
पोखरा – पोखरा महानगरपालिकाले असोज ८ देखि ११ गतेसम्म कोरोनाविरुद्धको भेरोसेल खोप अभियान सञ्चालन गर्ने भएको छ । महानगरपालिकाले ४५ देखि ५२ वर्षसम्मलाई खोप लगाउने भएको हो ।
प्रदेश स्वास्थ्य निर्देशनालयले शुक्रबारदेखि प्रदेशका जिल्लामा खोप अभियान सञ्चालन गर्ने जानकारी दिएको छ । यसअघि त्यसबाहेक अत्यावश्यक सेवा प्रदान गर्ने सरकारी कर्मचारी, शिक्षक, पत्रकार, बैंक, सहकारीका कर्मचारी र ५२ वर्षमाथिकाले खोप पाइसकेका छन् ।
महानगरले बुधबार विज्ञप्ति निकाल्दै महानगरभित्रका विभिन्न वडामा ४९ खोप केन्द्र तोकेको छ । महानगरका सहरी स्वास्थ्य केन्द्र, वडा कार्यालय, स्वास्थ्य चौकी, मन्दिर, अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र र सार्वजनिक स्थलमा केन्द्र तोकिएको हो ।
सरकारले चीनबाट ल्याएका ४४ लाख खोपमध्ये गण्डकीलाई १ लाख ६० हजार डोज उपलब्ध गराएको थियो । यसमध्ये कास्कीमा ५७ हजार डोज आएको छ । पोखरा महानगरपालिका र गाउँपालिकालाई उक्त खोप उपलब्ध गराइएको छ । महानगरपालिकामा ४५ वर्षमाथिका २९ हजार ९ सय २४ नागरिक रहेको स्वास्थ्य महाशाखाका हरिलाल आचार्यले जनाकारी दिए । महानगपालिकाले ११ गतेपछि खोप पुगेको खण्डमा छुटपुट भएका र दोस्रो डोजसमेत लगाउने तयारी पनि गरेको उनले सुनाए ।
आचार्यका अनुसार महानगरले अहिलेसम्म अत्यावश्यक सेवाका, ५२ वर्षमाथिका व्यक्तिलाई २ लाख ७४ हजार डोज खोप लगाइसकेको छ । यसमध्ये १ लाख ३५ हजार ९ सय १ जनाले पूर्ण खोप पाएका छन् । अहिले कलेजका विद्यार्थीलाई खोप अभियान सञ्चालन भइरहेको छ । सरकारले परीक्षा सञ्चालन गर्नुपूर्व खोप लगाउने निर्णय गरेको थियो । यसै अनुसार देशभरिका विभिन्न कलेजसहित पोखराका कलेजमा पनि अभियान जारी छ ।
सिरिन्ज डिस्पोज बक्स कमी
खोप लगाइसकेपछि बाँकी रहने सिरिन्ज डिस्पोज गर्न बक्स कम हुँदै गएको आचार्य बताउँछन् । सुरक्षित रुपमा डिस्पोज गर्न डिस्पोजल बक्स खोपसँगै आउनुपर्ने भए पनि अहिले नआएको आचार्य बताउँछन् । ‘बक्स कमी हुँदै छ । यो चरणपछि पनि आएन भने गाह्रो हुन्छ,’ उनले भने ।
२४ लाख जनसंख्या भएको गण्डकी प्रदेशमा ५ लाख ९१ हजार ९ सय ४७ जनाले पहिलो र दोस्रो डोज खोप लगाइसकेका छन् । खोप लगाएकामध्ये सबैभन्दा बढी कास्कीका छन् । कास्कीमा पूरा खोप १ लाख ७५ हजार ७ सय १८ जनाले लगाएका छन् । पहिलो डोज खोप १ लाख ६४ हजार ४ सय ३२ जनाले पाएका छन् ।
खोप अभियानले संक्रमण दर कम भएको डाक्टरहरु बताउँछन् । धेरैले खोप लगाएका कारण संक्रमण दर कम भएको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका कोभिड फोकल पर्सन डा. शरद बरालले बताए । उनले चाडपर्व नजिकिएका बेला संक्रमण उच्च हुन सक्ने भन्दै सर्तक रहनसमेत अनुरोध गरे । ‘निषेधाज्ञा खुकुलो भए पनि स्वास्थ्य मापदण्ड अपनाएर काम गर्ने र हिँडडुल गर्ने गरौँ,’ उनले भने, ‘अहिले यस्तो अवस्था आउला भन्ने सोचेका थिएनौं, त्यसैले अझै पनि जोखिम छैन भन्न सकिँदैन ।’

सञ्जय रानाभाट
रानाभाट समाधानन्युज डटकम र समाधान दैनिकका संवाददाता हुन् ।







पश्चिमाञ्चल माविमा लायन्स क्लबद्वारा ‘पिस पोस्टर कन्टेस्ट’
गण्डकी प्रदेश अन्तरगतका सहकारीबाट साढे ५ अर्ब हिनामिना
भैरव मन्दिरमा कात्तिक २६ गतेबाट दर्शन र पूजा सुरु हुने
एनसेलमा ‘डेटासँगै जीवन बिमा’ योजना
कास्की सार्दिखोला समाज, कतारद्वारा माछापुच्छ्रे माविमा छात्रवृत्ति वितरण
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
चियासँगै पाकिरहेको मञ्जुको सपना
जेन–जी आन्दोलनको आगलागीपछि पनि कास्की मालपोतमा ९ क्षेत्रका स्रेस्ता सुरक्षित
तपाईको प्रतिक्रिया