तालले छोडेका जग्गा स्याहर्दा करोडपति

स्मीता अधिकारी २०७८ असोज १ गते १२:३०

तालबेसीकै फाँटमा करिब १५० रोपनी जग्गामा धान रोप्छिन्, करिब ८० रोपनीमा । तरकारी खेती तथा पशुपालन गर्छ मैना थापाको परिवारले । यसबाट मासिक एक लाख रुपैयाँभन्दा बढी आम्दानी हुन्छ ।

पाेखरा-आजकल मानिसहरुसँग जीवनयापनका नयाँनयाँ विकल्पहरु छन् । कामको सिलसिलामा गाउँ छोड्ने, बसाइ सर्ने चलन विगतकै हो यसले गर्दा गाउँघरमा समेत खेतीपाती कर्म कमै भेटिन्छ । रुपातालदेखि केही परको तालबेसी फाँट भने सधंै सजीव छ । बस्ती पातलिँदै जाँदा पनि कृषि कर्म भने उस्तै छ । कारण, एकजना उद्यमीको निरन्तरको कृषि कर्म ।ती उद्यमी हुन् ५० वर्षीया मैना थापा । तालबेसी क्षेत्रमा करिब २०० रोपनीभन्दा बढी क्षेत्रमा उनले करिब डेढ दशकदेखि निरन्तर कृषि उद्यम गरिरहेकी छन् ।
वरिपरिका खोला नाला वन जंगलबाट वर्षेनी बर्खाको बेला ग्रेगरहरु आएर ताल सुक्ने क्रम बढ्दै जाँदा केही वर्षअघिसम्म पानीले पुरिएका जग्गा पनि आजकल देखिँइदै गए । यिनै जग्गा ततेर्ने र खेतीयोग्य बनाउने कामसमेत उनै मैनाले गरिरहेकी छिन् । भन्छिन्,‘तालबेसीमा बेसी होस् या पाखोबारी कुनै ठाउँ बाँझो नरहोस् झैं लाग्छ । मैनाकै देखासिकी गर्दै अन्य केही व्यक्तिले पनि जग्गा लिजमा लिएर खेतीपाती गर्ने प्रवृत्ति बढेको छ यहाँ ।’
तालबेसीकै फाँटमा करिब १५० रोपनी जग्गामा धान रोप्छिन्, करिब ८० रोपनीमा । तरकारी खेती तथा पशुपालन गर्छ मैना थापाको परिवारले । यसबाट मासिक एक लाख रुपैयाँभन्दा बढी आम्दानी हुन्छ । उनका उत्पादन खरिद्ने तीन चारवटा उद्योगसँग ठेक्का नै छन् । उत्पादनको बजारमा सहज वितरणका लागि कुटानी, पिसानी, ढुवानी सबै व्यवस्था गरेकी छिन् मैनाले ।
बिहे गरेर तालबेसी आउने बित्तिकै परिवारको जीवनयापनका लागि गरेको अर्मपर्म मेलापातबाट सुरु भएको हो मैनाको कृषि कर्म । फरक यत्ति हो, उतिबेला उनी कृषि मजदुरमात्र थिइन्, अहिले कृषक र उद्यमी दुबै भइन् । ‘अब त कामबाट विस्तारै विश्राम गर्ने बेला पनि आयो,’उनी भन्छिन् । हुर्के बढेका आफ्ना दुई छोरा र बुहारीलाई कृषि उद्यम र यसको व्यवस्थापन अह््रराइ सिकाइ गराउनु अनि आफ्ना कृषि उत्पादन बजारीकरण तथा व्यवस्थापनका लागि राखिएका करिब आधा दर्जन कर्मचारी व्यवस्थापन गर्नु आफ्नो पछिल्लो दिनचर्या भएको सुनाउँछिन् मैना।
