पोखराका पौने ३ लाखले लगाए खोप

४५ वर्षमाथिकालाई भोलिदेखि लगाइने

सञ्जय रानाभाट २०७८ असोज ७ गते १२:४७



पोखरा – पोखरा महानगरपालिकाले असोज ८ देखि ११ गतेसम्म कोरोनाविरुद्धको भेरोसेल खोप अभियान सञ्चालन गर्ने भएको छ । महानगरपालिकाले ४५ देखि ५२ वर्षसम्मलाई खोप लगाउने भएको हो ।


प्रदेश स्वास्थ्य निर्देशनालयले शुक्रबारदेखि प्रदेशका जिल्लामा खोप अभियान सञ्चालन गर्ने जानकारी दिएको छ । यसअघि त्यसबाहेक अत्यावश्यक सेवा प्रदान गर्ने सरकारी कर्मचारी, शिक्षक, पत्रकार, बैंक, सहकारीका कर्मचारी र ५२ वर्षमाथिकाले खोप पाइसकेका छन् ।
महानगरले बुधबार विज्ञप्ति निकाल्दै महानगरभित्रका विभिन्न वडामा ४९ खोप केन्द्र तोकेको छ । महानगरका सहरी स्वास्थ्य केन्द्र, वडा कार्यालय, स्वास्थ्य चौकी, मन्दिर, अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र र सार्वजनिक स्थलमा केन्द्र तोकिएको हो ।


सरकारले चीनबाट ल्याएका ४४ लाख खोपमध्ये गण्डकीलाई १ लाख ६० हजार डोज उपलब्ध गराएको थियो । यसमध्ये कास्कीमा ५७ हजार डोज आएको छ । पोखरा महानगरपालिका र गाउँपालिकालाई उक्त खोप उपलब्ध गराइएको छ । महानगरपालिकामा ४५ वर्षमाथिका २९ हजार ९ सय २४ नागरिक रहेको स्वास्थ्य महाशाखाका हरिलाल आचार्यले जनाकारी दिए । महानगपालिकाले ११ गतेपछि खोप पुगेको खण्डमा छुटपुट भएका र दोस्रो डोजसमेत लगाउने तयारी पनि गरेको उनले सुनाए ।

Advertisement


आचार्यका अनुसार महानगरले अहिलेसम्म अत्यावश्यक सेवाका, ५२ वर्षमाथिका व्यक्तिलाई २ लाख ७४ हजार डोज खोप लगाइसकेको छ । यसमध्ये १ लाख ३५ हजार ९ सय १ जनाले पूर्ण खोप पाएका छन् । अहिले कलेजका विद्यार्थीलाई खोप अभियान सञ्चालन भइरहेको छ । सरकारले परीक्षा सञ्चालन गर्नुपूर्व खोप लगाउने निर्णय गरेको थियो । यसै अनुसार देशभरिका विभिन्न कलेजसहित पोखराका कलेजमा पनि अभियान जारी छ ।


सिरिन्ज डिस्पोज बक्स कमी
खोप लगाइसकेपछि बाँकी रहने सिरिन्ज डिस्पोज गर्न बक्स कम हुँदै गएको आचार्य बताउँछन् । सुरक्षित रुपमा डिस्पोज गर्न डिस्पोजल बक्स खोपसँगै आउनुपर्ने भए पनि अहिले नआएको आचार्य बताउँछन् । ‘बक्स कमी हुँदै छ । यो चरणपछि पनि आएन भने गाह्रो हुन्छ,’ उनले भने ।
२४ लाख जनसंख्या भएको गण्डकी प्रदेशमा ५ लाख ९१ हजार ९ सय ४७ जनाले पहिलो र दोस्रो डोज खोप लगाइसकेका छन् । खोप लगाएकामध्ये सबैभन्दा बढी कास्कीका छन् । कास्कीमा पूरा खोप १ लाख ७५ हजार ७ सय १८ जनाले लगाएका छन् । पहिलो डोज खोप १ लाख ६४ हजार ४ सय ३२ जनाले पाएका छन् ।

Advertisement


खोप अभियानले संक्रमण दर कम भएको डाक्टरहरु बताउँछन् । धेरैले खोप लगाएका कारण संक्रमण दर कम भएको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका कोभिड फोकल पर्सन डा. शरद बरालले बताए । उनले चाडपर्व नजिकिएका बेला संक्रमण उच्च हुन सक्ने भन्दै सर्तक रहनसमेत अनुरोध गरे । ‘निषेधाज्ञा खुकुलो भए पनि स्वास्थ्य मापदण्ड अपनाएर काम गर्ने र हिँडडुल गर्ने गरौँ,’ उनले भने, ‘अहिले यस्तो अवस्था आउला भन्ने सोचेका थिएनौं, त्यसैले अझै पनि जोखिम छैन भन्न सकिँदैन ।’

सञ्जय रानाभाट

रानाभाट समाधानन्युज डटकम र समाधान दैनिकका संवाददाता हुन् ।

तपाईको प्रतिक्रिया