पर्यटनकर्मी महिलाकी एक अगुवा

जमुना वर्षा शर्मा २०७८ असोज १ गते १६:३३

—जमुना पराजुली पर्यटन क्षेत्रमा क्रियाशील महिलाहरुको संस्था महिला पर्यटन व्यवसायी मञ्च (ओटेफ) की संस्थापक हुन् ।


पोखरा पर्यटकीय सहर र गण्डकी प्रदेशको राजधानी । नेपाल आउने अधिकांश पर्यटकको रोजाइको सहर पोखरा । रमणीय वातावरण, सुन्दर हिमशृंखला, ताल तलैया, मठमन्दिर र मिलेको बस्तीले सुसज्जित पोखरा धेैरै पर्यटकको रोजाइको सहर हो । सहरको सौन्दर्यमा यहाँका होटलहरुले प्रदान गर्दै आइरहेको सेवा सुविधा र आतिथ्यताले पनि उत्तिकै महत्व राख्छ ।

पाेखरा भन्ने बित्तिकै अधिकांशको मानसपटलमा लेकसाइड आउँछ । कुनै पनि कुरा राम्रो हुन त्यसको हरेक पक्ष सबल, सक्षम सुन्दर हुन आवश्यक छ । पोखराले पर्यटकीय सहरको रुपमा देश विदेशमा आफ्नो नाम पु¥याइसक्दा पनि पर्यटन क्षेत्रमा आफ्नो भूमिकाको खोजी गर्न भने यस क्षेत्रका महिलाले पाएका थिएनन । यी र यस्तै कतिपय अवस्था बुझेर जमुना पराजुलीले २०७४ सालमा महिला पर्यटन व्यवसायी मञ्च (ओटेफ) को स्थापना गरिन् ।

Advertisement

दशक अघिदेखि पर्यटन क्षेत्रमा सक्रिय जमुना पराजुली होटल पिस प्लाजाको सञ्चालक हुन्। उनको ट्राभल, ट्रेकिङ, मनिचेन्जर, रेस्टुरेन्ट व्यवसाय पनि छ । २०५४ सालमा पर्यटन व्यवसायी भरतपराजुलीसँग वैवाहिक जीवनमा प्रवेश गर्नु भएकी पराजुलीले त्यसयताको समय होटलसँगै अन्य व्यवसायको व्यवस्थापनमा सक्रिय हँुदै आएकी छन्। पर्यटन क्षेत्रमा महिलाको सहभागिताउल्लेख्य रहे पनि संगठित भएर आउन नसक्दा धेरै अवसरहरु गुमाउनुपरेको यथार्थलाई मनन गर्दै उनले पर्यटन क्षेत्रका महिलालाई संगठित गरेर महिला पर्यटन व्यवसायी मञ्च ओटेफको स्थापना गरेकी हुन् ।

पोखरामा दर्जनभन्दा बढी पर्यटन क्षेत्रसँग सम्बन्धित संघ संस्था र त्यसको नेतृत्व पुरुषले गरिरहँदा पर्यटन क्षेत्रमा ५० देखि ६० प्रतिशत महिलाको योगदान रहेपनिउनीहरुको भूमिकाको खोजी हुन नसक्दा संगठित हुनुपरेको उनी बताउँछिन् ।भन्छिन्,‘हामी वर्षौंदेखि यस क्षेत्रमा निरन्तर लागि रह्यांै तर हाम्रो श्रम र मिहेनतको मूल्यांकन कहिल्यै भएन । यस क्षेत्रमा महिलाको पनि योगदान छ भन्ने ठानिएन अनि संगठित भएर अघि बढ्यौं,’ संगठित हुन नसक्दा एकअर्काबीचका धेरै कुरा आदान प्रदान हुन नसकेको र पर्यटन क्षेत्रका धेरै कुराहरु सिक्नबाट बञ्चित भएको उनको अनुभव छ ।

Advertisement

महिलाहरुको उत्तिकै योगदान दिदाँ पनि खोजी नहुनु भनेको व्यवसायमा महिलालाई स्वीकार्न नखोज्ने मानसिकता हावी भएको उनको ठहर छ । ‘हामी संगठित हुँदा प्रसंशा र आलोचना दुबै पायौंँ । तर जुन समयमा ग¥यौं अलि छिटो संगठित हुनुपर्ने रहेछ, ढिलाभयौं कि भन्ने लाग्यो । अहिले आत्मविश्वासका साथ अघि बढेका छौं,’ पराजुली भन्छिन् ।


