मेनुकाका नौगेडी

स्मीता अधिकारी २०७८ भदौ ३१ गते २२:३६


चाडबाडको माहोल सुरु भएसँगै महिलाले लगाउने गहनाको पनि चर्चा हुन थाल्छ । अहिले महिलाले सुनका गहना लगाउन धेरै कम गरिसकेकाले छिटो, छरितो, मितव्ययी, सर्वपहुँच र सुन्दर पनि हुने हुँदा हस्तकला गहनाको फेसन यतिबेला खुब चलेको छ । यिनै गहनाभित्र पनि क्रिस्टलबाट बनेको नौगेडी पोते धेरैले लगाएको देखिन्छ । यही नौगेडीकी मुख्य सिर्जनाकार लेखनाथकी उद्यमी मेनुका श्रेष्ठ । यो लगायत उनले थुप्रै हस्तकलाका सामग्री सिर्जना गर्छिन् र यही सिप अन्य महिलालाई पनि बाँड्छिन् ।


२०५८ सालमा लेखनाथ उद्योग वाणिज्य संघमा पसल दर्ता भएपछि समेत आफूसँग सफल उद्यमी बन्ने खुबी छ भन्ने कुराको हेक्का थिएन लेखनाथ ३२ राजाको चौताराकी मेनका श्रेष्ठलाई । किराना पसल गरेर आाफैले कमाइ गर्न थालेपछि, सबैजना महिला आर्थिक रुपमा आत्मनिर्भर हुनुपर्छ भन्ने सोचाइ चाहिँ उद्योग वाणिज्य संघमा दर्ता भएसँगै आएको हो उनलाई ।


उद्यमीको रुपमा वाणिज्य संघमा दर्ता हुँदा एकादुई महिला मात्र थिए, त्यसैले महिलाहरुलाई अघि बढ्न के कुराले छेक्छ होला भन्ने प्रश्नमात्र आउँथ्यो दिमागमा त्यसताका । महिला भएकै कारण आफूले उतिसारो अन्याय अत्याचार भोग्न नपरे पनि, व्यापार व्यवसायका लागि संगठित निकायमा अत्यन्तै न्यून संख्यामा महिला देख्दा महिलाको सामाजिक, पारिवारिक र व्यक्तिगत अवस्थाका विषयमा निकै चासो बढ्दै गयो उनलाई । त्यसपछि सुरु भयो, उनको उद्यमशीलता उजागर तथा समग्र महिलाका लागि नेतृत्व तथा हौसलाका पाइलाहरु ।

Advertisement


उद्योग वाणिज्य संघको कार्यसमितिका लागि चुनावी मैदानमा उत्रिइन् र २०६८ सालताका पहिलोपटक कार्यसमिति सदस्य बनिन् । कार्यसमिति सदस्यको रुपमा विभिन्न कार्यक्रममा भाग लिँदा, समाजका धेरै महिला दिदीबिहिनीसँग घुलमिल हुने मौका मिल्यो उनलाई । ‘आम महिलाको सबैभन्दा ठूलो समस्या भनेको आर्थिक परनिर्भरता रहेछ, यसले नै महिलालाई दोस्रो दर्जाको नागरिक हुन बाध्य पारेको रहेछ,’ सामाजिक कामका आफ्ना अनुभव बाँड्दै उनले भनिन् ।


उद्योगी व्यवसायीको रुपमा काम गर्दै जाँदा महिलाको साझा समस्या पत्तालागे पछि सबै महिलालाई आर्थिक रुपमा आत्मनिर्भर बनाउन पाए हुन्थ्यो भन्ने आकांक्षा जन्मिएपछि, उद्योग वाणिज्य संघ सदस्यकै रुपमा आफैले पाएको सिपमूलक तालिमलाई परिमार्जन गरी आफ्नै हस्तकला उद्योग दर्ता गरिन् मेनुकाले । त्यसपछि २०७२ सालयता उनी अलीअली गर्दै तालिम दिनका लागि समुदायमा पसिन् । यो ६ वर्षको अन्तरालमा पोखरा महानगरपालिका र विभिन्न गाउँमा गएर करिब १५०० जनालाई उनले तालिम दिइसकेकी छिन् ।

Advertisement


‘समाजमा अरुले भन्दा नौलो काम जब सुरु गरिन्छ, तब सुरु हुँदोरहेछ महिला हुनुको पीडा’ व्यापार व्यवसाय सँगसँगै सामाजिक कामपछि सुरु भएपछि एउटी महिलाको रुपमा आफूले संगालेका अनुभूति सुनाइन् मेनुकाले । समाजले महिलालाई हेर्ने दृष्टिकोण नकारात्मक र अविश्वास पूर्ण भएकै कारण महिलाले गरेको कामको आलोचना हुने गरेको अनुभव गरिन् उनले । तर यी समस्याहरु नभोगेको भए आफू यहाँसम्म आउन सम्भव थिएन झैं लाग्छ उनलाई । समस्यालाई अवसरको रुपमा स्वीकारेर अघि बढ्दै गएपछि आलोचना गर्नेहरुले समेत प्रशंसा गर्न थालेको उनको अनुभव छ ।

स्मीता अधिकारी

 अधिकारी  दी राइजिङ नेपाल डेलीकी पोखरा संवाददाता हुन् । 

तपाईको प्रतिक्रिया