जीवन जगाउने, मृत्यु भगाउने कर्म

श्याम रानामगर २०७८ असोज ७ गते १३:४३


पोखरा-मान्छेको सबैभन्दा ठूलो चाहना भनेकै बाँच्ने हो । सुखी साथ बाँच्ने, स्वस्थ भएर बाँच्ने । जब जिउज्यानमा केही तलबितल पर्छ जीवनको आशमा मान्छे अस्पताल कुद्छ । अहिले त झन् महामारी छ । कुन बेला के हुने हो ? यसै भन्न सकिन्न । डाक्टर राउन्डमा आइदिएमात्रै पनि अस्पतालका बिरामीलाई ठूलो राहत मिल्छ । त्यसैले त भयभित आँखाहरु डाक्टर आउने बाटोतिरै आँखा ओच्छ्याई बस्छन् ।


अक्सिजन मास्कको अनुहारभरि गोलो घेरा बनेर डोब बसिसकेको छ बिरामीको । निधारभरि चिट्चिट् पसिना काढिरहेका बिरामी डाक्टरलाई देख्ने बित्तिकै सकिनसकी हाँस्ने यत्न गर्छन् । उनीहरुको प्रयास धेरैबेर टिक्न पाएको होइन । सास फुलिहाल्छ । हो, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको कोभिड अस्पतालको आइसोलेसन कक्षको हाल यस्तै छ । बाहिर, कोभिड निमिट्यान्न भए झैं देखिन्छ । तर, कोभिड के हो ? उनीहरुलाई भन्दा बढी कसलाई थाहा होला ?

डाक्टर शरद बरालको राउन्ड भर्खरै सकियो । डाक्टर शिशिर क्षेत्रीको अल्ली अघि । कोभिड १९ रोकथाममा अहोरात्र लागिपरेका यी दुई डाक्टरसँग कुराकानीका लागि समय लिएका थियौं ।


आँखैअघि बिरामी मृत्यु हुँदा कस्तो महसुस हुन्छ ?
कोभिड १९ को धेरै बिरामी सिकार हुनुपरेकाले पनि हामीले सोध्यौं । स्वास्थ्यकर्मीले धेरैपटक मृत्युको साक्षात्कार गर्ने भएकाले पनि यो सोध्नु नाजायज थिएन । ‘सम्पन्न मुलुकमा स्तरीय स्वास्थ्य सेवा सुविधा हुँदा पनि व्यवस्थापन गर्न गाह्रो भइरहेको अवस्था छ । हाम्रो जस्तो मुलुकमा महामारीसँग जुँध्न स्वास्थ्यकर्मीलाई एकदमै चुनौती छ । हामीले बाहिरबाट जसरी हेर्छाैं । हेरेको जस्तो सजिलो छैन,’ डाक्टर शरदले सुनाए । जटिल खालको रोग भएकाले धेरै बिरामीको मृत्यु भएको हुने उनी बताउँछन् । ‘त्यसमाथि हाम्रोजस्तो संरचनामा ढिला गरी आउने हुनाले पूरा मात्रामा अक्सिजन दिँदा दिँदै पनि अन्तिम अवस्थामा छटपटाहट हुन्छ । त्यो देख्दा कहिलेकाहीँ मन विकराल भएर, स्वास्थ्यको पेसा नै छोडौं कि झैं पनि लाग्छ,’ उनले भने, ‘तथापि बिरामी अन्तिम सास रहँदासम्म बिरामी बचाउन हाम्रो टिम दिनरात मेहेनत गर्छ । सँगसँगै अर्को बिरामी भएको बेडमा जानुपर्छ । त्यो आएको भावलाई कन्ट्रोल गरेर उत्तिकै हसिलो मुहार बनाएर जानुपर्छ ।’


यो बल कसरी आउँछ ? हाम्रो दोस्रो प्रश्न ।
चिकित्साकर्मीमा अदृश्य शक्ति हुन्छ कि ! डाक्टर शरदको अनुमान ।
चिकित्सा पेसामा लागेपछि सबैथोक बिर्सिएर मनोबल उचो राख्नुपर्छ चिकित्साकर्मीलाई । चिकित्साकर्मीमा भए जस्तो मनोबल अन्य पेसाकर्मीमा हुँदैन कि जस्तो लाग्छ रे ! उनलाई । एकातिर बिरामीको छटपटाहट सँग जुँध्नुपरेको छ । अर्को बिरामी कहाँ जाँदा उत्तिकै उच्च मनोबल, त्यो भावलाई बिर्सिएर अर्कोतिर जानुपर्ने हुन्छ ।


