नेपाली परम्परागत विवाह गर्न नेदरल्याण्ड र फिलिपिन्सदेखि पोखरामा

पोखरा : कोभिड—१९ का कारण सन् २०२० को सुरुदेखि विश्व पर्यटन उद्योग संकटमा छ। एक शहरबाट अर्को शहर, एक देशबाट अर्को देशमा यात्रा अझै सहज नहुँदा पर्यटन उद्योग संकटमा परेको हो।
माछापुच्छ्रे गाउँपालिकाको अस्ताममा स्थित अन्नपूर्ण इको भिलेजमा स्थानीय गाउँलेलाई साची राखेर विलियम र मारिनाले सोमबार पञ्चेबाजा बजाएर हिन्दु परम्परा अनुसार विवाह गरे। उनीहरु विवाहकै लागि ५ महिना अघि नेपाल आएका थिए।
विवाका लागि अन्नपूर्ण इको भिलेजको प्राङ्गणमा जग्गे बनाइएको थियो। स्थानीय गाउँले बेहुला र बेहुलीको पक्षमा बाँढिएका थिए। बेहुलीको पक्षमा पोखरामा रहेका फिलिपिन्स माइती भएका दिदी बहिनीहरु पनि जुटेका थिए। हिन्दु परम्परा अनुसार जग्गेमा बसेर विलियम र मारिनाले पण्डितले भने झै रित पूरा गरे।
विलियमले मारिनाको सिउँदोमा सिन्दुर लगाए। पण्डितले अब दुबै जना एक अर्काको सुख दुःखमा सहयात्री बनेर जीवन जिउने कसम खुवाए। विलियम र मारिनाले पनि अग्नीलाई साक्षी राखेर पालैपालो जीवन सँगै जिउने कसम खाए। बेहुलीले परम्परागत गुरुङ पोशाक चोली, घलेक, फरिया लगाएर घुम्टो ओढेकी थिइन्।
विलियम र मारिना पञ्चेबाजा बजाएर अस्तामको देउराली पुगेका थिए। स्थानीय जन्ती र बेहुली पक्ष पनि पञ्चेबाजाको तालमा नाच्दै देउरालीको मन्दिरमा पुगे। देउराली मन्दिरमा पनि बेहुला बेहुलीले सँगै जीवनयात्रा अघि बढाउने कसम खाए। देउराली मन्दिर पुगेर पञ्चेबाजा सहित फर्केर अन्नपूर्ण इको भिलेज पुग्दा स्थनीय आमा समूहले रत्यौली खेलेका थिए। रत्यौलीको गित र पञ्चेबाजाको धुनमा बेहुला बेहुली नाचेका थिए। विवाहको चाजोपाँजो अन्नपूर्ण इको भिलेजका सञ्चालक विश्व राज अधिकारीले गरेका थिए। यसमा साथ र सहयोग मारिनाकी नेपाली दिदी कमला घलेले गरेकी थिइन्। मारिना तीन वर्षअघि नेपाल आएकी थिइन्। उनी त्यती बेला अन्नपूर्ण इको भिलेज र घलेको घरमा बसेकी थिइन्।
अन्नपूर्ण, माछापुच्छ्रे हिमालको सुन्दरता, यहाँको सस्कृति र नेपालीको आतिथ्य सत्कारबाट निकै खुशी भएकी मारिनाले विलियमसँग बिहे गर्ने निर्णयमा पुगेपछि नेपाल रोजेको सुनाइन्। विलियमले पनि नेपाल जान निकै इच्छारही रहेको अवस्थामा मारिनाको प्रस्तावबाट खुशी हुँदै नेपाली संस्कृति र परम्परा अनुसार बिहे गर्न राजी भएको सुनाए।
सन् २००७ मा अध्ययनको क्रममा विलियम र मारिनाको फिलिपिन्सको एक कलेजमा भेट भएको थियो। बेलाबेलामा कुराकानी भइरहन्थ्यो। त्यसपछि उनीहरुको दुई वर्ष अघि पुन थाइल्याण्डमा भेट भयो। कोराना संक्रमण नियन्त्रण गर्न भएका लकडाउनका कारण १३ महिनासम्म भेट हुन नसकेको मारिनाले सुनाइन्। दुबै पक्षका परिवारको समेत सहमतीमा बिहे गर्ने निर्णयमा पुगेको उनले बताइन्।
