वर्ष अस्पतालम गर्नुपर्ने भएकाले केही सहज हुन्छ,’ उनले भने, ‘अस्पताल हामीसँग छ । यस कारण एमबिबिएस पढाइ गर्न केही सजिलो भने छ ।’


सरकारले २०८० सालसम्म मेडिकल कलेज सञ्चालन गर्न भने पनि अस्थायी रुपमा छिट्टै सञ्चालन गर्न सकिने उनी बताउँछन् । स्थायी रुपमा सञ्चालन हुने भवन बन्न समय लाग्ने भएकाले बाँकी १८ महिनामा अस्थायी रुपमै भए पनि पढाइ सञ्चालन गरिने भएको छ ।


मेडिकल कलेज कस्तो बनाउने भन्नेमै छलफल जारी छ । ‘एमबिबिएस पढाउन अनुमती पाएका छौं । अब छिट्टै कम सुरु हुन्छ,’ उनले भने । गत वर्ष काठमाडौंमा भएको सिनेट बैठकबाट अस्पतालले मेडिकल कलेज बनाउने अनुमति पाएको थियो । प्रतिष्ठानमा अहिले एडी, एमएचको पढाइ भइरहेको छ ।


अहिले अस्पतालमा ४३ विद्यार्थी अध्ययनरत छन् । ‘एमबिबिएस पढाइ गर्न ५ वटा ल्याब, टिचिङ मेटिरियल, माइक्रोस्कोप, म्युजियम, प्रोजेक्टर, स्लाइड लगायतका पूर्वाधार आवश्यक पर्छ,’ उनले भने ।


अहिले इन्जिनियर हायर गरी पार्टन अस्पतालको मेडिकल कलेज निरीक्षण गर्न पठाइएको छ । ‘अझै मिल्यो भने भरतपुर पनि पठाउँछौं ।’ उनले भने । कलेज बनाउन संघीय सरकार र प्रदेश सरकार दुबैले सहयोग गर्ने उनले अपेक्षा गरे । मेडिकल कलेज बनेपछि प्रदेशमै गरिबका छोराछोरीले पनि सर्बसुलभ लागतमा एमबिबिएस पढ्न सक्ने उनी सुनाउँछन् ।


स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २०८० सम्म प्रत्येक प्रदेशमा कम्तीमा १ सरकारी मेडिकल कलेज स्थापना गर्ने उद्देश्य लिएको छ । चिकित्सा शिक्षा पढाइको सुरुआत गर्ने गृहकार्य ३ वर्षअघि भएपनि हालसम्म कुनै मेडिकल बनिसकेका छैनन् ।

सञ्जय रानाभाट

रानाभाट समाधानन्युज डटकम र समाधान दैनिकका संवाददाता हुन् ।

तपाईको प्रतिक्रिया