अर्का डाक्टर शिशिर क्षेत्री दुई महिनादेखि आइसोलेसनमा खटिएका छन् । राउन्डमा जाँदा कतिखेर कुन बिरामीको सास गइसकेको हुन्छ, भन्नै सकिन्न । कतिचाहिँ सास फेर्न गाह्रो भएर छटपटाएका हुन्छन् । यो सबै घटना आँखै अघि भइरहेको हुन्छ । ‘त्यो बेला कुन बिरामीलाई के भनेर जवाफ दिने भनेर अलि गाह्रो हुन्छ,’ डाक्टर शिशिर सुनाउँछन् ।
जाने त गइहाल्यो । निको हुने आश लिएर बसेका बिरामीलाई के भन्ने ? यस्तो अवस्थामा सबैभन्दा गाह्रो हुन्छ चिकित्साकर्मीलाई । ‘आफन्तलाई के भनेर सम्झाउने जस्तो हुन्छ । आडैमा मृत्यु देखेको बिरामीलाई सम्झाउन एकदमै गाह्रो हुन्छ । किनकी आडैमा बिरामी बित्दा ऊ आफैं आत्तिन सुरु गर्छ । मन दह्रो बनाएर । रुन मन लाग्छ । तर, के गर्ने ?’ डाक्टर शिशिर भन्छन्, ‘मन दरो बनाएर काउन्सिलिङको काम गछौं ।’ मृत्यु सत्य हो । जन्मेपछि मर्नु त पर्छ नै ! डाक्टरहरु त सबैलाई निको पारेर घर पठाउन चाहन्छन् । बिरामीको मृत्युपछि कहीँ कतै गल्ती भयो कि ! आफ्नै समीक्षा थाल्छन् रे ! उनीहरु ।


त्यो कोभिड, यो कोभिड
अहिले बरु, सामान्य आँक्न थालेका छन् कोभिड । पहिलो लहरमा त नाम सुन्दै आङ जिरिंग हुन्थ्यो । नयाँ रोग भएकाले पनि सबैमा त्रास थियो । पहिलो लहरको कोभिडमा वीर अस्पतालमा थिए रे ! डाक्टर शरद । त्यो बेला उनकै नेतृत्वमा ३५ जनाको मेडिकल टिम सुुदूरपश्चिमका ९ जिल्ला पुगेको रहेछ । ‘स्वास्थ्य मन्त्रालयले खटाएको थियो । त्यो टिमलाई लिड गरेर हामी अघि बढेका थियौं । एकदम कडा लकडाउन थियो,’ उनले सुनाए, ‘स्वास्थ्य मन्त्रालयले प्लेन नै चार्टर्ड गरेर पठाएर सुदूर पश्चिमका एकदमै विकट जिल्ला अछाम, बाजुरा डोटीसम्मका जिल्लामा हाम्रो समग्र टोलीले कोभिड १९ महामारी नियन्त्रणमा ठूलो भूमिका खेलेको थियो ।’


दोस्रो लहर आइसक्दा त रोगबारे बृहत बुझाई भयो । बुझ्दै, सावधानी अपनाउँदै बिरामीलाई स्तरीय सेवा दिइरहेका छन्, स्वास्थ्यकर्मीहरु । ‘आफू पनि सुरक्षित रहन सकिने रहेछ भनेर त्यो सिद्धान्तलाई लिएर अघि बढिरहेका छौं । अहिले एकदम सहज स्थिति छ,’ शरदले सुनाए, ‘नर्मल बिरामी हेरेको जस्तो, पर्सनल प्रोटेक्टिभ इक्युपमेन्ट गाउन लगाउँछौं । लगाएपछि बिरामी सँग सँगै बसेर एकदम धेरै कुराकानी गर्ने । बिरामीका कुराकानी सुन्ने बिरामीलाई गाह्रो परेको बेला तुरुन्त जाने, दिनको दुई तीनपटकसम्म राउन्ड गर्ने गरेका छौं । यसले पनि बिरामीको निको हुने दर बढिरहेको छ ।’


