मुस्ताङमा छिन् उत्कृष्ट राष्ट्रिय महिला उद्यमी

सुन्दरकुमार थकाली २०७८ असोज १ गते १७:३१

उनी होटल व्यवसाय तथा समाजसेवालाई निरन्तरता दिँदै महिला उद्यमशीलतामा समेत समर्पित हुँदै आइरहेकी छिन् ।

मुस्ताङको घरपझोङ—२ मार्फाकी सफल महिला उद्यमी सुकुन रसाइलीको मार्फामा फलफूल तथा प्रशोधन केन्द्र सञ्चालनमा छ । मुस्ताङमा उत्पादित कृषिजन्य सामग्रीको प्रवद्र्धन तथा स्थानीय कृषि उपजको प्रशोधन गरी विभिन्न परिकार निर्माण गर्ने उद्देश्यले २०७० सालमा उनले उद्योग स्थापना गरेकी थिइन् ।


उद्योग गर्नुअघि सुकुन होटल व्यवसाय तथा समाजसेवीको रुपमा कार्यरत थिइन् । हिमालपारि उत्पीडित परिषद मुस्ताङको उपाध्यक्ष, महिला मानवअघिकार रक्षक सञ्जालकी अध्यक्ष, विपद् व्यवस्थापन समिति सदस्य, मानव बेचबिखन तथा ओसार÷पोसार विरुद्ध समिति सदस्य लगायत विभिन्न संघसंस्थामा उनी आवद्ध छिन् । मार्फामा फलफूल प्रशोधन उद्योग सञ्चालन गरेपछि उनी होटल व्यवसाय तथा समाजसेवालाई निरन्तरता दिँदै महिला उद्यमशीलतामा समेत समर्पित हँुदै आइरहेकी छिन् ।


महिला उद्यमी सुकुनले उद्योग स्थापना गर्नुअघि होटलका साथै सामान्य घरेलु प्रविधिको माध्यमबाट स्याउको विभिन्न परिकार तयार गर्ने गरेकी थिइन् । उद्योग गर्नुअघि उनको होटलमा आउने आगन्तुक पर्यटकले व्यावसायिक रुपमा उद्योग सञ्चालन गर्न प्रोत्साहित गरेपछि उनले मार्फामा फलपूmल प्रशोधन केन्द्र सुरु गरेकी थिइन् । हिमालपारिको पर्यटकीय गाउँ मार्फामा स्थानीय उत्पादनलाई प्रशोधन विधि मार्फत उद्योगको रुपमा सञ्चालन गर्दै आइरहेकी सुकुन अहिले जिल्लाकै सर्वाेत्कृष्ट महिला उद्यमीको रुपमा स्थापित भइसकेकी छिन् । महिला उद्यमी सुकुनले मुख्य गरी मुस्ताङमा उत्पादित स्याउको सुकुटी, स्याउको केन्डी, स्याउको जाम, आलुको चिप्स, खुर्पानीको सुकुटी र जाम, सिस्नोको धुलो, रायो सागको गुन्द्रुक, अदुवाको केन्डी टिमुरको छोप लगायत परिकार बनाएर बिक्री गर्ने गरेकी छिन् भने उनको उद्योगमा स्थानीय जिम्बु, दाल, ब्रान्डी आदि पाइन्छ ।

Advertisement

सुकुनको अहिलेको महिला उद्यमशीलतामा हिमाली उपआयोजनाले महत्वपूर्ण योगदान छ । २०७० सालमा उच्चपहाडी कृषि व्यवसाय तथा जीविकोपार्जन सुधार (हिमाली आयोजना )ले ग्रामीण भेकका महिला उद्यमशीलतालाई स्वरोजगार तुल्याउन जोड दिएपछि सुकुनको उद्यमशीलता अघि बढेको थियो । ८ वर्षअघि फलफूल प्रशोधन उद्योग दर्ता गरेकी सुकुनको उद्योग स्थापित हुन ३ वर्ष समय लागेको थियो ।

निकै कठिन मेहनतका बाबजुद उनले उद्योग विस्तारलाई अघि बढाएपछि उनी जिल्लाकै नमूना महिला उद्यमी बन्न सफल भइन् । सुरुआती चरणमा हिमाली उपआयोजनाको १९ लाख अनुदान र निजी २५ लाख गरी कुल ४४ लाख लगानीमा उनले उद्योग स्थापना गरेकी थिइन् । उनको उद्योगलाई चाहिने प्रशोधन उपकरण खरिदका लागि ८० प्रतिशत अनुदान सहुलियतमा जिल्ला घरेलु उद्योग कार्यालयले आर्थिक सहयोग गरेको थियो । उनको उद्योगलाई गण्डकी प्रदेश सरकारले स्टोर रुम निर्माण गर्न ५ लाख अनुदान सहयोग गरेको थियो । उद्यमी सुकुनले महिला उद्यमीलाई सरकारले प्रोत्साहन र आर्थिक सहयोग गरे मात्र महिला उद्यमशीलताको विकास हुने उल्लेख गरेकी छिन् । उद्योगका लागि विभिन्न योजनाको प्रतिवेदन घरपझोङ गापालाई पेस गरे पनि स्थानीय सरकारले त्यसमा चासो दिन सकेको छैन ।

