कर्मशील सीता

फडिन्द्र अकिञ्चन २०७८ असोज १ गते १६:५४

साइकल र ठेलाबाट व्यवसाय सुरु गरेकी सीता परियार सिद्धिविनायक गार्मेन्ट उद्योगकी सञ्चालक हुन् ।


पाेखरा- सीप, क्षमता भएर पनि काम नपाउनु एउटा समस्या हो । त्योभन्दा पनि ठूलो समस्या हो कामको सम्मान नगर्नु । जो आफ्नो कर्मलाई सम्मान गर्छन्, योजना बनाउँछन्, दत्तचित्त भएर लाग्छन् ।

तीमध्ये अधिकांश सफल हुन्छन् । यस्तै एउटा उदाहरण हुन् सीता परियार । कुनै समय उनी पोखरामा साइकल चलाएर ठाउँ ठाउँमा सामान पु¥याउँथिन् । हत्तपत्त महिला घरबाट समाजमा ननिस्कने ऊ बेला नै सामाजिक, राजनीतिक क्षेत्रमा उनी सक्रिय थिइन् । त्यतिमात्र होइन, उनी आफ्नो गार्मेन्ट आएका ग्राहकको काम पनि गरिदिन्थिन् । छालाका सामानका लागि प्रसिद्ध उनको गार्मेन्टमा ज्याकेट, ब्याग आदि फिटिङ गर्न, नयाँ बनाउनेहरु खोज्दै पुग्थे ।

Advertisement


पोखरा, न्युरोडको दरबारथोकमार्गमा रहेको डिसी कलेक्सनमा अहिले पनि ग्राहकको उस्तै भीड हुन्छ । सीता कामको अर्डर लिन्थिन्, कटिङ गर्थिन्, ग्राहकलाई कपडा नबिग्रिने ग्यारेन्टी पनि दिन्थिन् । उनी भन्छिन्, ‘ज्याकेट बनाउने मास्टर खै भनेर सोध्थे । मै हुँ भन्दा काम दिन डराउँथे । बिग्रिए जिम्मा लिन्छु भनेपछि बल्ल काम दिनेहरु कपडा तयार भएपछि बक्सिस दिएर गएका पनि छन् ।’ महिला डाक्टर, इन्जिनियरहरु देखेको भए पनि यसरी गार्मेन्टमा काम गर्ने कोही थिएनन् ।


स्याङ्जाको पुतलीबजार ८, बाहाकोटमा जन्मिएकी सीताका बुवा भारतीय सैनिक थिए । उपेक्षित दलित परिवार भए पनि मध्यम आर्थिक अवस्था भएकाले उनले पढ्ने मौका पाइन् । उनका २ दाइ र २ दिदीसहित सीताले पनि उच्च शिक्षा हासिल गरे । जनता मावि ठूलाडिहीबाट प्रवेशिका उत्तीर्ण गरेकी उनी आइए पढ्न पोखराको पृथ्वीनारायण क्याम्पस भर्ना त भइन, तर पढाइ पूरा गरिनन् । पुतलीबजार ३, गेहुँडाँडाका दिनेश परियारसँग विहे भएपछि उनको अध्ययन त्यतिमै सीमित भयो । विवाहपछि राजधानी जाँदा पढ्न सकिने अवसर त थिए तर उनको ध्यान त्यता गएन । पढाइतिर ध्यान नदिएकोमा उनलाई अहिले पनि अलि नमीठो लाग्छ । ०४८ सालमा बिहे भएपछि उनले ०४९ र ०५३ मा २ सन्तान जन्माइन् । सन्तानको हेरचाहसँगै उनी जागिरे पनि भइन् । केयर नेपालमा २ वर्ष उनले काम गरिन् ।

