पहिचान खोज्दा खुलेको उद्योग

अनिष भट्टराई २०७८ असोज १ गते १२:५४


हस्तकलाको व्यवसायलाई ‘लक्जरियस बिजनेस’ पनि भनिन्छ । सीताको अनुभवमा हस्तकला व्यवसाय भनेको सुनचाँदी व्यवसाय जस्तै हो ।


पाेखरा- पोखराकी सीता गुरुङले एसएलसी परीक्षा सक्नासाथ दीपको सूर्योदय माध्यमिक विद्यालयमा अध्यापन गराउन लागिन् । एसएलसी दिएपछि नतिजा पनि नआउँदै उनी आफूलाई केही जागिरको खोजीमा थिइन् । सूर्योदयमा नर्सरी कक्षामा पढाउने शिक्षिका बनेर उनी काममा लागिन् । नर्सरी कक्षाको शिक्षिका बनेर सूर्योदय छिरेकी सीताले पछि पढाउने कक्षा पनि बढ्दै गयो । उनले त्यहीँ काम गर्दैगर्दा स्नातक तहको पढाइ पनि सकाइन् । १७ वर्ष सूर्योदयमा विद्यार्थीका जीवनमा शिक्षाको किरण बालिन् ।


सूर्योदयमा १७ वर्ष पढाएपछि उनले विद्यालय छाडिन् । केही साथीहरुको सहकार्यमा गुरुङ केबल नेटवर्क प्रालि सुरु गरिन् । त्यसमा कोअर्डिनेटरको भूमिकामा ५ वर्ष काम गरिन् । यसरी जीवनको २२ वसन्त उनले अरु कम्पनीकै लागि काम गरिन् । तर गुरुङलाई एउटा कुरा मनमा खेलिरह्यो । त्यो होः काम गरेबापत्को पहिचान । उनले २२ वर्ष काम गरिन् तर आफ्नो परिचय बनाउन सकिनन् । उनलाई आफूले गरेको कामको पहिचान नभएको महसुुस भयो । भन्छिन्, ‘मलाई लाग्यो कि आफूले जानेको सीपले आफूलाई पहिचान दिन्छ । स्कुलमा पढाउँदा काममात्रै गरियो । नाम आएन । जागिर खाएपछि काममात्र आउँछ, नाम आउँदैन ।’

Advertisement


गुरुङले भनेझैं सीपले पहिचान दिन्छ भने उनको सीप के थियो त ? यो जान्नका लागि गुरुङको विद्यालय जीवनमा फर्कनुपर्छ । राष्ट्रिय माध्यमिक विद्यालयमा पढेकी गुरुङले कक्षा ६ देखि नै पूर्वव्यावसायिक शिक्षा पाइन् । कक्षा ८ मा होम साइन्स पढ्न थालिन् । उनले सानैबाट व्यावहारिक शिक्षा पाइन् । कक्षा १० को परीक्षा दिएपछि विद्यालय पढाउन थालिन्, आफ्नो खर्च व्यवस्थापनका लागि । गुरुङले कक्षा ६ देखि १० सम्म लिएको सिलाइकटाइ, हस्तकला सामान निर्माणको पढाइपछि उनले विभिन्न संघसंस्थामा तालिम पनि लिइन् ।


उनीसँग हस्तकलाको सामान बनाउने, सिलाइ कटाइको सीप बन्यो । तर सीप अनुसारको काम पाइनन् । आमालाई आर्थिक हिसाबले सहयोग हुने सोचले उनी विद्यालय गएकी थिइन् । १७ वर्ष विद्यालयमै रहेपनि गुरुङले आफ्नो सिप भने मारिनन् । बरु विद्यालयमै विद्यार्थीहरुलाई सिकाउन थालिन् । अतिरिक्त कक्षा भनेर उनले हस्तकला सामग्री बनाउने कक्षा दिन लागिन् । ‘एक्स्ट्रा क्लास भनेर हस्तकला सामग्री बनाउने कक्षा दिन थालें, विद्यार्थीहरुलाई पनि पछि काम लाग्छ भन्ने विश्वास थियो, केही त यही व्यवसायमा पनि छन्,’ उनी गर्व गर्छिन् ।

Advertisement


विद्यालयमा पढाउँदा पनि उनी तालिमहरुमा गइरहिन् । विद्यालय छुट्टी भएपछि गाउँगाउँमा गएर सिलाइकटाइ तथा हस्तकला सामग्री उत्पादनको तालिम पनि दिन थालिन् । रेयुकाइ, महानगर, घरेलु, वडाबाट उनले तालिम लिएकी थिइन् । ‘विद्यालय छुट्टी भएपछि तालिम लिन भाग्थें । अहिले जस्तो हुन्थ्यो भने इन्टरनेटमै हेरेर पनि सिक्न सकिन्छ,’ उनी भन्छिन्, ‘प्रविधिबाट सिक्न नमिले पनि त्यति बेला हाम्रो टोलमा एक घरको एक जनालाई सिकाउने गथ्र्यौं । त्यति बेलाभन्दा तालिम लिनेहरु अहिले बढी छन् ।’


त्यति बेला चल्तीमा थियो केबल टिभी नेटवर्क । गुरुङको टोलीले पनि गुरुङ केबल नेटवर्क प्रालि सुरु ग¥यो । ५ वर्ष संयोजकको रुपमा काम गरेपनि सीता गुरुङलाई सन्तुष्टि मिलेन । उनलाई आफ्नो मनलाई पछ्याउन मन लाग्यो । मनले हस्तकला सामान निर्माण रोजेको धेरै भइसकेको थियो । यसरी २२ वर्ष २ पेसामा अल्झिएपछि सीताले २०६६ मा आफ्नै उद्योग स्थापना गरिन् । स्वस्तिक हस्तकला उद्योग !


तालिमहरुमा हिँड्दा गुरुङको सम्बन्ध सम्बन्धित कार्यालयहरुसँग बनिसकेको थियो । यसले उनलाई केही सहज भयो । ३ लाख रुपैयाँको पुँजीबाट व्यवसाय सुरु गरिन् । कृत्रिम पुल, सिलाई बुनाई, गुडिया, ढकी, पेन्टिङ लगायत करिब १० आइटमबाट उनको व्यावसायिक जीवनको छलाङ सुरु भयो । मासिक १० हजारको आम्दानीले सुरु गरेको व्यापारले अहिले मासिक ५० हजारसम्म फाइदा दिने गरेको छ । ‘व्यवसाय सुरु गर्दा मैले कसैसँग हात थाप्नुपरेन । पैसा आफैंले जम्मा गरेकी थिएँ । आफ्नै पैसाले व्यवसाय सुरु गरेकाले होला धेरैले मलाई नराम्रो भन्न सकेनन्,’ उनी सम्झन्छिन् ।


घरमा आमा र उनी मात्रै थिए । २ दिदीबहिनी र २ दाइभाइ विदेशिएका थिए । उनलाई नेपालमै केही गर्ने अठोट थियो । उद्योग सुरु गर्दा आमाको साथ पाएकी उनी अहिले उद्योग सफल हुँदा भने एक्ली छिन् । आमा बितेर गइन् । उनी अविवाहित नै बसिन् । उनी यसबारे धेरै चर्चा गर्न चाहन्निन् । व्यवसाय एक्लै धानिरहेकी छन् ।


एकल महिला, एउटा उद्योग चलाएर बसिरहेकी छन् । दिनहुँ प्रशिक्षण पनि दिइरहेकी छन् । तर पनि उनलाई कत्ति पनि कठिनाइ छैन । ‘व्यवसाय एक्लै धानेकी छु । कठिनाइ त्यति साह्रो छैन । कहिलेकाहीँ कतै बाहिर जानुप¥यो भने समस्या हुने रहेछ,’ उनी भन्छिन् । उनी व्यवसायसँगै विभिन्न सामाजिक संस्थाहरुसँग जोडिएकी छन् । उनी पोखरा उद्योग वाणिज्य संघ, महिला उद्यमी संघ, घरेलु तथा साना उद्योग महासंघ कास्कीमा जोडिएकी छन् । राजनीति पनि उनको रुचिको विषय हो । उनी नेपाल महिला संघको जिल्ला सचिव हुन् । उनलाई सहयोग गर्न उनकी भाइबुहारी भीमकुमारी गुरुङ छिन् । भीमकुमारीलाई पनि सीताले हस्तकलाका सामान बनाउने कला सिकाइरहेकी छन् ।


हस्तकलाको व्यवसायलाई ‘लक्जरियस बिजनेस’ पनि भनिन्छ । सीताको अनुभवमा हस्तकला व्यवसाय भनेको सुनचाँदी व्यवसाय जस्तै हो । एकपटक किनेपछि दोहो¥याएर किन्ने कम नै हुन्छन् । नयाँनयाँ उत्पादन गर्नुपर्ने बाध्यता हस्तकला व्यापारीसँग छ । पेसालाई नयाँ डिजाइनमा लगिरहनुपर्छ । यो व्यवसायमा खर्च भनेको कच्चा पदार्थमा मात्रै हुन्छ । गुरुङले काठमाडौं, बुटवल अनि पोखराभित्रबाट नै कच्चा पदार्थ ल्याएर व्यापार गरिरहेकी छन् ।


हस्तकला सामग्रीको मूल्य दिनहुँ फरक पर्छ । कच्चा सामग्रीको मूल्य दिनहुँ बढ्दो छ । हस्तकला सामग्रीको मूल्य भने घट्दो छ । गुरुङका अनुसार उत्पादन पनि कम हुँदै छ । ‘मैले किन्ने बेलामा ८ सयमा किनेको सामानलाई बेच्दा ४ सय रुपैयाँमा बेच्नुपर्छ, मूल्य एकदम घट्दो छ, कच्चा पदार्थको मूल्य फेरि बढ्दो छ,’ उनी सुनाउँछिन् । कच्चा पदार्थमा फर, हेयर, फाइबर, सियोधागो, म्याक्रोन ल्याउनुपर्छ ।


कच्चा पदार्थको ढुवानी पनि कोभिडका कारण बिथोलिएको छ । पहिला १ दिनमै आउँथ्यो भने अहिले ८÷१० दिन कुर्नै पर्ने गुरुङ बताउँछिन् । कोभिडले सामान ल्याउनुमा बाहेक अरु कुरामा गुरुङको व्यवसायलाई प्रभाव पारेन । विदेशी आएनन्, त्यो एउटा पाटो हो । तर स्वदेशी ग्राहकले नै धानिने बजार उनको छ । अरुले व्यवसाय ठप्पै भएका बेला उनी बन्द भएर बस्नुपरेन । ‘लेकसाइड हेर्नुस् न । लाखौं रुपैयाँ भाडा तिरेर अहिले बन्द गरेर बस्नुपरेको छ,’ उनी भन्छिन्, ‘लकडाउनका कारण मानिसहरु घरमै बस्न बाध्य भए । घरमा बसेपछि हस्तकलाका सामान बनाएर टाइम पास गर्ने ट्रेण्ड पनि बसेको थियो ।’


पोखरामा हस्तकलाको बजारलाई राम्रो भएको गुरुङको अनुभव छ । तरसरकारको समन्वय र भूमिका चाहिँ केही व्यवस्थित हुनुपर्ने गुरुङको ठम्याइ छ । यसका लागि गुरुङको टोलीले आवाज नउठाएको पनि होइन । पोखरा कोसेली घर बनाउन १० वर्षदेखि भन्दै आएपनि सरकारले नसुनेको उनको गुनासो छ । उनको व्यावसायीक जीवनको एकमात्र उपलब्धि के हो ?उनी गर्वका साथ सुनाउँछिन्ः ‘हजारौं महिला दिदीबहिनीहरु जसले १ रुपैयाँ पनि आम्दानी गर्नुहुँदैनथ्यो । उहाँहरुलाई आम्दानी गर्न अघि बढाएँ ।’

अनिष भट्टराई

भट्टराई समाधान दैनिक र समाधानन्युज डटकमका संवाददाता हुन् ।

तपाईको प्रतिक्रिया