बिजुलीको बजार खोज्दै नेपाल

समाधान संवाददाता २०७८ भदौ २८ गते १२:२७

राति ४ सय मेगावाट र दिउँसो २ सय मेगावाट बिजुली बढी भएपछि नेपाल विद्युत प्राधिकरणले बजार खोज्न थालेको छ


समाधान संवाददाता


काठमाडौं – राष्ट्रिय प्रणालीमा माथिल्लो तामाकोशीको बिजुली जोडिएपछि राति झण्डै ४ सय मेगावाट बिजुली खेर गएको छ । दिउँसो पनि २ सय मेगावाट बिजुली जगेडामा परेको छ ।


कुनै समय १ युनिट बिजुलीका लागि पनि ठूलो संघर्ष गर्नुपरेको थियो । माथिल्लो तामाकोशी जोडिएपछि वर्षाकालमा मुलुक बिजुलीमा आत्मनिर्भर भएको छ ।आत्मनिर्भर भए पनि ठूलोमात्रामा दैनिक बिजुली खेर जाँदा त्यसले राम्रो गरेको छैन । दैनिक ४ करोड बराबरको घाटा प्राधिकरणलाई लागिरहेको छ ।


यस्तो बेलामा बढी भएको बिजुली भारततर्फ निर्यात गर्नु नै नेपालको हितको विषय हुन जान्छ । तर, भारत सरकारकोतर्फबाट कुनै सहमति हुन सकेको छैन । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले हालै गरेको भारत भ्रमणमा बढी भएको बिजुलीको सहज बजार प्रवेशका लागि भारतीय अधिकारीसमक्ष आग्रह गरेका थिए ।

नेपालमा बढी भएको बेला भारतमा, नेपाललाई चाहिएका बेला भारतबाट आयात गर्ने विषयमा भारतीय अधिकारीसँग घिसिङ नेतृत्वको प्रतिनिधिमण्डलले छलफल गरेको छ । प्राधिकरणले बर्खामा नेपालमा खपत गरी बढिरहेको विद्युत् निर्यात गर्न र हिउँदमा नपुग्ने विद्युत् आयातका लागि भारतको विहार राज्यसँग पारस्परिक मौसमी विद्युत् आदानप्रदान गर्ने प्रस्ताव गरेको छ । 

प्राधिकरणले ४ सय ५६ मेगावाटको माथिल्लो तामाकोसी र अन्य निजी क्षेत्रका जलविद्युत् आयोजनाबाट बर्खामा उत्पादित विद्युत् देशभित्र खपत गर्न नसकी खेर जाने अवस्था आएपछि बिहार स्टेट पावर होल्डिङ कम्पनी लिमिटेडसँग पारस्परिक मौसमी विद्युत् आदानप्रदानको प्रस्ताव गरेको कार्यकारी निर्देशक घिसिङले जानकारी दिए ।

बर्खाका ६ महिना नेपालबाट विद्युत् विहार पठाउने र हिउँदका ६ महिना उताबाट ल्याउने गरी पारस्परिक विद्युत् आदानप्रदानको प्रस्ताव गरिएको प्राधिकरणका कार्यकारी निर्देशक घिसिङको भनाइ छ । यसमा भारतीय पक्षको जवाफ सकारात्मक पाएको र केही दिनभित्रमा ठोस निर्णय आउने विश्वास व्यक्त गरे ।
साँझ ५ बजेदेखि १० बजेसम्म नेपालमा अत्यधिक बिजुलीमाग हुन्छ । त्यस आधारमा उच्च माग १ हजार ५ य ४३ मेगावाटसम्म पुगेको छ । प्रणालीमा भने झण्डै २ हजार मेगावाट बिजुली उपलब्ध हुने गरेको छ । निर्माणमा रहेका अधिकांश आयोजना सम्पन्न हुने चरणमा पुगेका छन् । यस आधारमा हरेक महिना बिजुलीको मात्रा थप हुँदै जाने देखिन्छ ।

कार्यकारी निर्देशक घिसिङका अनुसार यस वर्षको बाँकी ३ महिनामा नेपालमा खपत गरेर बढी हुने करिब ७० करोड युनिट र अर्को वर्ष ३ अर्ब ७९ करोड युनिट ऊर्जा विहारलाई दिन सकिनेछ । हिउँद याममा त्यति नै बराबरको विद्युत् आयात गर्न सकिन्छ । यसले गर्दा बर्खामा खेर जाने विद्युत्को उच्चतम् प्रयोग हुनेछ । अहिले विहारसँग जोडिएका ३३ र १३२ केभीका प्रसारण लाइन पूर्वाधारबाट ३ सय ७१ मेगावाटसम्म विद्युत् आदानप्रदान गर्न सकिन्छ ।
बर्खामा उत्पादित विद्युत् आन्तरिकरुपमा खपत गर्न नसकी खेर जाने अवस्था आई प्राधिकरणको वित्तीय अवस्थामा प्रतिकूल प्रभाव पर्ने देखिएपछि ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले विद्युत् बिक्रीका विषयमा छलफल गर्न प्राधिकरणका कार्यकारी निर्देशक घिसिङको नेतृत्वमा टोलीलाई भारत पठाएकी थिइन् ।
प्राधिकरणले हालसम्म ३ सय ४६ आयोजनासँग ६ हजार १ सय ७६ मेगावाट विद्युत् खरिद बिक्री सम्झौता (पिपिए) गरेको छ । यसमध्ये १ सय ११ आयोजना निर्माण सम्पन्न भई सञ्चालनमा छन् । आयोजनाको जडित क्षमता १ हजार ३ सय मेगावाट छ । त्यस्तै ३ हजार ३४ मेगावाट क्षमता बराबरका १ सय ३६ आयोजना वित्तीय व्यवस्थापन गरी निर्माणाधीन छन् ।
भारतको केन्द्रीय विद्युत् प्रणालीअन्तर्गत दैनिक विद्युत् बजार (डे अहेड मार्केट) मा नेपालको विद्युत् बिक्री गर्न सहमतिका लागि केन्द्रीय ऊर्जा मन्त्रालयका पदाधिकारी, केन्द्रीय विद्युत् प्राधिकरणका पदाधिकारी एवं नेपालसँगको विद्युत् व्यापारका लागि तोकिएको सम्पर्क निकाय एनटिपिसी विद्युत् व्यापार निगम र पावर टेडिङ कर्पोरेसन (पिटिसी)का पदाधिकारीसँग विस्तृत छलफल गरिएको थियो । कार्यकारी निर्देशक घिसिङले भने, ‘यसको नतिजा केही दिनमा आउन सक्छ ।’ प्राधिकरणको यो प्रस्तावले स्वीकृति पाएमा नेपालको खेर जाने बिजुलीको सदुपयोग हुने र त्यसबाट प्राधिकरणको आर्थिक स्वास्थ्यसमेत राम्रो हुने विश्वास लिइएको छ ।

तपाईको प्रतिक्रिया