भीर फोरेर नयाँ ट्र्याक

समाधान संवाददाता २०७८ असोज ३ गते १२:२०

मनाङ-हिमाली जिल्ला मनाङ त्यसै पनि विकट छ । त्यसैमा यस वर्षको बाढीपहिरोका कारण अझ विकट बनेको छ । स्थानीय तहले चार वर्ष लगाएर बनाएका विकासका संरचना बाढीपहिराले ध्वस्त बनाइदिएको छ ।


मस्र्याङ्दी नदीमा आएको बाढी र पहिरोले मनाङको मेरुदण्ड मानिने डुम्रे–बेंसीशहर–चामे सडकखण्ड पूर्णरुपमा क्षति पुगेको छ । तीन महिना बित्दा अहिले एकाध भागमा सवारी साधन चल्न थालेका छन् । केही ठाउँमा भने सडकको नामनिसान नै नहुँदा नयाँ ट्रयाक बनाउने काम भइरहेको छ ।


डुम्रे–बेंसीशहर–चामे सडकखण्डअन्तर्गत लमजुङको बेंसीशहरदेखि मनाङको खोत्रोसम्म गाडी चल्न थालेको छ तर बीचको १५ किलोमिटर भाग पूर्णरुपमा अझै पनि अवरुद्ध छ । सदरमुकाम चामे र माथिल्लो मनाङमा सवारी चलेका छन् ।तल्लो र माथिल्लो मनाङ जोड्ने मनाङ ङिस्याङ गाउँपालिका–१ को तलेखु– भ्राताङ भीरलाई फोरेर नयाँ ट्रयाक निर्माणको काम भइरहेको डुम्रे–बेंसीशहर–चामे सडक योजना कार्यालय लमजुङका प्रमुख अच्यूतविलाश पन्तले बताए ।

Advertisement


माथिल्लो मनाङ जाने सडकअन्तर्गतको तलेखु–भ्राताङ भीरमा बम विस्फोट गर्ने सबै सामग्री उपलब्ध गराउँदै काम पनि भइरहेको उनले जानकारी दिए । बेंसीशहर–चामे सडक खण्डको १०७ किलोमिटरमध्ये बेंसीशहरदेखि नासों गाउँपालिका–१ खोत्रोसम्मको ३५ किलोमिटर सडक निर्माण भइसकेको छ ।


चामे गाउँपालिकामा स्थानीयसहितको सहयोगमा पालिकामा पूरै सवारी सञ्चालन भएको उनले बताए । चाडपर्व नजिकिएसँगै सामान ढुवानी, आवतजावतमा सहज बनाउनका लागि सडक मर्मत तथा सम्भारलाई तीव्रता दिइएको छ । बेंसीशहर–चामे–खाङ्सार सडकखण्ड १०७ किलोमिटरमध्ये धेरै ठाउँमा बाढीपहिरोले क्षति पु¥याएको छ ।

Advertisement


विद्युत् आपूर्ति अवरुद्ध हुँदा स्वास्थ्य सेवाबाट सर्वसाधारण वञ्चित हुने अवस्था छ । विद्युत् आपूर्ति हुन नसक्दा स्वास्थ्य सेवा प्रत्यक्ष प्रभाव परेको जिल्ला अस्पतालका जनस्वास्थ्य निरीक्षक रहमत अन्सारीले बताए । ‘विद्युत् आपूर्ति नहुँदा जेनेरेटर चलाइरहेका छौं,’ उनले भने, ‘यसका लागि पनि इन्धन आपूर्ति गर्न मुस्किल छ । हेलिकप्टरबाहेक इन्धन ल्याउने अरु विकल्प छैन ।’


गत जेठ १४ र असार १ मा आएको बाढीपहिरोले अवरुद्ध सडक मर्मत तथा सम्भार र निर्माणको काम नभएपछि यातायात, विद्युत्, सञ्चार क्षेत्र पूर्ण रुपमा प्रभावित छन् । दक्षिण कोरियामा रहँदै आएका मनाङको चामेवासी युवाको सहयोगमा हेलिकप्टर चार्टर गरी जलविद्युतका सामग्री ढुवानी गरिएको छ ।


गण्डकी प्रदेश सरकारको सहयोगमा मनाङका सरकारी कार्यालयमा सोलार प्यानल, इन्भर्टर र ब्याट्रीमार्फत सेवा प्रवाह भइरहेको छ । विद्युत् नहुँदा अस्पताल र सरकारी काम प्रभावित भएकाले सौर्य ऊर्जा उपकरण पठाइएको हो ।


मनाङ अहिले सौर्य ऊर्जाको भरमा छ । गण्डकी प्रदेश सरकारको सहयोगमा मनाङका सरकारी कार्यालयमा सोलार प्यानल, इन्भर्टर र ब्याट्रीमार्फत सेवा प्रवाह भइरहेको छ । विद्युत् नहुँदा अस्पतालमा उपचार सेवा र सरकारी काम प्रभावित भएकाले सहजताका लागि सौर्य ऊर्जा खरिद गरी पठाएको र सौर्य ऊर्जाको भरमा नै सरकारी कार्यालयहरु सञ्चालन भइरहेको प्रमुख जिल्ला अधिकारी विष्णु लामिछाने बताए ।
उनका अनुसार जिल्लाका प्रशासन कार्यालय, स्वास्थ्य कार्यालय, प्रहरी कार्यालय लगायतका सरकारी कार्यालयहरुमा सौर्य उर्जा जडान गरिएको छ । सौर्य ऊर्जा जडान गरी सेवा र सूचना प्रवाहलाई प्रभावकारी बनाउन सौर्य ऊर्जा, इन्भर्टर र ब्याट्री गण्डकी प्रदेश सरकारले पठाएको थियो । प्रदेश ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयले करिब १९ लाखको सामान खरिद गरी हेलिकोप्टरमार्फत् चामे पठाएको थियो ।रासस

तपाईको प्रतिक्रिया