जोमसोम विमानस्थलमा पर्यटकको फोटो सेसन

समाधान संवाददाता २०७८ भदौ २९ गते २१:४१

एसके थकाली
जोमसोम— हिमाली जिल्ला मुस्ताङमा निषेधाज्ञा खुकुलो भएसंगै मंगलबार तारा एअरलाईन्सको जहाज आएको छ । लामो समयदेखि उडान प्रभावित बनेको पोखरा—जोमसोम हवाई सेवा ५ महिनापछि तारा एअरलाईन्सको दुईवटा टुईनेटर जहाज मुस्ताङ आएको जोमसोम नागरिक उड्यन कार्यालयले जनाएको छ ।
मुस्ताङमा तारा एअरको जहाज आएपछि जोमसोम विमानस्थलमा पर्यटकले निलगिरि हिमालको प्रोफाईल कैद गरी फोटो सेसन समेत गरे ।कोरोनाको दोश्रो भेरियन्टपछि जारी निषेधाज्ञाको ५ महिनापछि मंगलबार जहाज चढेर मुस्ताङ आएका उनीहरु पहिलो पर्यटक थिए । उनीहरु मुस्ताङको प्राकृतिक सुन्दरताले भरिएको मुस्ताङमा पाईला टेक्न पाएकोमा उत्साहित समेत देखिन्थे । तारा एअरको दुई वटा टुईनेटर जहाजले आकस्मिक उडान भर्दै नेपाली र विदेशी पर्यटक बोकेर जोमसोम अवतरण गरेको हो ।
पोखरा —जोमसोम नियमित हवाई उडान सेवा तत्काल सुचारु नभएपनि तारा एअरलाईन्स् कम्पनीको दुई वटा टुईनेटर जहाजले आकस्मिक उडान भर्दै १० जना भारतीय र १७ जना नेपाली गरी २७ जना पर्यटक बोकेर मुस्ताङ आएको जोमसोम नागरिक उड्यन कार्यालयले जनाएको छ ।
कोरोना कहरका कारण गत बैशाख देखि पुरै बन्द अवस्थामा रहेको पोखरा—जोमसोम हवाई सेवा मुस्ताङमा निषेधाज्ञा खुकुलो पारिएसंगै जहाज आउन सक्ने वातावरण सृजना भएको जोमसोम नागरिक उड्यन कार्यालयले जनाएको छ । कार्यालयका निमित्त प्रमुख विशाख घिमिरेले ५ महिनाको अन्तरालपछि तारा एअरको दुई वटा जहाजले आकस्मिक उडान भरेको जानकारी दिए ।
मुस्ताङ आउने आन्तरिक तथा बाह्य पर्यटकले डिसिसीएमसीको निर्णय अनुसार पिसिआर र एन्टिजेन परिक्षण गरेको रिपोर्टका साथै खोप कार्डका आधारमा मुस्ताङ प्रवेश गर्ने अनुमती प्रदान गरिएको बताए । उनले अहिले मुक्तिनाथ मन्दिर खुल्ला नभएकाले आकस्मिक उडान मात्र सुरु भएको र मुक्तिनाथ खुल्ला हुनसाथ पोखरा—जोमसोम हवाई उडान नियमित हुने जानकारी दिए ।
कोरोनाको दोश्रो भेरियन्टका कारण सुनसान बनेको मुस्ताङको जोमसोम विमानस्थलमा मंगलबार पर्यटकीय रौनकता छाएको छ ।यसअघि कोरोनाको पहिलो लहरपछि पोखरा—जोमसोम हवाई सेवा ३ महिना संञ्चालनमा आएर पुन ः बन्द भएको थियो ।पोखरा —जोमसोम आकस्मिक हवाई उडान सुरु भएसंगै मुस्ताङका पर्यटन ब्यवसायी उत्साहित भएका छन् । उनीहरुले कोरोनाका कारण गुमेको मुस्ताङको पर्यटन ब्यवसायलाई चलायमान बनाउन मुक्तिनाथ मन्दिर खुल्ला गरेर हवाई सेवालाई नियमित गर्नुपर्ने जनाएका छन् ।

बर्खायामको मौसममा बेनी—जोमसोम सडक बाढी÷पहिरो र नदी कटानका कारण ठाउँ÷ठाउँमा पहिरो गई अवरुद्ध हुने गरेको र कोरोना कहरका कारण पोखरा—जोमसोम हवाई सेवा समेत बन्द हुदा अतिआवश्यकीय कामकाज तथा उपचारका लागि चर्को मुल्य तिरेर नागरिकले हेलिकोप्टर चार्टर गर्नुपर्ने बाध्यता रहेको थियो । हवाई सेवा नियमित भएमा मुस्ताङका गम्भिर प्रकृतिका बिरामीलाई थप उपचारका लागि पोखरा लैजान सहज हुने जनाईएको छ ।
मुस्ताङमा निषेधाज्ञा खुकुलो भएसंगै पोखरा—जोमसोम र काठमान्डौं—पोखरा —जोमसोम लामो दुरीको यातायातका साधन समेत निर्वाध रुपमा संञ्चालन भएका छन् ।मुस्ताङमा भदौ २१ गते भएको सर्वदलिय तथा सर्वपक्षिय भेलाको बैठकले मुस्ताङको आर्थिक अवस्था चलायमान बनाउन निषेधाज्ञा खुकुलो बनाउन सुझाईएको थियो । सोही राय सुझावको आधारमा स्थानीय प्रशासनले पर्यटकीय गतिविधि संञ्चालन गर्न निषेधाज्ञा खुकुलो बनाउने निर्णय गरेको थियो ।

मुस्ताङमा निषेधाज्ञा खुकुलो बनेसंगै यसअघि ६ दिनको फेरोमा २० जना विभिन्न मुलुकका विदेशी पर्यटक मुस्ताङ भित्रिएका थिए ।जसमध्ये १६ जना विदेशी पर्यटकले राउण्ड धौलागिरिको पदयात्रा गर्नेछन् भने बाँकी ४ जना विदेशी पर्यटकले उपल्लो मुस्ताङको भ्रमण गर्ने कार्यतालिका रहेको अन्नपूर्ण संरक्षणक्षेत्र आयोजना ( एक्याप) जोमसोमले जनाएको छ । मुस्ताङमा निषेधाज्ञा खुकुलो पारिएसंगै जिल्लाका साना—ठुलाहरु होटलहरु निर्वाध रुपमा संञ्चालन हुन थालेका छन् भने मुक्तिनाथ रानीपौवाका पर्यटक लक्षित होटलहरु भने अझै संञ्चालनमा आउन सकेको छैन ।
कोरोनाको दोश्रो भेरियन्टसंगै कोराना “हट स्पट’ बनेको मुक्तिनाथ रानीपौवामा यसअघि स्थानीय र मुक्तिनाथ विकास समितिबीच क्षतिपूर्र्ती उपलब्ध गराउने बिषयमा भएको सम्झौता कार्यान्वयन नभएको भन्दै स्थानीयले मुक्तिनाथ मन्दिर तत्काल खुल्ला गर्न मानेका छैनन् । उनीहरुले विगतमा भएको सम्झौता कार्यान्वयन गरेर मात्र मुक्तिनाथ मन्दिर खोल्ने बिषयमा प्रबेश गर्न सकिने जनाएका छन् ।

तपाईको प्रतिक्रिया