गण्डकी प्रदेश सभाका २ समितिमा गाहाथापा र लामिछाने

समाधान संवाददाता २०७८ भदौ ३१ गते १६:२४


पोखरा । गण्डकी प्रदेश सभामा सार्वजनिक लेखा समितिको सभापति एमाले सांसद रोशनबहादुर गाहाथापा निर्वाचित भएका छन् । कांग्रेस सांसद विष्णुप्रसाद लामिछाने विधायन समितिको सभापति निर्वाचित भएका छन् । दुवै सांसद नवलपुरबाट निर्वाचित हुन् ।

दुवै समितिको सभापतिका लागि बुधबार दुवैजनाले उम्मेदवारी दिएका छन् । अरु कसैको उम्मेदवारी नपरेपछि उनीहरु सर्वसम्मत निर्वाचित भएका हुन् । सार्वजनिक लेखा समितिमा गाहाथापालाई सभापतिको प्रस्ताव कांग्रेसकी प्रमुख सचेतक ओमकला गौतम चालिसेले गरेकी थिइन् । समर्थन माओवादी प्रमुख सचेतक गायत्री गुरुङले गरेकी हुन् ।


विधायन समितिको सभापतिमा लामिछानेलाई सभापतिमा एमाले सांसद राजीव पहारीले प्रस्ताव गरेका हुन् भने जनमोर्चाकी पियारी थापाले समर्थन गरेकी थिइन् । यसअघि सार्वजनिक लेखा समिति सभापति कुमार खड्का थिए । उनी मन्त्री बनेपछि उनको सभापति पद स्वतः गएको हो । विधायन समितिमा एमाले सांसद मोहन रेग्मी सभापति थिए । उनले राजीनामा गरेका थिए ।

Advertisement

सत्ता र प्रतिपक्षबीच संसदीय समितिको नेतृत्वमा भागबन्डा भएको हो । कांग्रेस सरकारमा भएको हुँदा विधायन समितिको नेतृत्व चाहेको थियो । सार्वजनिक लेखा समिति भने प्रमुख प्रतिपक्षलाई दिने संसदीय परम्परा छ ।

Advertisement

तपाईको प्रतिक्रिया