युरोपकी चेली पोखराकी बुहारी

केशव शरण २०७८ असोज १ गते ११:४७

क्लारा पौडेल फिजिसियन हुन्, मिर्गौला रोग विशेषज्ञ पनि । पोखरामा सुविधायुक्त अस्पताल निर्माणको सपना साकार पार्न डाक्टर श्रीमान्लाई उनको पूरापुर साथ रह्यो ।

पोखरा- दक्षिण एसियाको मुलुक नेपाल । पूर्वी युरोपको देश हंगेरी । दुवै भूपरिवेष्ठित मुलुक हुन् । जसको दुरी ६ हजार ८ सय ६४ किलोमिटर छ । यति टाढाका देशका २ नागरिक एक भएका छन्, नेपालका बद्री पौडेल र हंगेरीकी क्लारा बेलासित्ज । बद्रीसँग बिहे गरीवरि क्लारा नेपाल बस्न थालेको डेढ दसक पूरा भइसक्यो । पोखरेली चिकित्सा क्षेत्रमा क्लाराको आफ्नै पहिचान स्थापित भइसकेको छ ।

Advertisement


हंगेरीको राजधानी बुढापेस्टमा क्लारा जन्मिइन् । बुवा इन्जिनियर थिए । आमाबुवाका ४ छोरीमध्येकी एक क्लारालाई सानैदेखि डाक्टर बन्ने सपना थियो । परिवारका अरु कोही यो क्षेत्रमा थिएनन् । आमाबुवाको इच्छा छोरी जे चाहन्छन्, त्यही बनून् भन्ने थियो । सपनामा कुनै तगारो थिएन । हस्तक्षेप थिएन । रुचि अनुसारकै काम गरुन्, आफ्नो जीवन आफ्नै मर्जीले बाँचून् छोरीहरु भन्ने चाहन्थे बेलासित्ज दम्पती । त्यही भएर पनि क्लाराले नेपाली ठिटोसँग लगनगाँठो बाँध्छु भन्दा घरबाट कुनै अप्ठेरो आइपरेन । जीवनमा कुनै अर्काे देश र त्यो पनि आफू कहिल्यै नपुगेको ठाउँको सँग बिहेवारी गरौैंला र उतै बसौंला क्लारालाई लागेको थिएन । अझ बिहे भइसकेपछि पनि नेपालमै स्थायी बसोबास गरौंला भन्ने योजना पनि बनाएकी थिइनन् । तर जब पोखरा आइन्, मन यतै बस्यो ।


बद्री र क्लाराको पहिलो भेट न नेपालमा भएको हो न हंगेरीमा । दुवैको चिनजान चीनमा भएको हो । सन् २००३ को बेला हो त्यो । बद्री नेपालबाट गएका थिए । क्लारा हंगेरीबाट आएकी थिइन् । अरु थुप्रै देशबाट थुप्रैजना आएका थिए । डाक्टरहरुको जमघट थियो । ३ महिना लामो सेमिनार, प्रशिक्षण चल्दा धेरैसँग धेरैको बोलीचाली भयो, चिनजानी भयो । आत्मीयता बढ्यो । क्लारा र बद्रीको बोलीचाली, चिनजानी र आम्मीयता भने प्रेममा बदलियो । सेमिनारमा भाग लिँदा सँगसँगै, खानाखाजा खाँदा सँगसँगै हुँदाहुँदै दुवैले एकअर्कालाई भित्रभित्रै मन पराइसके । एउटा यस्तो दिन आयो दुवैले मनपेट खोले अनि भने, आइलभयु ।

Advertisement


त्यो जमानामा फेसबुक थिएन । भाइवर थिएन । ह्वाट्सएप आदिआदि कुनै त्यस्ता मोबाइल एप थिएनन, जसबाट घन्टौं कुरा गर्न सकियोस् जसरी आजका प्रेमिल जोडीहरु गर्छन् । अलिअलि इमेल चल्थ्यो । नत्र त हुलाककै भर हो । चिठीपत्र पठाइरहन्थे बद्री । जवाफ दिइरहन्थिन् क्लारा । कहिले प्रेमिल पोस्टकार्ड पठाउँथिन् माया भरेर, कहिले मिठामिठा शब्दहरु भरेर अक्षर पठाउँथिन् । दुवैलाई कहिले भेटूँ कहिले भेटूँ त भइरहन्थ्यो । तर सम्भव भए पो । बचनले पक्का गरिसकेका थिए, जीवनभर साथै बाँच्ने । तर एक हुन पाएका थिएनन् । छिटै बिहे गरिहालौं भन्ने दुवैलाई थियो । भन्दाभन्दै २ वर्ष बिते । २००५ सालमा आएरमात्रै बिहे गरे । क्लारा त्यो ढिलाइको कारण खुलाउँछिन्, ‘कागजपत्र मिलाउन पर्‍यो, के के गर्दा गर्दै ढिला भइहाल्यो ।’


क्लाराले युरोप घुमेकी थिइन् । अमेरिका डुलेकी थिइन् । युके गएर केही सयम पढेकी पनि हुन् । विश्वका नामी देशहरुमै करियर बनाऊँ भन्दा असजिलो हुने थिएन । बद्री पनि अन्तर्राष्ट्रिय डिग्री लिएकै काबिल जनशक्ति भइसकेका थिए । तर बद्रीलाई पोखराको मणिपाल शिक्षण अस्पतालले डाक्यो । उनी पनि आफ्नै देशमा केही गरौं भन्ने विचारेर बसेका थिए । केही समयलाई जाऊँ न त मणिपाल भनेर बद्री पोखरा आए । सँगै क्लारा आइन् । ‘एक वर्ष बसौंला पोखरा भन्ने थियो,’ क्लारा सुनाउँछिन्, ‘तर सधैंलाई यतै बस्यौं ।’ क्लारालाई बद्री त मन परेकै थियो । उनको सहर पोखरा पनि मन पर्‍यो । भन्छिन्, ‘पोखराको वातावरण राम्रो छ, सहर सानो छ, गाउँ जस्तो पनि छ, सहर जस्तो पनि छ ।’


