जय नारी

रामकृष्ण ज्ञवाली २०७८ असोज १ गते १३:५८

कुनै बेला यस्तो थियो, मुलुकको सर्वाेच्च संस्थाको नेतृत्व महिलाले गरिरहँदा सभामुख र प्रधानन्यायाधीश पनि महिला नै थिए । अहिले सर्वाेच्च संस्थामा अर्थात राष्ट्रपति विद्यादेवी भण्डारी छिन् । नेपाल उद्योग वाणिज्य महासंघको नेतृत्वमा पनि महिला पुगिसके । भवानी राणा अध्यक्ष भइसकिन् । समाजसेवामा त महिला उहिल्यैदेखि नेतृत्वदायी भूमिकामा देखिएका हुन्, पछिल्लो समय भने उद्यम व्यवसायमा पनि महिलाहरु चम्किएका छन् ।


महिला भनेपछि घरभित्रै चुलोचौकोमा सीमित हुने जमाना अब रहेन । रहनु पनि हुँदैन । पुरुषसँग काँधमा काँध मिलाएरमात्रै होइन एक्लै आफैंले केही गर्न सक्ने क्षमता महिलामा हुन्छ । सम्पतिमा महिलाको हक स्थापित गर्न एकातिर सरकारले नीतिगत व्यवस्था गरेको छ भने उद्यम व्यवसायको मालिक महिलालाई बनाउन प्रेरित गर्ने ऋण र ब्याजका योजना पनि छन् । केही महिला त्यस्तै नीतिको प्रभावले पनि विस्तारै उद्यम व्यवसायमा लाग्दैछन् भने थुप्रै यस्ता उदाहरणीय महिला छन्, आफ्नै आँट र पौरखले उद्यम व्यवसायमा जमेका छन् ।


नर र नारी बराबरी भनिए पनि नारी अर्थात महिलाको योगदानलाई समाजले कम आँक्दै आएको तीतो सत्य हो । जसरी कुनै बेलासम्म घरधन्दाको हिसाब अर्थतन्त्रमा गणना गरिँदैनथ्यो । अझै पनि कतिपय व्यवसाय र उद्योग पुरुषका नाममा छन्, तर ती व्यवसाय र उद्यम धान्ने महिला छन्, तिनमा पनि महिलाको योगदान लुकेको छ, छिपेको छ । ती महिलाको योगदानको कदर हुनुपर्छ ।

Advertisement

खासमा नेपाली महिलामा आत्मनिर्भर बन्ने, आफै व्यापार, व्यवसाय र उद्योगधन्दा सञ्चालन गर्ने आँट साहस प्रशस्त छ । कसैले कुनै व्यवसाय गरेका छन्, कसैले उद्योग त कसैले व्यापार गरेका छन् । हामीले यसपालि पोखरा र सेरोफरोका केही प्रतिनिधि महिला उद्यमी व्यवसायीका कथा समेटेका छौं । अरु थुप्रै नारीहरुका लागि प्रेरणाका स्रोत बन्न सक्ने यीसहित सबै उद्यमीशील नारीहरुमा समाधानको यो विशेषांक समर्पित छ । जय नारी !

Advertisement

रामकृष्ण ज्ञवाली

ज्ञवाली  समाधान दैनिक र समाधानन्युज डटकमका प्रधान सम्पादक हुन् ।

तपाईको प्रतिक्रिया