Advertisement


सुकुनको उद्योगमा उत्पादन भएको सामग्री मुस्ताङ लगायत जिल्ला बाहिर चितवन, कञ्चनपुर, बुटवल, काठमाडांै र पोखरा लगायत क्षेत्रमा जान्छ । कोरोना कहरअघि प्रशोधन उद्योग राम्रो चलेको थियो । सुकुनको उद्योग कोरोना कहरअघि राम्रो चले पनि कोरोना कहरपछि भने ठप्प छ । तर उद्योगमा उत्पादन भएका सामग्री जिल्ला बाहिर पु¥याउन ढुवानीमा समस्या पर्ने गरेको छ । गत वर्ष उनले तयार पारेका करिब ७ लाख मूल्य बराबरको कृषि उपज प्रशोधन सामग्री बिक्री हुन नसकी नष्ट भएको उनले जनाएकी छिन् । अहिले पनि ठाउँ÷ठाउँबाट सामग्री खरिदका लागि अर्डर आउने गरेको र कोरोनाकै कारण उत्पादित सामग्री बिक्री नहुने हो कि भन्ने चिन्ता उनमा थपिएको छ ।


समाजसेवा र उद्यमशीलतामा सक्रिय उद्यमी सुकुन विभिन्न पुरस्कार तथा सम्मानले समेत सम्मानित भइसकेकी छिन् । महिला उद्यमशीलतामा योगदान दिए वापत उनले राष्ट्रपतिबाट उत्कृष्ट राष्ट्रिय महिला उद्यमी पुरस्कार २०७४, राष्ट्रिय नागरिक विकास समाज, वरिष्ठ समाजसेवी तथा महिला उद्यमी सम्मान २०७४ लगायत दर्जनांै पुरस्कार तथा सम्मान प्राप्त गरिसकेकी छिन् ।


नेपालका हिमाली तथा उच्चपहाडी १० जिल्लामा हिमाली उपआयोजनाले लगानी गर्दे आएकोमा सुकुनको उद्योग ४ वर्षअघि पुस्तकमा समेटिएको थियो । हिमाली आयोजनाले मुस्ताङमा कृषि विषय अन्तर्गत विभिन्न क्षेत्रमा लगानी गरेकोमा सुकुनको उद्योग उत्कृष्ट उद्योगबारे पुस्तकले समेटेको थियो । नेपाल सरकार पशुसेवा विभाग अन्तर्गत हिमाली आयोजनाको लागि एग्रिफुड कन्सल्टिङ इन्टरनेसनलद्वारा उच्चपहाडी भेगमा कृषि व्यवसायका असल अभ्यासहरुः हिमालीको सिकाइ पुस्तिकामा सुकुनको मार्फा फलफूल तथा तरकारी प्रशोधनबारे विस्तृत जानकारी दिलाइएको छ । जिल्लामा भित्रिएको हिमालीले भाग्य खोल्न सफल भएकी सुकुन अहिले एक उद्यमी मात्र होइन, उनले जानेका सिकेका सिपमूलक शिक्षा अरुलाई समेत बाँड्ने प्रशिक्षकको भूमिका पनि निभाउने गरेकी छिन् ।


सन् २००२ मा वैदेशिक रोजगारका क्रममा विदेश पलायन भएका श्रीमानलाई स्वदेशमै फर्किएर केही गर्न सकिने भन्दै उद्योग व्यवसायमा सघाउन श्रीमान्लाई घर फर्काएकी थिइन् । उनको उद्योगमा श्रीमान्सहित अन्य २ जनालाई नियमित रोजगार दिएकी छिन् भने सिजनको बेला करिब डेढ दर्जन मजदुरलाई अल्पकालीन रोजगार दिने गरेकी छिन् । महिला उद्यमी सुकुनले जिल्लामा उत्पादित कृषिजन्य पदार्थ खरिद गरी विभिन्न परिकार बनाएर मुस्ताङको कोसेलीको रुपमा बिक्री गर्ने गरेकी छिन् ।

सुन्दरकुमार थकाली

थकाली समाधान दैनिकका मुस्ताङ संवाददाता हुन्  

तपाईको प्रतिक्रिया