पोखरामा करोड लिटर इन्धन भण्डारण टंकी वैशाखभित्रै

समाधान संवाददाता २०७८ असोज ८ गते १३:१९

पोखरा
महिना दिनभन्दा लामो समयलाई पुग्ने गरी पोखरामा डिजल भण्डारण गर्न सकिने टंकी आउँदो वैैशाखसम्म निर्माण पूरा हुने भएको छ । नेपाल आयल निगम पोखरा ३२ गगनगौंडामा उक्त टंकी निर्माण भइरहेको छ । पोहोर कात्तिकमा सुरु भएको काममा भौतिक पूर्वाधार निर्माणतर्फ ८० प्रतिशत प्रगति भएको निगमको भण्डारण टंकी क्षमता अभिवृद्धि परियोजना प्रमुख मनोज ठाकुरले जानकारी दिए । उनकै भनाइमा आउँदो २०७९ कात्तिकभित्र पूरा गर्ने लक्ष्य भए पनि त्यसअघि नै काम सकिने देखिएको छ । निषेधाज्ञाका बेलासमेत निर्माण जारी थियो ।


अहिले पोखरा गगनगौंडामा २२ लाख लिटर डिजल भण्डारण गर्न सक्ने क्षमताको टंकी छ । तर अब १ करोड लिटर भण्डारण गर्न सकिने गरी ५०÷५० लाख लिटर क्षमताका २ वटा टंकी बन्नेछन् । टंकीका लागि भौतिक पूर्वाधारको काम ८० प्रतिशत र मेकानिकलतर्फ ३५ प्रतिशत काम भएको ठाकुरले सुनाए । उनका अनुसार टंकीका लागि फलामका पाता जडानको काम धमाधम भइरहेको छ । उक्त कामका लागि २० जनाभन्दा बढी भारतीय कामदार खटिएका छन् । मेकानिकल कामका लागि आवश्यक सामग्रीसमेत भारतबाटै ल्याइएको छ ।


यो परियोजना ३ थरी कम्पनीले साझेदारीमा ठेक्का लिएका हुन् । त्यसमध्ये एउटा भारतीय हो, जसले मेकानिकल काम गरिरहेको छ । नेपाली कम्पनीहरु समानान्तर रेलिगियर र भारतको भारत ट्यांक कम्पनीले ठेक्का पाएका थिए । भ्याटसहित ७७ करोड रुपैयाँमा निगमले उनीहरुलाई ठेक्का लगाएको हो । गगनगौंडामा निगमको ७७ रोपनी जमिन छ । पुरानो टंकी भए ठाउँबाहेक बाँकी जमिनमा नयाँ २ वटा टंकी बनिरहेका हुन् ।

Advertisement


डिजेल टंकीबाहेक पानीको ४० लाख लिटर क्षमताको टंकी निर्माण पनि भइरहेको जानकारी ठाकुरले दिए । अत्यधिक प्रज्ज्वलनशील पदार्थ डिजेललाई आगलागीबाट बचाउन अटोमेसन प्रविधिसहित पानी टंकी निर्माण गरिएको उनले बताए । पानी टंकीसँगै पम्प हाउस र गार्डरुम निर्माण पूरा भइसकेको छ ।


भण्डारण नहुँदा आपतविपतका बेला इन्धन अभाव हुन नदिन निगमले गण्डकी प्रदेशका लागि उक्त भण्डारण निर्माण गरेको हो । ठाकुरका अनुसार यो प्रदेशमा दैनिक ३ लाख लिटर डिजलको माग छ । १ करोड लिटर क्षमताको भण्डारण बन्दा माग अनुसार ३ महिनासम्म यहाँको माग धान्न सक्छ ।

Advertisement


पोखरामा बन्ने भण्डारण टंक मुलुककै दोस्रो ठूलो हुनेछ । निगमका अनुसार सबैभन्दा बढी इन्धन भण्डारण क्षमता भएको डिपो अमलेखगन्जमा छ । त्यहाँको डिपोको इन्धन भण्डारण क्षमता २४ हजार १ सय ३० किलोलिटर हो । जुन पोखरामा बन्ने क्षमताभन्दा डेढ गुना बढी हो । विराटनगरमा ८० लाखभन्दा बढी क्षमतामा इन्धन राख्न सकिने भण्डार छ । २०७७ कात्तिक २७ गते तत्कालीन उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले पोखरामा इन्धन भण्डारण टंकी निर्माण शिलान्यास गरेका थिए ।

तपाईको प्रतिक्रिया