प्रतिष्ठानको कोभिड अस्पतालले काठमाडौंमा भन्दा कुनै हिसाबले कमजोर सेवा नदिएको दाबी छ डाक्टर शरदको । राम्रो व्यवस्थापनले दिनरात खटिएर स्तरीय सेवा दिइरहेको उनी बताउँछन् । पोहोर असोजको मध्यतिर सरुवा भएर यो अस्पताल आएका डाक्टर बराल अहिले कोभिड आइसोलेसन हेर्छन् । डाक्टर क्षेत्री ओपिडीमा खटिन्छन् । पहिलो लहरमा सिकेका अभ्यास र भोगाइहरुलाई दोस्रो लहरमा धेरै मात्रामा लगाएका छन् दुवैले । ‘बिरामीलाई सन्तुष्ट पार्न सकेका छौं । एकदमै आफूलाई आत्मसन्तुष्टि मिल्ने गरेको छ,’ उनीहरु भन्छन् ।


जतिबेला कोभिड महामारी आएकै थिएन । त्यतिबेला नामै सुन्दा पनि डर हुन्थ्यो । सामान्य मानिसलाई मात्र होइन । स्वास्थ्यकर्मी चिकित्सक पनि नाम सुनेर डराउथे । डाक्टर बराललाई पनि यस्तै भएको थियो रे ! ‘म त्यतिबेला वीर अस्पतालमा थिएँ, बिरामीलाई त्यो कोठामा राखेको छ रे ! भन्दा ओहो त्यहाँ त जाने कसरी हो ? ब्याक अफ द माइन्डमा हुन्थ्यो,’ उनले सुनाए, ‘तथापि म त आवासीय चिकित्सक थिएँ । मेडिसिनको थर्ड इयर रेसिडेन्ट काम गर्ने पथ्र्यो । डराईडराई भए पनि बिरामीलाई नछोएर पनि टाढैबाट गफ गरेर पनि व्यवस्थापन गरेको याद छ ।’


डाक्टर शिशिर भर्खर सुरुआती फेजमै थिए । पहिलो लहरको बीचतिर जब डाक्टर बराल सरुवा भएर आए । उनी पनि त्यति नै बेला प्रतिष्ठानको कोभिड अस्पतालमा भित्रिए । ‘मेरो फस्र्ट आइसोलेसन ड्युटी प¥यो । सरले भित्र जानुपर्छ भन्नुभयो । मैले ठिकै छ, मभित्र छिरेर बिरामी हेर्दा यो बिरामीलाई कोभिड लागेको मैले छुन हुन्न भन्ने भएन,’ उनले आइसोलेसन छिर्दाको अनुभव सुनाए, ‘सरले मलाई मोटिभेट गर्नुभयो । त्यही भएर मैले उहाँलाई मेरो आइडल पनि भन्छु ।’ अहिले त बानी परिसक्यो । मास्क लगाएकै भरमा उनी बिरामीको हालचाल सोध्न पुग्छन् ।


बिरामीलाई छुँदैमा कोभिड हुँदैन । तर, सावधानी अपनाउनुपर्छ । डाक्टर आइरहेको छ भनेपछि बिरामीलाई पनि मनोबल एकदम बलियो भएको अनुभव गरेका छन् उनीहरुले । पहिलो महामारीदेखि कोभिड रोकथामको अग्रपंक्तिमा खटिएका डाक्टर बरालले अहिलेसम्म १५ सयभन्दा बढी कोभिड संक्रमित जाँचे, उपचार गरे । आफू एक्लैको प्रयासले नभई सम्पूर्ण टिम अहोरात्र खटिएर सबै सम्भव भएको उनी बताउँछन् ।


पहिलो लहरमा काभिड जतिबेला चरम उत्कर्षमा थियो । आइसोलेसनमा ड्युटी गर्नेलाई होटल क्वारेन्टिन व्यवस्था गरेको थियो । काम गर्दा १४ दिन होटलमा बसेपछि एक हप्ता पिसिआर चेक गर्न कुर्नुपथ्र्यो । ‘पिसिआर नेगेटिभ आइसकेपछि बल्ल हामी घर जान पाउथ्यौं । त्यति अप्ठ्यारो महसुस त भएन । दोस्रो लहरमा त अभ्यस्त भइसक्यौं,’ डाक्टर बराल ती दिन सम्झिन्छन्, ‘कोभिड र ननकोभिड बिरामी एउटै एउटै जस्तो लाग्न थालिसक्यो । हाम्रो व्यवहारमा खासै परिवर्तन भएको छैन ।’


