खतिवडासँग २ लाख धरौटी माग

समाधान संवाददाता २०७८ भदौ ३१ गते १४:४८

यसअघि पनि जिल्ला प्रशासन र अदालतबाट सजाय पाएका थिए


पोखरा – फेवातालको सीमसार क्षेत्र पुर्ने काम गर्दा प्रहरीलाई अभद्र व्यवहार गरेको आरोपमा पक्राउ परेका युवराज खतिवडासँग अदालतले २ लाख रुपैयाँ धरौटी माग गरेको छ । त्यतिका रकम बुझाई उनी रिहा भएका छन् । कास्की जिल्ला अदालतका जिल्ला न्यायाधीश श्रीकृष्ण भट्टराईको इजलासले बिहीबार खतिवडासँग धरौटीमा माग्ने आदेश गरेको हो ।


खतिवडा एकसाताअघि पक्राउ परेका थिए । ‘हालैको अवस्थामा खतिवडा निर्दोष रहेछन् भन्नसकिने अवस्था विद्यमान नदेखिई निजको हकमा पछि थप प्रमाण बुझ्दै जाँदा ठहरे बमोजिम हुने गरी हाललाई नगद धरौट, बैंक ग्यारेन्टी वा सो बराबरको जेथा जमानत माग गरी दिए तारेखमा राख्नू,’ आदेशमा भनिएको छ, ‘सो दिननसके कानुनबमोजिमको सिधा खान पाउने गरी थुनुवा पुर्जी दिई कारागार कार्यालय कास्कीमा पठाइदिनू भनी बमोजिम यो आदेश गरिदिएको छ ।’ फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ६८ बमोजिम अदालतले उक्त आदेश गरेको हो ।

Advertisement


पोखरा महानगरपालिका वडा नम्बर १८ खपौदीस्थित सार्वजनिक स्थानमा २४ गते युवराज खतिवडाले कामदारहरू परिचालन गरी फेवाताल संरक्षण क्षेत्र भित्र सिमेन्ट, ढुंगाको पर्खाल लगाइ जेभिसीसमेतको प्रयोग गरी फेवाताल अतिक्रमण गरेको अवस्थामा फेला पारेको कास्की प्रहरीले जनाएको छ ।

उनलाई ‘किन तपाईंले फेवातालमा माटोले पुर्ने काम गर्नु भएको’ भनी सोधपुछ गर्दा एक्कासि आवेगमा आई मलाई सोधपुछ गर्ने तिमीहरू को हौ ? मैले जे गरे पनि तिमीहरूलाई के मतलब भन्दै कराएपश्चात् परिचय दिँदा पनि उनले वादविवाद गर्नुका साथै विभिन्न अपशब्दहरूमा गालीगलौज गरी अशान्ति मच्चाइ प्रहरीसँग अभद्र गरेको भन्नेसमेत बेहोराको प्रहरी प्रतिवेदन अदालतमा पेस भएको थियो ।

Advertisement


यसअघि केही सार्वजनिक अपराध मुद्दामा जिल्ला प्रशासन कार्यालयको २०७१ असार ३२ को फैसला र जुवा, कौडा मुद्दामा पुनरावेदन अदालत पोखराको मिति २०७३ भदौ १४ गतेको फैसलाबाट खतिवडाले सजाय पाएका थिए ।


कास्की जिल्ला अदालतमा बुधबार भएको थुनछेक बहसमा खतिवडाका तर्फबाट अधिवक्ताहरु राधा शर्मा, गेज शर्मा पोख्रेल र लुमचन्द्र रेग्मी बहस गरेका थिए । सरकारवादी उक्त मुद्दामा सहायक जिल्ला न्यायाधिवक्ता मदन शर्माले पैरवी गरेका थिए । खतिवडा पक्षका अधिवक्ताहरुले घटनास्थलमा उनी नभएको र त्यस्तो कुनै अभद्र व्यवहार उनीबाट नभएको दलिल पेस गरे । सहायक न्यायाधिवक्ता शर्माले भने गुण्डागर्दी शैलीमा ड्युटीमा खटिएका प्रहरी कर्मचारीलाई सार्वजनिक स्थानमा जे पायो त्यही अमर्यादित शब्द प्रयोग गरी, राष्ट्रसेवकको काममा बाधा व्यवधान गरी धाक, धम्की दिई, अभद्र व्यवहार गरी सार्वजनिक शान्ति र व्यवस्थामा खलल पु¥याउने कार्य गरेकोले मुद्दा पुर्पक्षका लागि थुनामा राखी कारबाही होस् भनी माग गरेका थिए ।


खतिवडाले आफू निर्माण व्यवसाय गरी गरी खाने व्यक्ति भएको बताएका थिए । उनले जग्गा भाडामा दियो भन्ने आशंकामा निर्दोष व्यक्तिलाई फँसाउने नियतले गिरफ्तार गरी मुद्दा चलाएको दाबी पनि गरेका थिए । खतिवडाले भनेका थिए, ‘पेसाले निर्माण व्यवसायी हुँ, जेसिबी मेसिन, टिपरसमेत भाडामा दिने गर्दछु । त्यस दिन साथीहरू दीपेश श्रेष्ठ र मनोज श्रेष्ठले प्रहरी प्रतिवेदनमा उल्लेखित फेवाताल छेउको विवादित जग्गामा माटोले पुरी सम्याउन डोजर मागेको हुँदा मैले मेरो कन्सट्रक्सनको जेसिबी (ब्याकलोडर) चालक भीष्म आचार्यसहित पठाएको थिएँ ।’


खतिवडाले पोखरा १८ सेदी, पृथ्वीचोक, अमरसिंह चोक र पस्र्याङमा मापदण्ड मिच्दै संरचना निर्माण गरिरहेको आरोप लाग्ने गरेको छ । धादिङका उनले आफू बस्दै आएको पस्र्याङमा समेत नियम विपरीत गरेको निर्माण वडाले भत्काएको थियो ।

तपाईको प्रतिक्रिया