गणेशमान र सुवर्ण शमशेरलाई श्रद्धाञ्जली

झपट रानाभाट २०७८ असोज २ गते १७:०१

गणेशमान सिंहको जन्म १९७२ साल कार्तिक २४ गते काठमाडौंको यट्खा टोलमा ज्ञानमान सिह र आमा सुभद्रा कुमारीको छोराको रूपमा भएको थियो। वहाँ को बाल्यकालको नाम हिराकाजी थियो। नेपालको राजनीतिक आकाशकी चर्चित महिला नेत्री मङ्गलादेबी सिहसित बैबाहिक सम्बन्धमा जोडिनुभएका वहाँका दुई छोराहरु प्रदीपमान सिह र प्रकाशमान सिह र तीन छोरीहरू डा। मीना सिह ,कान्ता मानन्धर र रीता बैध्य हुन् । नेपालको राजनीतिक इतिहासमा लौहपुरुष,प्रजातन्त्रका पिता र नेपाली काङ्ग्रेसका सर्वमान्य नेताका रूपमा परिचित गणेशमान नेपालका बरिष्ठ राजनीतिज्ञ, प्रजातन्त्रको योद्धा तथा २०४६ सालको जनआन्दोलनका सर्वोच्च कमान्डर हुनुहुन्थ्यो ।


काठमाडौंको खानदानी परिवारमा जन्मेका गणेशमान सिंहले १९९७ सालमै स्थापना भएको नेपालको पहिलो राजनीतिक पार्टी प्रजा परिषद्को सदस्य भई राणा शासन हटाउने राजनीतिमा गङ्गालालले भनेको मेरो रगत खेर जान नदिनू है भन्ने वाक्यलाई आदर्श मान्दै आफूलाई होम्नुभएको थियो। भद्रगोल जेल फोरी भागेका जोशिला तन्नेरी गणेशमान प्रबास जानुअघि नै तत्कालीन राणा हटाऊ आन्दोलनका एक नायक भैसक्नुभएको थियो । भारतमा अर्का नेता बीपी कोइरालासँग राजनीतिक सम्बन्ध विकसित हुनासाथ अन्य केही सहयोगीसाथ २००३ सालमा स्थापित नेपाली कांग्रेसलाई आजीवन जुझारू नेतृत्व दिन गणेशमानको उल्लेखनीय भूमिका रहेको पाइन्छ किनकि ,बिपी र सुवर्ण शम्सेरको अलगअलग काङ्ग्रेस थिए त्यतिबेला ।

२००७ सालको क्रान्तिका एक अगुवाका रूपमा वहाँले बीरगञ्ज मोर्चामा सशस्त्र संघर्ष गर्नुभएको थियो। संर्घषका हिसाबले बिपी कोइरालाभन्दा बढी समयसम्म देशमा प्रजातन्त्र बहाली र पुर्नबहालीका लागि समर्पित गणेशमानसिंह सैद्धान्तिक हिसाबले बिपीका अनुयायी र सबैभन्दा ठूला समर्थकका रूपमा हुनुहुन्थ्यो र बिपीको सच्चा उत्तराधिकारीको रूपमा २०१२ सालमा बीरगन्जमा आयोजना भएको नेपाली काङ्ग्रेसको महाधिवेशनमा सभापतिमा सुवर्ण शमसेरसित प्रतिस्पर्धा गर्नुभो ,यद्यपि वहाँ पराजित हुनुभो।

Advertisement


गणेशमान नेपाली कांग्रेसलाई लोकप्रिय बनाउन सदा क्रियाशिल रहनुभो। पहिलो जननिर्वाचित सरकारमा वरिष्ठ मन्त्री हुनुभएका गणेशमानले २०१७ सालमा प्रजातन्त्र अपहरण भयापछि आठ वर्ष निरन्तर काराबास भोग्नु पर्‍यो। त्यसपछि पुनः प्रबासमा राजनीतिक संगठन विस्तार गरी २०३३ सालमा बिपीसँगै राष्टिूय मेलमिलापको नारा लिई स्वदेश फर्केर तत्कालीन पञ्चायती ब्यबस्थाका बिरूध्द निरन्तर सक्रिय रहिरहनुभयो।
तत्कालीन पञ्चहरूबाट बीपीसँगै मृत्युदण्डको माग गरिनुभएका गणेशमानले २०३६ सालको बिद्यार्थी आन्दोलन र जनमत संग्रहमा उत्तिकै नेतृत्वदायी भूमिका निर्वाह गर्नु भएको थियो बिपीको निधनपछि कांग्रेसका सर्वोच्च नेताका रूपमा गणेशमानले २०४२ सालको सत्याग्रह आन्दोलन आरम्भ गर्नुभएको थियो।

१९९७ सालदेखि अनवरत राजनीतिमा समर्पित कडा स्वभाव र जुझारू व्यक्तित्वका सर्वप्रिय नेता गणेशमानको अर्को महत्वपूर्ण योगदान २०४६ सालमा रहेको थियो। राष्टिूय जनआन्दोलनका लागि कम्युनिष्टहरूसँग निकै अनुदारबादी र असहिष्णु सिङ्गै काङ्ग्रेसलाई सहमत गराएर कम्युनिस्टहरुसित मिलेर पञ्चायत बिरूध्द आन्दोलनको घोषणा गर्ने गणेशमानसिंह उक्त आन्दोलनका सर्वोच्च कमाण्डर हुनुहुन्थ्यो ।

Advertisement


जेहोस,कार्तिक २४ गज्जबको दिन रहेछ,किनकि ,कार्तिक २४ मा नेपालको त्याग,बलिदान र समर्पण मात्र गर्ने राष्ट्रका नाममा ,त्यस्ता राजनीतिज्ञ गणेशमानको जन्म भो,अनि आफ्ना लागि मात्रै चिन्तित हुन्छन् भन्ने राणा परिवारमा १९१० सालमा ईन्द्रजित कुवरको उत्तराधिकारीको रुपमा त्यतिबेलै स्नातकोत्तर गरेका ,राणापरिवारको अथाह धन ,दौलत र सम्पत्ति राणाशासनको समूल अन्त्यका लागि खर्च गरेका ,राणाशासनको अन्त्यपछि पनि मन्त्री परिषदको अध्यक्ष र पछाडि उपप्रधानमन्त्री भएका नेपाली काङ्ग्रेसका पूर्व सभापति सुबर्ण शमसेरको देहावसान पनि २०३४ कार्तिक २४ मै भएको थियो।

यसकारण कार्तिक २४ इतिहासमा विशेष महत्वको पाइन्छ। किन कि,सुबर्ण शम्सेर कुवरले आफ्नो नेतृत्व को नेपाली प्रजातन्त्र काङ्ग्रेस र बिपीको नेतृत्वको नेपाली राष्ट्रिय काङ्ग्रेस एक(एक पाटो मिसाएर गणेशमानसङ्गै नेपाली काङ्ग्रेसको छातामुनि एकाकार हुनुभएको थियो। सुबर्ण शमसेरले राणाको अकुत सम्पत्तिको केही भाग नेपाली काङ्ग्रेसलाई दिई गुन लगाउनुभएको थियो ,त्यस्तै २०१५ सालको आमनिर्वाचन वहाँ अध्यक्ष रहनुभएको मन्त्रीपरिषदले गरेको थियो। त्यो आमनिर्वाचन पछाडि राजा महेन्द्र वास्तवमा सुवर्ण शम्सेरलाई प्रधानमन्त्री बनाउन चाहन्थे। तथापि त्यो आमनिर्वाचनको जनादेश बिपीलाई ज्यादा थियो र जसले गर्दा त्यतिबेलाको सरकारमा बिपी प्रधानमन्त्री ,सुवर्ण शमसेर उपप्रधानमन्त्री र गणेशमान यातायात मन्त्री हुनुभो।


२०१७ साल पौष ०१ को कालो दिन पछि गणेशमान जेल पर्नुभो,सुवर्ण शमशेर कुवर राणा कलकत्ता रहनुभो। वहाँहरुमा मतभेद र सहकार्य निरन्तर रहिरह्यो,कुनै समय त सुबर्ण शमशेर कुवर राणाले बिपी र गणेशमानलाई काङ्ग्रेस भित्रै कार्बाही समेत गर्नुभो। यद्यपि जीवनको अन्त्यमा नेपाली राजनीतिमा त्याग,समर्पण र बलिदानका मोडेल नेता गणेशमान आफ्नै पार्टी नेपाली काङ्ग्रेसबाट तिरस्कृत ,अपहेलित र दण्डित हुनुपर्‍यो।जेल फोडेपछि जीवनभर बिपीको अनन्य भक्त हुनुभो,केही कुराहरूमा मतभेद भएपनि बिपीलाई कहिल्यै छोड्नुभएन।

महामानव बिपीको देहावसान पछि २०४६ सालको जनआन्दोलनको सशक्त र कुशल नेतृत्व गरी सारा नेपालीहरुको मन (मष्तिष्कमा रहन सफल नेता गणेशमान आफ्नै साथीहरूसङ्ग अलग हुँदै काङ्ग्रेस छोड्नु पर्‍यो। यस्तो दिन कसैलाई नआओस् । यस्ता त्याग र समर्पणका महान नेता गणेशमान सिहको देहावसान २०५४ असोज ०२ गते भएको हो।
दिबङ्गत नेता ,प्रजातान्त्रिक आन्दोलनका पिता गणेशमान र सुवर्ण शमसेर राणा प्रति हार्दिक श्रद्धाञ्जली ।

झपट रानाभाट

रानाभाट नेकपा एमाले कास्कीका युवा नेता हुन् । 

तपाईको प्रतिक्रिया