फेवाताल

फेवा मिच्नेहरू चैनले सुत्न पाउँदैनन् : देवकोटा

समाधान संवाददाता २०७८ असोज २ गते १७:५८

माओवादी केन्द्रको भ्रातृसंस्था योङ कम्युनिस्ट लिग (वाइसिएल) का केन्द्रीय संयोजक सुमन देवकोटाले भ्रष्टाचार गर्ने र फेवा मिच्नेलाई चैनले सुत्न नदिने चेतावनी दिएका छन् । तालको जग्गा हडपेर संरचना बनाउनेलाई सडकमा ल्याउने उनले बताए ।


‘सरकारसँग विनम्र आग्रह गर्छौं कि फेवाको सबै जग्गा राज्यको नाममा ल्याओस् । नभए कसले तालको जग्गा मिचेको छ, उसलाई सडकमा निकाल्छौं,’ उनले भने, ‘ताल मिचेर खानेहरूले चैनको निद्रा सुत्न पाउँदैनन् । वाईसिएलले उनीहरूलाई सुत्न दिँदैन ।’


पोखरामा शनिबार प्रेस संगठनले आयोजना गरेको कार्यक्रम उनले सरकारी सम्पत्ति मिचेर व्यक्तिगत स्वार्थमा चलाउनेलाई नांगेझार पार्ने चेतावनी दिए । उनले सबै वडामा संगठन विस्तार गर्ने र पालिकाका सबै भ्रष्टाचार पर्दाफास पार्ने दाबी गरे । ‘पालिकामा भ्रष्टाचार धेरै भएका छन् । हाम्रो मुख्य एजेन्डा भ्रष्टाचार विरोधी काम हो,’ देवकोटाले भने, ‘कसले कति खायो, विकासको अवस्था कस्तो छ ? हामी खोज्छौं र निकाल्छौं ।’
उनले एमसिसी देशको स्वाधीनता र सार्वभौमविरुद्ध भएको तर्क गरे । ‘संविधान बन्धकी राखेर कुनै पनि देशको अनुदान नेपाललाई स्वीकार्य छैन । माओवादीले त्यो स्पष्टसँग भनिसकेको छ,’ उनले थपे, ‘वाइसिएल पनि एमसिसी यही हालतमा स्वीकार्न सक्दैन ।’

Advertisement


देवकोटालेले सरकारको पछिल्लो हर्कतले आफूहरुलाई झस्काएको बताए । वर्तमान सरकारको दल फुटाउने अध्यादेश र एमसिसीका विषयमा भइरहेको षडयन्त्रले आफूहरुलाई झस्काएको उनले सुनाए । उनले भने, ‘एमसिसी आउँदैमा सबै कुरा बिग्रिहाल्छ, भत्किहाल्छ, सिद्धहाल्छ भन्ने पक्षमा वाइसिएल छैन, तर देशको राष्ट्रिय अखण्डता, स्वाधीनता, सार्वभौम सत्ता र संविधानलाई बन्दकी राखेर कुनै पनि देशको अनुदान र सहयोग वाइसिएललाई स्वीकार्य हुँदैन ।’


संयोजक देवकोटाले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसदमा देखाएको हर्कत तुच्छ खालको भएको टिप्पणी गरे । एमालेकै कारण अहिले बजेट खर्च गर्न नपाउने स्थितिमा पुगेको र यसका कारण जनताले महँगी लगायतको समस्या भोग्नुपरेको भन्दै एमालेलाई सो हर्कत सुधार्न आग्रह गरे । एमालेको हर्कतले संसदीय व्यवस्थाको खिल्ली उडाएको छ,’ उनले भने, ‘कि त व्यवस्था नै खराब हो भन्नुप¥यो । माओवादीले त पहिलेदेखि नै शासकीय व्यवस्था सुधार्नुपर्छ धेरै पहिलेदेखि नै भनिरहेकै हो, कि एमाले माओवादी केन्द्रको एजेन्डामा आउनुप¥यो, होइन भने वर्तमान व्यवस्थाको विरुद्धमा पनि हर्कत गरिरहने काम अन्तरविरोधी भएकाले सुधार्न म आग्रह गर्दछु ।’

Advertisement

तपाईको प्रतिक्रिया