नेपाली परम्परागत रुपमा अन्नपूर्ण इको भिलेजमा बिहे भइरहँदा नेदरल्याण्ड, फिलिपिन्समा रहेका अभिभावक र अस्ट्रेलियामा रहेका विलियमका साथीहरुले अनलाइनमा लाइभ हेरेका थिए। नेपाल र भारतको यात्रापछि आफू हिन्दु संस्कृति र योगामा आकर्षित हुँदै गएकोले हिन्दु परम्परा अनुसार बिहे गर्ने योजना बनाएको मारिनाले सुनाइन्।
नेपाली परम्परा अनुसार अन्नपूर्ण, माछापुच्छ्रे हिमालको काखमा बसेर बिहे गर्न पाएकोमा निकै खुशी लागेको विलियमले बताए। विवाह गराएका पण्डित टंक प्रसाद दवाडीले विधी पूर्वक बिवाह गराएको सुनाए। विदेशीलाई विवाह गराएको भने आफ्नो पहिलो अनुभव रहेको उनले बताए।
हिन्दु परम्परा अनुसार बिहे अघि कास्की जिल्ला अदालतमा कोट म्यारिज
विलियम र मारिनाले नेपाली परम्परागत शैलीमा विवाह गर्नु अघि कास्की जिल्ला अदालतमा कोट म्यारिज गरेका थिए। उनीहरुले मुलुकी देवानी संहिता, २०७४ को दफा ७७ बमोजिम दर्ताद्वारा विवाह गर्न निवेदन दिएका थिए। एक अर्कालाई पति पत्नीको रुपमा स्वीकार गर्न मन्जुर गरेको निवेदनको आधारमा सोही संहिताको दफा ८० को उपदफा (२) बमोजिम कास्की जिल्ला अदालतले बिवाह दर्ताको प्रमाण पत्र प्रदान गरेको छ। उनीहरु अविवाहित हुन् होइनन् भन्ने एकिन भएपछि मात्र अदालतले दर्ताको प्रमाण पत्र दिएको थियो।
नेपाली परम्परा अनुसार बिहे गरेका विलियम र मारिनाले नेपाल विवाहे र हनिमुन डिस्टिनेसन हुन सक्ने बताए। प्राकृतिक सुन्दरता र सांस्कृतिक विविधताले गर्दा नेपाल उपयुक्त स्थान भएको बताए।
हनीमुन मनाउन नेपालको पोखरा लगायतका क्षेत्र निकै उपयुक्त भएको विलियमले सुनाए। अन्नपूर्ण, माछापुच्छ्रे हिमालको सुन्दरता र यहाँका स्थानीयको आतिथ्य सत्कारले आफू फेरि फेरि पोखरा आइरहने उनले बताए। विवाह भएको एक वर्ष पुगेको अवसरमा पनि नेपाल आएर एनिभर्सरी मनाउने योजना रहेको विलियमले सुनाए।
कोभिडका कारण विश्वका धेरै देश बन्द भएको यो अवस्थामा नेपाल खुला रहेकोमा आफूहरु नेपाल सहज रुपमा आउन पाएको भन्दै उनले भने, ’सेप्टेम्बर २६ मा स्वदेश फर्कन लागेका थियौं। नेपाल कोरोना संक्रमणको समयमा पनि सुरक्षित महसुस गरेर बस्यौं।’
विलियम र मारिनाको विवाहबाट कोरोना संकटमा पनि नेपाल सुरक्षित छ र खुला छ भन्ने सन्देश गएको अन्नपूर्ण इको भिलेजका संचालक विश्वराज अधिकारीले बताए। नेपाललाई हनिमुन र विवाहको डिस्टिनेसनको रुपमा विकास गर्न यस्तै विवाहका कार्यक्रम थप सहयोगी हुने भएकोले पनि विलियम र मारिनाको विवाहमा आफूले सक्दो सहयोग गरेको अधिकारीले बताए।







पूर्वसांसद मोहम्मद अफताब आलमको निधन
सरकारले थाल्यो आफ्नै लाइसेन्स छपाइ: २८ लाख कार्ड छाप्ने चुनौती
बागलुङमा पिकअप दुर्घटना: एकको मृत्यु, चार घाइते
फागुन १२ भित्र मतपत्र जिल्ला पुर्याइने, प्रवासी मतदान कानुनको पर्खाइमा
कास्की सार्दिखोला समाज, कतारद्वारा माछापुच्छ्रे माविमा छात्रवृत्ति वितरण
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
चियासँगै पाकिरहेको मञ्जुको सपना
जेन–जी आन्दोलनको आगलागीपछि पनि कास्की मालपोतमा ९ क्षेत्रका स्रेस्ता सुरक्षित
तपाईको प्रतिक्रिया