पक्राउ

काठमाडौंबाट भागेका थुनुवा पोखरामा पक्राउ

अदालत लैजाँदै गर्दा फरार निर्मल

समाधान संवाददाता २०७८ असोज ८ गते १७:५१

पोखरा- काठमाडौंमा अदालत लैजाने क्रममा बाटैबाट फरार थुनुवा बिहीबार पोखराबाट पक्राउ परेका छन् । साउन २९ गते महानगरीय प्रहरी वृत्त जनसेवा काठमाडौंबाट अदालत लैजाँदै गर्दा २४ वर्षीय निर्मल परियार फरार भएका थिए ।

पोखरा १४ मझेरीपाटनका निर्मललाई प्रहरीले जबरजस्ती करणीसम्बन्धी मुद्दामा म्याद थप गर्न अदालत लैजाँदै थियो । उनलाई जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरी टोलीले पोखरा ३० गगनगौंडाबाट पक्रेको हो । परियारलाई थप अनुसन्धानका लागि महानगरीय प्रहरी बृत्त काठमाडौं पठाइएको छ ।


कोरोना परीक्षणका लागि वीर अस्पताल लैजाने क्रममा उनी प्रहरीलाई छक्याएर न्युरोडबाट फरार भएका थिए । अभियुक्त फरार भएको घटनामा लापरबाही भएको भन्दै ४ प्रहरीलाई निलम्बन गरिएको थियो । निलम्बित हुनेमा प्रहरी वृत्त जनसेवाका १ प्रहरी नायब निरीक्षक (सई), १ हवल्दार र २ प्रहरी जवान छन् ।


गाडीबाटै हत्कडी लगाएका अयिभुक्त भाग्नुले उनलाई ल्याउने लैजाने जिम्मेवारी पाएका प्रहरीसमेतको मिलेमतोको आशंका गरी काठमाडौं उपत्यका प्रहरी कार्यालयले जिल्ला प्रहरी परिसर काठमाडौंलाई घटनाको छानबिन गरी कारबाही गर्न निर्देशन दिएको थियो । त्यसपछि परिसर काठमाडौंले समिति गठन गरी छानबिन गरेको थियो । छानबिनका क्रममा ड्युटीमा खटिएकाहरुले राम्रोसँग जिम्मेवारी निभाउन नसकेको निष्कर्ष निकाल्दै उनीहरुलाई निलम्बन गरिएको काठमाडौंका एसएसपी अशोक सिंहले बताए ।


यसअघि पनि काठमाडौं उपत्यकाका हिरासतबाट तथा म्याद थपका लागि अदालत लैजाँदा अभियुक्तहरु फरार हुने गरेका थिए । २०७५ साउनमा प्रहरी वृत्त सिंहदरबारको हिरासतबाट चोरी मुद्दाका अनिल थापा, सुब्बा लामा, सुकलाल वाइबा र मदन तामाङ फरार भएका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया