प्रतिकुलतामा अनुकुलता खोज्दै सुनयना

अनिष भट्टराई २०७८ असोज १ गते १३:२३

सुनयना पालिखेले कोरोना संकटमा भने व्यवसाय सुरु गरिन् । बाराही बेकरी लकडाउनकै बेला जन्मियो । संकटलाई छिचोल्दैछिचोल्दै १ वर्ष पूरा गरिसकेको बाराही बेकरीले पोखरामा राम्रो छाप बनाइसकेको सुनयनाको निचोड छ ।


पाेखरा-द्वन्द्वकालीन समय । माओवादी पक्षको निसानामा सरकारी कार्यायलहरु, मुकामहरु । जिल्ला प्रशासन कार्यालय, कास्की पनि माओवादीको निसानामा थियो । प्रशासन कार्यालय नजिक भएका विष्फोट, गोलाबारीले आसपास रहेका मानिस विस्थापित भए । व्यवसाय बन्द भए । बन्द भएका व्यवसायमध्ये एक थियो, होटल ट्रागोपान । २०४६ सालमा खोलिएको यो होटल संकटमा बन्द भयो । होटल सञ्चालककी श्रीमती सुनयना पालिखेको मस्तिष्कमा यो घटना ताजै छ ।


संकटका कारण लामो समय चलाएर बन्द भएको होटलको स्मृति ताजै रहेपनि सुनयनाले कोरोना संकटमा भने व्यवसाय सुरु गरिन् । बाराही बेकरी लकडाउनकै बेला जन्मियो । संकटलाई छिचोल्दैछिचोल्दै १ वर्ष पूरा गरिसकेको बाराही बेकरीले पोखरामा राम्रो छाप बनाइसकेको सुनयनाको निचोड छ ।

Advertisement


संकटका कारण होटल बन्द भएको याद ताजै हुँदा नयाँ व्यवसाय खोल्ने आँट सुनयनालाई कसरी आयो ? सुनयना भन्छिन्, ‘यो एउटा आँट नै मान्छु म पनि । प्रतिकुुलतामा अनुकुलता खोज्ने बानीले खोलेकी हँु । पढाइमा पनि यही सिकाइयो ।’


सुनयनाले मास्टर सकेपछि भारतमा गएर ३ वर्ष होटल म्यानेजमेन्टको कोर्स पढिन् । ३ वर्षे कोर्स सकाएर केही समय नेपाल नै आइन् । अनि ‘प्राक्टिकल क्लास’का लागि नेदरल्यान्ड्स लागिन् । नेदरल्यान्ड्समा पढ्दा उनको एउटा विषय थियो, ‘इल म्यानेजमेन्ट ।’ सुनयता यो विषयलाई नै आफ्नो व्यवसायको पथप्रदर्शक ठान्छिन् । ‘इल म्यानेजमेन्टमा प्रतिकुलतमा अनुकुलता खोज्ने तरिका बारे पढाइन्छ । फलस्वरुप मैले संकटका बेला अनुकुलता खोजेर व्यवसाय चलाइरहेकी छु,’ उनले भनिन् । नेदरल्यान्ड्समा पढाइ सकाएपछि उनी जापान लागिन् । २ वर्षका लागि जापान पुगेकी सुनयना १ वर्षमै फर्किइन् । ‘होमसिक’ भएपछि कोर्स पूरा नगरी उनी नेपाल आइन् ।

Advertisement


नेपालमा उनले होटल सेक्टरमा काम गर्न थालिन् । फूलबारी होटल, ताज ग्रुप जस्ता प्रतिष्ठित कम्पनीमा काम गरेपछि उनलाई कामको राम्रो अनुभव थियो । यससँगै उनी रेडियो अन्नपूर्णको व्यवस्थापनमा पनि छिन् । सिद्धार्थ इन्सुरेन्सको प्रदेश म्यानेजर छिन् । परिवार नै उद्यमी छ, सुनयनाको । श्रीमान् विश्वशंकर र छोराले पोखरा इन्टरेनेट चलाएका छन् । क्लियर टिभी नेटवर्क पनि उनीहरुकै हो ।


सुनयनालाई पनि आफ्नै व्यवसाय गर्ने रहर थियो । तर समय मिलिरहेको थिएन । पहिलो चरणको लकडाउनमा १÷२ महिना घरमै बसेपछि उनलाई नयाँ बेकरी खोल्ने सोच आयो । अनि २०७७ साउन १ गते आफ्नै व्यवसाय सुरु गरिन्, बाराही बेकरी ।