पहिलो लहर ताका डाक्टर शिशिर भने भर्खर विहे बन्धनमा बाँधिएका थिए । उनी होटल क्वारेन्टिनमा बसेनन् । घरकै छुट्टै कोठामा बसे । उनकी श्रीमती पनि डाक्टर हुन् । ‘उनी प्रेगनेन्ट थिइन् । हामी झ्यालबाट हाईहेल्लो गथ्र्यौ । भर्खर छोरी जन्मेकी छिन्,’ उनले भने । छोरी पेटमा थिइन् । होसियारी अपनाउँदा अपनाउँदै श्रीमान्, श्रीमती दुवैजना कोभिड संक्रमित हुन पुगे । ती दिन सम्झिँदै उनले भने, ‘मनिपालमा अप्रेसन गरियो । अप्रेसनको ४ दिनपछि पोजेटिभ आयो कोभिड । कोभिड जटिल भयो । अक्सिजनको सेचुरियसन पनि अलमस्ट ६५ प्रसेन्टमा झरेको थियो । सरले एकदम मनोबल बढाएर राती पनि राउन्डमा आएर हाम्रो लागि सबै बिरामीका लागि म डाक्टर भएर होइन कि सबै बिरामी हेर्न । त्यही कुराले नै म उहाँप्रति इम्प्रेस्ड छु ।’


अहिले छुट्टाछुट्टै ब्लकमा पर सिफ्ट बनाएर बिरामीको सेवामा खटिरहेका छन् । एक सिफ्टमा एकजना डाक्टर, ३ जना नर्सिङ स्टाफ २ जना कार्यालय सहयोगी । लगायत पर्दापछाडि अक्सिजनमा खटिने सुरक्षा गार्डको टिम रहेको हुन्छ ।


अहिले कोभिड संक्रमण कम देखियो भन्दैमा यसलाई कमजोर आँक्न हुँदैन । जनस्वास्थ्यका मापदण्ड खोप लगाएपछि एकदम सुरक्षित भयौं भन्ने सोच्न नहुने डाक्टर बराल सुनाउँछन् । ‘खोप लगायौं भन्दैमा बच्ने होइन रोगबाट बँच्यौं भन्ने होइन । रोगका जटिलताबाट बचाउने हो । अस्पताल भर्ना भएर अत्यधिक अक्सिजन आवश्यक पर्ने जस्ता समस्याबाट बचाउने हो,’ उनले भने, ‘खोप लगायौं । सुरक्षित भयौं भनेर जनस्वास्थ्य मापदण्ड उल्लंघन गर्दा अहिले दिनानुदिन बिरामीको संख्या बढ्न आँटेको महसुस गरेका छौं । जनस्वास्थ्यका मापदण्ड फस्र्ट पूर्ण रुपमा पालना गर्नुपर्ने हुन्छ । कोभिड सकियो भनेर हुलमुल गरेर हिड्न सकिने बेला अब छैन ।’


विश्वका विभिन्न तथ्यांक हेर्दा पनि नियन्त्रणमा आएको रोग पनि फेरि बढेको देखिएको उनले सुनाए । पूर्ण रुपमा रोग निर्मुल नभएसम्म हामी एकदम सुरक्षित छौं भनेर खुलम तरिकाले हिँड्न सक्ने अवस्था नहुने उनले बताए । पहिलो महामारी व्यहोरिसकेका हामी दोस्रो पनि व्यहो¥यौं । तेस्रो पनि व्यहोर्नुपर्न सक्छ । पहिलो लहर आउदा नयाँ थियो । तयारी केही भएन । नयाँ भएकाले । दोस्रो लहर आइसक्दा पनि नियति उही रह्यो । तयारी शून्य ।
तेस्रो लहरमा पनि उही हाल त होला ? हामीले सोध्यौं ‘केही न केही तयारी गरेका छौं । सिस्टम नै कमजोरी लङ टर्म प्लानिङ गर्ने । बाहिरी मुलुकमा फेरि आउन सक्छ है भनेर पहिले नै व्यवस्थापन हुन्छ । वर्कअप हुन्छ,’ डाक्टर बराल भन्छन्, ‘यो हुँदाहुँदै पनि तेस्रो लहरका लागि अक्सिजन प्लान्ट एउटा त स्थापना भइसक्यो । सुरु भइसक्यो । अर्को पनि केही दिनभित्र हुन्छ । अक्सिजनको हकमा ढुक्क हुन सक्ने अवस्था छ ।’