Advertisement


उनका श्रीमान् ०५२ मै पोखरा आइसकेका थिए । त्यसको २ वर्षपछि पोखरा आएकी उनले ०५५ मा चिल्ड्रेन नेपालमा काम सुरु गरिन् । त्यो जागिर २ वर्षसम्म चल्यो । बेला बेलामा पाइने त्यस्ता आवधिक जागिरले जीवन चल्दैन भन्ने उनलाई लाग्यो । दिनेशले ०५५ मै लेदर गार्मेन्ट सुरु गरिसकेका थिए । उनलाई पनि लाग्यो ः अब आफ्नै व्यवसाय गर्नुपर्छ । आफ्नै काम त गर्ने, गर्नेचाहिँ के ? धेरै सोचेर उनले थालिन्, आफ्नै कामलाई फैलाउने नयाँ काम । लेदर गार्मेन्टमा बनेका ड्रेस, ज्याकेट, तयारी कपडा होलसेलमा पु¥याउने । त्यो बेला महिलाले साइकलमा पसल पसल सामान पु¥याउँदा धेरैले अनौठो मान्थे । ०५७ सालमा फेन्सी सुरु गरिन् । ०५९ सम्म गरेपछि त्यो छाडिन् । यता श्रीमान्लाई गार्मेन्टमा मजदुर चाहिएको थियो, उता सीताले सोचेजस्तो फेन्सी चलिरहेको पनि थिएन ।


गार्मेन्टमा कामको जिम्मेवारी तोकियो । दिनेशले मार्केटिङ र कारखाना सम्हाले, सीताले पसल हेर्ने, अर्डर लिने, तयारी सामान दिने गर्न थालिन् । उनी कोट, पाइन्टको नाप लिएर पठाउँथिन् । उनको नापो अनुसार गार्मेन्टमा ती सामान तयार हुन्थे । सिलाई उनको परम्परागत पेश भए पनि घरमा खासै उनले त्यो सिकिनन् । भारतीय लाहुरेको परिवार भएकाले उनलाई नसिकी नहुने पनि थिएन । भारतमा तालिम लिएका दिनेश नै उनका गुरु भए । सीता भन्छिन्, ‘यो पेशामा यहाँसम्म आउनुको गुरु उहाँ नै हो । कतै औपचारिक तालिम लिइनँ । उहाँबाटै सिकेँ । आफैं काम गर्दा अरु कुरा पनि जानेँ ।’ अहिले उनीहरु केही गर्न चाहने उत्साही युवायुवतीलाई सिकाउँछन् पनि । बेरोजगारलाई काम सिकाउन पाउँदा सीतालाई आनन्द लाग्छ । दर्जन जतिलाई गार्मेन्टमा रोजगारी पनि दिएका छन् ।


असली छिमेकी सहयोग संघ (गोनेसा) उपाध्यक्ष रहेकी सीता गोनेसा सहकारीमा पनि आवद्ध छिन् । ०४६ बाटै राजनीतिक, सामाजिक जागरण बुझेर त्यता लागेकी उनले ती क्षेत्रलाई पनि अझै निरन्तरता दिएकी छन् । साइकल र ठेलाबाट व्यवसाय सुरु गरेकी सीता सिद्धिविनायक गार्मेन्ट उद्योगकी सञ्चालक हुन् । ३ वर्षअघि खुलेको यो उद्योग कोरोनाका कारण अहिले कठिन अवस्था भोग्दै छ । अनेक गल्छेडा बुद्धिमतापूर्वक पार गर्दै आएकी उनी माहामारीसँगै बाच्न सिक्नुपर्ने बताउँछिन् । श्रीमान्, श्रीमती मिलेर गरिरहेको काममा अहिले काँध थाप्नेहरु पनि थपिएका छन् । सीता थप्छिन्, ‘अहिले छोराछोरीको पनि पूर्ण साथ छ ।’ आफ्नो श्रम, सीपमा विश्वास गर्ने र लगातार संघर्ष गरिरहने सीताको परिवार अहिले पोखरेली भएको छ । रानीपौवा उनीहरुको घर छ । आफ्नै काम गर्न चाहनेहरुलाई सीताको सुझाव छः कामलाई सम्मान गर्नुस्, इमान्दार, समर्पित भएर काम गर्नुस् । सफलता आफैं तपाईको पछि पछि आउँछ ।

फडिन्द्र अकिञ्चन

अकिञ्चन समाधान दैनिकका वरिष्ठ उपसम्पादक हुन् । 

तपाईको प्रतिक्रिया