प्रदेश २ का मुख्यमन्त्री पोखरामा

समाधान संवाददाता २०७८ असोज ६ गते १७:२३

संघले अधिकार र बजेट कम दिँदा समस्या परेको दुवै मुख्यमन्त्रीको साझा ठम्याइ


पोखरा-गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलको निमन्त्रणमा प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतसहितको टोली बुधबार पोखरा भ्रमणमा आएको छ । मुख्यमन्त्री पोखरेलको कार्यकक्षमा उनीहरुबीच बुधबारै औपचारिक भेटवार्ता भएको छ ।


गण्डकीका मुख्यमन्त्री पोखरेलले संविधानतः मुलुक संघीय लोकतान्त्रिक गणतन्त्रमा गएपछि स्थापना भएको प्रदेश सरकारले जनताको चाहना बमोजिमको सेवा तथा विकास प्रवाह गर्ने सवालमा धेरै चुनौतीको सामना गर्नुपरेको बताए । उनले भने, ‘अधिकारको निक्षेपणमा संघीय सरकारको मानसिकता अझै पनि केन्द्रीकृत नै देखिन्छ ।

Advertisement

त्यसैले आगामी दिनमा हामीबीचको सहकार्य अझ घनिभूत बनाउन आवश्यक छ ।’
राजस्व बाडफाँटमा केन्द्रले धेरै राखेर प्रदेशलाई उपलब्ध गराउने गरेको सानो अंशले आवश्कता पूरा हुने अवस्था छैन भन्दै उनले यसको वृद्धिको पहल गर्नुपर्ने बताए । नेपाल सरकारले कर्मचारी समायोजनमा पर्याप्त भूमिका नखेलेको, शान्ति सुरक्षा लगायतका मुख्य काममा प्रदेशलाई अधिकार नदिएकाले प्रदेश सरकार चाहेर पनि काम गर्न सक्ने अवस्थामा नरहेको उनको भनाइ थियो


उनले भने, ‘ठूला विकासका कार्यअघि बढाउन जग्गा प्राप्तिको समस्या, विकास निर्माणमा वाधक विभिन्न कानुनी व्यवस्था आदिको सुधार तथा संशोधनमा पनि केन्द्र सरकारले ध्यान दिएको छैन ।’

Advertisement


ठूूला विकास साझेदारको स्रोत परिचालन केन्द्रबाट हुने गरेको भन्दै यसमा प्रदेशको संलग्नता वृद्धि हुनुपर्ने मुख्यमन्त्री पोखरेलले बताए । अन्तर प्रदेश समन्वय परिषदको बैठक नियमित बस्ने र समस्याको समाधान निकाल्नेतर्फ पनि घच्घच्याउनु आवश्यक रहेको उनको भनाइ छ ।


साझा सरोकारका विषयमा समय समयमा मुख्यमन्त्रीहरु बीच छलफल गरी अनुभव तथा सहयोगका आदानप्रदान तथा संघीयता प्रवद्र्धनका लागि स्पष्ट धारणा बनाउनु आवश्यक रहेको मुख्यमन्त्री पोखरेलले बताए । ‘सबै प्रदेशका मुख्यमन्त्रीज्यूहरुसँग समन्वय गरी उपयुक्त समयमा मुख्यमन्त्रीहरुको छलफल कार्यक्रम पोखरामा आयोजना गर्न इच्छुक रहेको व्यहोरा पनि अनुरोध गर्दछु ।’