स्वास्थ्यकर्मी कोभिडसँग लड्न तम्तयार रहेको उनी बताउँछन् । स्वास्थ्यकर्मी मोटिभेटेड भइसकेपछि जस्तोसुकै चुनौती पनि सामना गर्न सक्ने मनोबल बढेको उनी बताउँछन् । ‘यो पनि ठूलो तयारी हो । भौतिक संरचनामा नव निर्मित भवनमा पनि राखेको । पुराना बिल्डिङ मर्मतको कारण आए गाह्रो त हुने । सबै प्रकारका रोगीको उपचार हुन्छ । देशकै ठूलो अस्पतालको संरचना बनेको छ,’ उनी अघि सुनाउँछन्, ‘तेस्रो लहर आयो भने यो यो कोठामा राखौंला भनेर अक्सिजन पाइपिङ गरेको अवस्था छ । स्वास्थ्यकर्मी पनि चाहिएको छ । पदपूर्ति गर्ने काम पनि गरिरहेका छौं । यसैलाई तयारीको रुपमा लिन सकिन्छ ।’


कोभिडलाई सामान्य आँट्नु हुन्न । जसलाई परेको छ, उसले बुझ्छ । सामान्य रोग ठान्नुहुन्न । धेरैजसोलाई बिना लक्षण निको हुन्छ । कसलाई कस्तो असर गर्छ थाहै हुन्न । गम्भीर रोग हो । होसियार हुन जरुरी छ ।


भ्याक्सिन लाए मेडिकलमा गएर औषधी खाए ठिक हुन्छ भन्ने ठान्नु गलत हो । डाक्टर शिशिर भन्छन्, ‘तर, एउटा निश्चित समय हुन्छ । त्यो समयमा उपचार गरि हाल्नुपर्छ । बरु, सामान्य ज्वरो नै किन नहोस् । हामीकहाँ आउनुस् । परामर्श लिनुस् । खाने औषधी त छदै छ ।’
कोभिड संक्रमित आए एक्स–रे पनि नगरिदिने स्थिति पार गर्दै डेडिकेटेड ओपिडी सञ्चालनमा आउनु ठूलो कुरा हो । डाक्टर शिशिर त्यसको नेतृत्व गर्छन् । दैनिक २० देखि ३० कहिलेकाहीँ ४०, ५० बिरामीले सेवा लिइरहेका छन् यो अस्पतालबाट ।


‘दिनरात खटेर सेवा परामर्श दिनु भएको छ । त्यसलाई पनि तयारीको रुपमा लिएका छौं । यस अस्पतालमा सुरु गरेका छौं । जनशक्तिको अभाव । एउटै जनशक्तिलाई नयाँ रोग पनि सामना गर्नुपर्ने । पूराना रोग पनि गर्नुपर्ने छ,’ डाक्टर बरालले भने, ‘त्यसलाई व्यवस्थापन गर्न व्यवस्थापन लागि परेको छ । आगामी दिनमा व्यवस्थापन हुने छ । तेस्रो लहर आए पनि सामना गर्न सक्छौं ।’ कोभिडलाई सामान्य नआँक्न दुवै डाक्टरको सुझाव छ । कोभिडका बिरामीले धेरै औषधी खानुनपर्ने उनीहरु बताउँछन् । उनीहरु भन्छन्, ‘हामीकहाँ २४ घण्टा खुला छ । निशुल्क परामर्श लिन सक्नुहुनेछ । आउनुस् ।’

श्याम रानामगर

मगर पोखरामा क्रियाशील पत्रकार हुन्

तपाईको प्रतिक्रिया