आफू व्यापार व्यवसायमा यतिबिघ्न पोख्त हुन्छु भन्ने उनले कहिल्यै पनि सोचेकी थिइनन् । धेरै धनी बन्ने महत्वकांक्षा पनि थिएन उनलाई । श्रीमान विदेश खाडी मुलुक, छोरा छोरीलाई दुई छाक राम्रोसँग खुवाउने र सामान्य शिक्षा नखड्काउने अठोट चाहिँ थियो उनको । यस्तैमा उनले श्रीमान्का दाजुभाइ छुट्टाभिन्दा हुँदा आफ्नो परिवारको भागका ४ रोपनी खेतलाईबढाउने सोच गरिन् । मानिसहरु बसाइ सराइ गर्ने, जागिरे हुने प्रवृत्ति बढ्नु अनि खेतीबाली बाँझै छोड्ने गरेकाले लिजमा लिन प्रशस्तै जग्गा पाइने । त्यसैले थप ३० रोपनी जग्गा स्थानीय व्यक्ति र स्थानीय आनन्दज्योति स्कुलसँग लिजमा लिने सम्झौता गरिन् उनले । अनि त्यसपछि सुरु भयो उनको धानखेतीको इलम ।
तालबेसीको फाँटमा उनले उत्पादन गरेका रातो अनदीले बजार लिँदै गयो । घर वरिपरिका पाखोबारीमा लगाएका गाभाबाट त्यान्द्रे र मस्यौरापनि उत्पादन गर्न थालिन् उनले । उनको उत्पादनको बजारीकरणको पहिलो माध्यम लेखनाथ महोत्सव थियो । महोत्सवले स्थानीयलाइ स्टल उपलब्ध गराएको थियो । त्यहाँ उनले रातो अनदि र लोकल तरकारी पहिलो दिनमै सोचेभन्दा बढी बेचिन् । ‘त्यही आएका मानिसहरुले फोन नम्बर लिएर गएका थिए, पछि उनिहरुले फोनबाट उत्पादन बुकिङ गर्न थाले, अनि त मेसो आइहाल्यो उत्पादन बढाउने,’ आफ्नो विगत सम्झँदै मैनाले भनिन् ।
५ रोपनीभित्रको कृषि कर्मबाट सुरु भएको मैनाको खेतीका लागि अहिले उनीसँग करिब ३०० रोपनी जग्गा कृषिकै लागि छ यसमध्ये करिब आधा त आफ्नै जग्गा भइसकेको छ । यसमा उनले धान लगाउँछिन् । बाख्रा पाल्छिन् । माछापालन गर्छिन् । कुखुरा फार्म छ । अदुवा र पिडालु खेती लगाएकी छन्। रैथाने र बेमौसमी तरकारी खेती गरिरहेकी छिन् । यतिमात्र होइन पोखरा महानगरपालिकाका मुख्य बजार क्षेत्रमै उनका दुई तीनवटा पक्की घर बनिसकेका छन् । ‘कुनै घरमा बैंक बसेका छन्, कुनै घरमा सरकारी अफिस छन्, हाम्ले भाडामात्र लिने हो, आफू बस्ने त गाउँमै ठिक छ,’ मैनाले सुनाइन् ।
यतिका धेरै काम गर्दा पनि सरकारबाट पाउनुपर्ने कृषि अनुदान, सस्तो व्याजको ऋण लगायत सुविधा भने उनीसम्म अझै पुगेको छैन । उनी भन्छिन्, ‘सरकारले सहयोग गर्ने हो भने अझै, यहाँ बाँकी बाँझो जग्गा सबै उपयोग हुन्थ्यो ।नत्र त कमाएको जति कर तिर्दा नै ठिक्क हुन्छ, त्यसैले जो कोहीको सानो तिनो जाँगर र आँटले यी काम सम्भव हुँदैनन् ।’

स्मीता अधिकारी

 अधिकारी  दी राइजिङ नेपाल डेलीकी पोखरा संवाददाता हुन् । 

तपाईको प्रतिक्रिया