गण्डकी प्रदेश र प्रदेश २ का बीचमा धेरै समानता र सहकार्यको सम्भावना रहेको उनले बताए । प्रदेशको समृद्धि र जनताको सुखका लागि हाम्रा बीचमा सहकार्य अति आवश्यक मुख्यमन्त्री पोखरेलको भनाइ थियो ।पर्यटन प्रवद्र्धनमा प्रदेश २ का सांस्कृतिक धरोहरुहरु जानकी मन्दिर, गढीमाईको मन्दिर र मेला, छिन्नमस्ता मन्दिर, सहलेस फूलबारी, धनुष क्षेत्र, जलेश्वरनाथ महादेव जस्ता स्थल रहेको स्मरण गर्दै मुख्यमन्त्री पोखरेलले गण्डकी प्रदेशमा आएका पर्यटकलाई प्रदेश २ र प्रदेश २ मा आएका पर्यटकलाई गण्डकी प्रदेशमा जानका लागि अभिप्रेरित गर्ने कार्य निजी क्षेत्रको अगुवाईमा अगाडि बढाउन सकिने भनाइ राखे ।


प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले संघीयता मजबुत बनाउन आफूहरुले निकै संघर्ष गर्नुपरेको बताए । साढे २ वर्षअघि पोखरामा मुख्यमन्त्रीहरुको सम्मेलन भएको स्मरण गर्दै उनले त्यो सम्मेलनले उठाएका सबाल सम्बोधन गर्न तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली तर्सेको दाबी गरे । उनले भने, ‘केन्द्र र ६ प्रदेशमा कम्युनिस्ट पार्टीकै सरकार थियो, अधिकार हस्तान्तरण गर्न असहज थिएन तर त्यति बेला प्रधानमन्त्रीज्यूले प्रदेशका कुरा सुन्न नै चाहनु भएन ।’


अधिकारकै लडाइँका क्रममा आफूहरु संघ सरकारसँग मुद्दा लडिरहेको बताउँदै अधिकार नपाएसम्म संघर्ष जारी रहने उनको भनाइ छ । भौतिक विकासमात्र नभएर सामाजिक रुपान्तरण हुनुपर्छ भनेर प्रदेश सरकारले महिला जागरण, बालिका सशक्तीकरण, सरसफाइ जस्ता अभियान थालेको उनले बताए । सांस्कृतिक सहर जनकपुर र पर्यटकीय सहर पोखराबीच हवाई सम्बन्ध कायम गरी भारतीय पर्यटकलाई आकर्षित गर्न सकिने उनले औंल्याए ।


गण्डकीका मुख्यमन्त्री पोखरेलको निमन्त्रणमा पोखरा आएको प्रदेश नम्बर २ का मुख्यमन्त्री राउत नेतृत्व टोलीले ३ दिन यस क्षेत्रमा बिताउनेछ । बुद्ध एअरले पोखरा सिमरा उडान सुरु गर्दाको दिनमा गण्डकीका पर्यटन मन्त्री कँडेल नेतृत्वको टोली प्रदेश नम्बर २ गएको थियो । त्यतिबेलै मन्त्री कँडेलले मुख्यमन्त्री राउतलाई निमन्त्रणा गरेका थिए । आन्तरिक पर्यटन प्रवद्र्धनका लागि गरिएको यो कार्यक्रमको संयोजन नाट्टा गण्डकी प्रदेशले गरेको छ ।


नाट्टा गण्डकी अध्यक्ष सञ्जयकान्त सिग्देलले ३ दिनको अवधिमा मुख्यमन्त्री राउतसहितको टोलीलाई पोखरा र आसपासका मुख्य पर्यटकीय स्थल अवलोकन गराइने बताए । नाट्टा गण्डकी महासचिव कमला गिरीका अनुसार बिहीबार बिहान दुवै प्रदेशका मुख्यमन्त्रीको उपस्थितिमा पत्रकारसँग अन्तक्र्रिया हुँदै छ । बुधबार दिउँसो पोखरा विमानस्थलमा अवतरण गरेको प्रदेश नम्बर २ का मुख्यमन्त्री राउतसहितको टोलीलाई गण्डकीका पर्यटन मन्त्री मणिभद्र शर्मा कँडेलले स्वागत गरेका थिए ।

तपाईको प्रतिक्रिया