एकतामा बल हुन्छ भनेजस्तै संगठित पश्चात थप ऊर्जाका साथै एकअर्कालाई बुझ्ने, व्यवसायका समस्या सुन्न र सहजीकरणका लागि एकताबद्ध हुनुपर्छ भन्ने भावना जागृत हुन थालेको उनी बताउँछिन् । हाल उक्त संस्थाको अध्यक्ष पार्वती पाण्डे छिन् । १७ जना कार्यसमिति रहेको संस्थामा दुई सय २० जना साधारण सदस्यहरु छन् । ‘संस्थापक अध्यक्षको रुपमा मैले पनि संस्थालाई गतिशिल बनाउन र सदस्यहरुको क्षमता दक्षता अभिवृद्धिका साथै व्यवसायिक तालिमहरुमा सहभागी गराउने कार्यमा सहयोग गर्दै आाएको छु,’ उनले कुनै पनि संस्था सामूहिक भावनाले मात्र सम्भव हुने बताइन् ।


उनका अनुसार अहिले संस्थाका फोरममा विभिन्न खालका पर्यटन सम्बन्धित विषयमा बहस हुने व्यावसायिक समस्याको बारेमा छलफल हुने, तालिम सेमिनारमा सहभागी साथीहरुले आफ्नो अनुभवहरु सुनाउने गरेका छन् । यसले अन्य सदस्यलाई पनि नेतृत्व क्षमता र पर्यटन सम्बन्धी विद्यमान नीति नियम बुझ्न सहज बनाइदिएको उनको अनुभव छ ।


कोरोना महामारीले सुस्ताएको पर्यटनलाई अब खोपको सहजतासँगै चलायमान बनाउने अभ्याससँगैसेवालाईकसरी प्रभावकारी बनाउने भन्ने विषयमा छलफल हुने र विभिन्न कार्यक्रममा सहभागीहुने गरेको बताइन् । पराजुली भन्छिन्, ‘कुनै पनि क्षेत्र सहज र सरल हुँदैन यसका आफ्नै समस्या र चुनौति हुन्छन । पर्यटन क्षेत्र पनि सेवामुखी व्यवसाय हो । संचालकदेखि यसमा आवद्ध जनशक्तिले पहिलो प्राथमिकता हस्पिटालिटीलाई दिनुपर्छ ।’ संस्था स्थापना पछि पर्यटन क्षेत्रको सेवालाई प्रभावकारी बनाउन विभिन्न खालका हस्पिटालिटी सम्बन्धी तालिम, सेमिनार गोष्ठिहरुमा भाग लिएर थप नयाँ कुरा सिक्ने अवसर पाएको बताइन् ।


पर्यटन क्षेत्रका अधिकांश महिलाहरु व्यवसाय धान्ने तर विभिन्न तालिम सेमिनारमा उपस्थिती जनाउन नपाउने अवस्थमा अहिले संस्थाबाट त्यस्ता कार्यक्रममा धेरै व्यवसायी महिलाले प्रतिनिधित्व गर्दै आएका छन् । उनले आर्थिक, सामाजिक र सांस्कृतिक राजनीतिक हरेक कुरामा महिला जागरुक हुन सके समाजमा रुपान्तरण सम्भव हुने धारणा राख्छिन् । ‘हाम्रो समाज कस्तो भयो भने, महिला घरभित्रकै गहना हुन्, खान दिएकै छ, लाउन दिएकै छ । अरु कुरामा किन जानकार हुनुप¥यो भनेर सीमित गर्न खोजिन्छ । महिलाको अस्तित्व र पहिचानको क्षमता तिर ध्यान दिइँदैन, उनले कुनै पनि व्यवसाय सफल बनाउन पुरुषसँगै महिलाको पनि भूमिका हुने बताइन् ।


जीवनका हरेक अवस्थामा श्रीमान भरत पराजुलीको साथले व्यवसायीसँगै सामाजिक क्षेत्रमा पनि आफूलाई सक्रिय राख्न सफल भएको बताउने पराजुली महिलाले अधिकार खोजेर अघि बढ्दा घर बिग्रन्छ भन्ने संकुचित मानसिकता त्याग्न आग्रह गर्छिन् । ‘महिलाले जसरी घरको व्यवस्थापन गरेका हुन्छन् त्यसरीनै व्यवसायलाई पनि व्यवस्थापन गरेर सफल बनाउन सक्छन् त्यसैले महिलालाई पनि भूमिका र जिम्मेवारी दिएर अघि बढ्न प्रेरित गर्नुपर्छ ।’

जमुना वर्षा शर्मा

डेढ दसकदेखि पोखरामा क्रियाशील पत्रकार शर्मा राष्ट्रिय समाचार समितिमा आवद्ध छिन् 

तपाईको प्रतिक्रिया