लकडाउनका कारण सबै क्षेत्र ठप्पप्राय थियो । सबै व्यापारी, व्यावसायीमा त्रासको माहोल थियो । ९७ लाख रुपैयाँको लगानीमा पोखरा औद्योगिक क्षेत्रभित्र बाराही बेकरी जन्मियो ।लगानी ९० लाखको भएपनि सामान थप्दै जाँदा डेढ करोड पुगिसकेको छ ।


सुरुमा काम गर्ने कामदार पाउनै गाह्रो भयो । एक त कोरोनाका कारण मान्छे खोज्नै गाह्रो अर्को बेकरीको क्षेत्रमा दक्ष जनशक्ति पाउनै गाह्रो । उत्पादनका कर्मचारी खोज्नै धेरै समय गयो । बजार व्यवस्थापनमा पनि मान्छे पाउनै हम्मे । जसोतसो सुनयनाले कर्मचारीहरुको व्यवस्थापन गरिन् । मान्छे त पाइयो, कोरोना कालमा सुरक्षित राखेर काम कसरी गराउने ? यसको पनि जुक्ति सुनयनाले नै निकालिन् । कर्मचारीहरुका लागि बस्ने २ वटा कोठा बनाइदिइन् । खर्च व्यवस्थापन पनि सुनयनाकै थियो । ट्रायल टेस्टहरु सुरु गरे । प्राय बेकरी सामग्रीहरु मैदाबाट बनाइन्छन् । तर बाराही बेकरीले मैदाको सट्टा आँटामात्रै प्रयोग गर्न थाल्यो । अनि कम्पनीको स्लोगन राखियो, ‘हेल्दी च्वाइस ।’


लकडाउनले सुरुमा केही समस्या ल्यायो । बोराका बोरा कच्चा सामग्री खेर गए । गाडी चल्न नपाएपछि बनाएका बेकरी उत्पादन पनि बिग्रिए । तरपनि सुनयनाको बेकरीले लकडाउनको मज्जैले फाइदा उठायो । ‘गत सालको लकडाउनको मजाले फाइदा उठायौं । लकडाउन भन्नेबित्तिकै सबैलाई डर, त्रासको समय थियो । हामीले सामाजिक दूरी कायम गरेर, नयाँ उत्पादन के कसरी गर्न सकिन्छ भन्ने सोचेर अघि बढ्दा फाइदा लियौं,’ उनी भन्छिन् ।


सुनयनालाई लाग्छ, अरु व्यवसाय जे भएपनि खाद्यान्न व्यवसाय जस्तोसुकै संकटमा पनि चल्न सक्छ । लत्ताकपडा, कस्मेटिक व्यापार इच्छाले चल्ने भएपनि खाद्यान्न किन्न सबै मजबुर रहेकाले आफूले आँट गरेर बेकरी खोलेको उनी सुनाउँछिन् । अहिले सोचे जति व्यापार नभएपनि नाम जमाउने र कर्मचारीहरु पालिने जति व्यापार भइरहेको उनले बताइन् ।


बाराही बेकरी अहिले पोखरामा मात्रै सीमित छ । बाहिरी जिल्लामा पठाउने योजना अहिले नै उनको छैन । पोखरामै व्यवस्थित तरिकाले अघि बढेपछि मात्रै अरु जिल्लामा पनि बेकरीको आउटलेट खोल्ने उनको योजना छ । ‘ठाउँठाउँमा बाराही बेकरीको आउटलेट खोल्ने लक्ष्य छ । न्युरोडमा बाराही बेकरीको पसल छ । लेकसाइडमा पनि खोलेका छौं,’ उनी थप्छिन्, ‘अब मनिपाल अघि खोल्ने तयारीमा छौं । पछि छोरेपाटन, बिरौटा, लामाचौरतिर पनि बनाउने योजना छ ।’


सुनयनाले १४ जना कर्मचारीलाई व्यवस्थापनगरेकी छन् । काम गर्दा एकता र पारिवारिक वातावरण बनाउने बानी आफूमा रहेको उनको दाबी छ । बाराही बेकरी उनी र कर्मचारीका लागि एक परिवार हो । ‘कुराहरु सेयर गर्छौं, काम गर्न अप्ठेरो छैन । पारिवारिक माहोल छ, महिलाले १४ कर्मचारी व्यवस्थापन गरेको छु भन्ने भान नै हुँदैन,’ उनी भन्छिन् ।

अनिष भट्टराई

भट्टराई समाधान दैनिक र समाधानन्युज डटकमका संवाददाता हुन् ।

तपाईको प्रतिक्रिया