क्लाराले पनि पोखरामै काम गर्न थालिन् । आफू विशेषज्ञ रहेको मिर्गाैला रोग उपचारका तौरतरिकाबारे धेरै जुनियर र नर्सहरुलाई प्रशिक्षित गरिन् । मिर्गाैला रोगीको पेट डाइलाइसिस गर्ने विधि पोखरामा आफूले सुरु गरेको उनी बताउँछिन् । होमोडाइलाइसिस त पहिला पनि थियो रे । उनले आफूले पढेर जानेको पेट डाइलाइसिस सयभन्दा बढी नर्सलाई सिकाएको सुनाउन पाउँदा उनलाई खुसी लाग्छ ।


नेपालमै केही गर्ने, पोखरामै केही गर्ने सोचेका बद्रीले सपना बुने । चिकित्साक्षेत्रमा लाग्दालाग्दै बद्रीले ठाने कि पोखरामा धेरै सुविधा भएका अस्पतालको अभाव भयो । काठमाडौंबाहेक चितवन र बुटवलले पनि पोखरालाई जित्लान् जस्तो भइसक्यो भनेर बद्रीले एउटा अस्पतालको ड्रिम रचे । अहिले पोखरामा स्थापित चरक अस्पताल उनकै ‘ब्रेन चाइल्ड’ हो । क्लाराले बद्रीको सपना साकार पार्न भूमिका खेलिन् । आज मुटु र स्यानुको उपचारका लागि काठमाडौं जानै पर्ने बाध्यताको अन्त्य चरकले गरेको छ भन्छिन् क्लारा ।


चरक सुरु हुनासाथै कोभिड १९ को महामारी आयो । सबैतिरका स्वास्थ्यकर्मी र चिकित्सक नै त्राहिमाम भए । हुँदाहुँदा चरककै एक स्टाफलाई कोभिडले छोइछाड्यो । अस्पतालले पहिलो कोभिड बिरामीका रुपमा उनको उपचार ग¥यो । डाक्टर क्लारा ती बिरामीको उपचारमा लागिन् । ती निको पनि भए । अनि अस्पतालले अरु बिरामी पनि राख्न थाल्यो । फिजिसियन हुनुको नाताले क्लारा कोभिडका बिरामीलाई झन् धेरै ध्यान दिएर हेर्न तल्लीन रहिन् । त्यसो त क्लाराको विशेषज्ञता मिर्गाैला रोगमा हो । तर उनी आफैं भने कुनै पनि चिकित्सक मानिसको शरीरको एउटा अंगबारे भन्दै पूरै शरीरकै बारेमा जानकार हुनुपर्ने मान्यता राख्छिन् । रोचक कुरा के छ भने, क्लारा चरकमा कोभिड वार्डकी प्रमुखका रुपमा दिनरात नभनेरै बिरामी हेरिन, बिरामीका नजिक पुगिन । रोगले शिथिल बनेकाहरुलाई हातैले थुमथुमाएर आत्मबल बलियो बनाउन प्ररित गरिन । यति गर्दा पनि उनी कोरोना भाइरसबाट जोगिएकै थिइन् । क्लारा एक दिन कोरोना संक्रमित भइन्, उनलाई कोरोना श्रीमान् बद्रीबाट स¥यो । ‘पहिला बद्रीलाई लाग्यो, अनि मलाई,’ क्लारा मुस्कुराउछिन् ।


क्लारा माइती देश हंगेरी पनि बेलाबखत पुगिरहन्छिन् । वर्षमा एकपटक त पुग्ने कोसिस रहन्छ । तर सधैं भनेजस्तो हुँदैन । त्यो कोसिस पूरा हुँदैन । नेपालका चाडपर्व र भाषामा उनी रत्तिइसकेकी छन् । तीज, दसैं, तिहार र फागुपूर्णिमा उनलाई विशेष मन पर्छ । नेपाली बोल्न कुनै दिक्दारी छैन । लवज भने आखिर मातृभाषाको जस्तो कहाँ हुनु । सानैमा उनले हंगेरिएनबाहेक रसियाली, जर्मन, इटालेली भाषा पनि सिकेकी थिइन् । जानेकी थिइन् । अंग्रेजी त भइहाल्यो । चीन बस्दावर्दा चिनियाँ भाषाको पनि केही ज्ञान लिइन् । तर अचेल भने नेपाली धेरै बोल्छिन्, अरु भाषा रसियाली, इटोलेली, जर्मन र चिनियाँचाहिँ बिर्सेबिर्सेजस्तो भाछ । भन्छिन्, ‘नेपाली सिक्न गाह्रो भएन ।’ मात्रै उनलाई बालाजोवनमा बोलेका भाषाहरु र हंगेरीका खानाहरुले भने बेलाबेला स्मृतिपटलमा चिमोटिरहन्छ ।

केशव शरण

समाधानकर्मी शरण लेकसिटी कलेज एन्ड रिसर्च सेन्टरमा पत्रकारिताका उपप्राध्यापक पनि छन् ।

तपाईको प्रतिक्रिया