पाेखरामा कुकुर पाल्न दर्ता गर्नुपर्ने, छाडा छोडे कारवाही

सञ्जय रानाभाट २०७८ असोज ८ गते २०:५८

पोखरा- पोखरा महानगरमा कुकुर पाल्दा दर्ता गर्नुपर्ने भएको छ । महागरपालिकाले बिहीबारबाट कुकुर पाल्न अनिवार्य दर्ता गर्नुपर्ने व्यवस्था गरेको हो । अब कुकुर पालकले महानगरपालिकालाई कर पनि तिर्नुपर्ने छ ।


पशु स्वास्थ्य तथा पशु सेवा ऐन, २०७६ अनुरुप यस्तो व्यवस्था महानगरपालिकाले ल्याएको भए पनि कार्यान्वयन आएको थिएन । महानगर उपप्रमुख मञ्जुदेवी गुरुङले बिहीबार भएको कार्यक्रममा कुकुर दर्ता प्रक्रिया सुरुआत गरिन् । पोखरा ८ बाट दर्ता अभियान सुरु भएको छ ।
उपप्रमुख गुरुङले रहरमा कुकुर पाल्ने पछि छाडा छाड्ने तथा सार्वजनिक ठाउँमै दिसापिसाब गराउने प्रवृत्तिलाई निरुत्साहित गर्न महनगर लागेको बताइन् । कुकुर जथाभावी छाड्दा र दिसापिसाब गराउँदा वातावरणमा असर पर्ने भएकाले दर्ता प्रक्रिया सुरु गरिएको उनको भनाइ छ । कुकुर दर्ताले रेबिज विरुद्धको खोप कार्यक्रम सहज हुने उनी बताउँछिन् । ‘कुकुरपालन अव्यवस्थित कुकुर हुँदा सहर कुरुप त हुन्छ नै दुर्घटनासमेत बढ्छ । मानव स्वास्थ्यमा पनि असर गर्छ,’ उपप्रमुख गुरुङले भनिन् ।


महानगरपालिकाको कुकुर दर्ता गराउने पहिलो वडा पोखरा ८ भएको बनेको छ । वडाले बिहीबार नैै ६० वटा कुकुर दर्ता गरेको छ । वडाका कुकुरधनीलाई प्रमाणपत्र र दर्ता नम्बर दिइएको छ । ‘दर्ता भएका कुकुरलाई रेबिज विरुद्धको भ्याक्सिन लगाउने काम पनि महानगरपालिकाले गरेको छ । भ्यक्सिन लगाएकालाई प्रमाणपत्र र बेल्ट पनि वडाले नै दिन्छ,’ वडाध्यक्ष रुद्र बरालले भने, ‘यसको रेखदेख, संरक्षण कुकुर धनी स्वयंले गर्नुपर्छ । कुकुरलाई जथाभावी छोडेमा ५ हजारदेखि १५ हजारसम्म जरिवाना हुन्छ ।’

Advertisement


वडाभित्र रहेका छाडा कुकुरलाई पनि नियन्त्रणमा लिएर रेबिज विरुद्धको भ्यक्सिन लगाइएको छ । जथाभावी कुकुर छोड्दा वातावरण प्रदूषित हुने र दुर्घटनासमेत हुने भएकाले महानगरबासी सचेत बन्नुपर्नेमा उनले जोड दिए । ‘कुकुरको रेखदेख नगरे दोस्रो फेजको कारबाही अझै कडा जान्छ,’ उनले भने ।


पशु स्वास्थ्य तथा पशु सेवा ऐन, २०७६ मा कुकुर पाल्न दर्ता गर्नुपर्ने, भ्याक्सिन लगाउनुपर्ने लगायतका प्रावधान छन् । यस्तै, सडकका छाडा कुकुर नियन्त्रणका लागि बन्ध्याकरण गर्ने लगायतका व्यवस्था ऐनमा छ । ऐनमा यस्तो व्यवस्था भए पनि महानगरमा छाडा कुकुर नियन्त्रण भएको देखिँदैन ।

Advertisement


महानगरका ३२ वटै वटामा कुकुर दर्ता सुरु भएको पशु स्वास्थ्य तथा पशु सेवा प्रमुख नवराज अधिकारीले बताए । महानगरपालिकाका १० वटा पशु सेवा केन्द्रमा सेवा सुरु भएको उनले जानकारी दिए । ‘सबै कुकुरलाई रेबिज खोप पनि लगाइँदै छ,’ उनले भने ।


दर्ता भएका कुकुरको विवरण अद्यावधिक गर्न पशु महाशाखाले ताकेता गर्ने र नियमित निगरानीमा राखिने भएको छ । कुकुर धनीले १ सय रुपैयाँ राजस्व तिरेर दर्ता गर्नुपर्छ । कुकुर पालकले आफ्नो वडा वा नजिकको सेवा केन्द्रमा १ सय रुपैयाँ तिरेर कुकर दर्ता गरी प्रमाणपत्र लिनसक्ने अधिकारीले बताए । दर्ता भएका कुकुरलाई महानगरले रेबिज विरुद्धको खोप सित्तैमा लगाइदिने भएको छ ।


रेबिज डे लक्षित कार्यक्रम


आउँदै गरेको रेबिज डेलाई लक्षित गरी कुकुर रेखदेख तथा संरक्षण ऐन कार्यान्वयनमा लैजान लागिएको हो । महानगरपालिकाले रेबिज विरुद्धको भ्याक्सिन दिएर स्माड सिटीको अवधारणा अनुरुप पोखरामा कुकुर व्यस्थापना गर्न लागिएको जनाएको छ ।
यही सेप्टेम्बर २८ अर्थात् असोज १२ गते वल्ड रेबिज डे मनाइँदै छ । प्रत्येक वडाले आफ्नो क्षेत्रका कुकुरको पहिचान गर्न छुट्टै व्यवस्था गर्न सक्ने अधिकारी बताउँछन् । ८ नम्बर वडाले यहाँका कुकुरलाई बेल्ट निशुल्क बाडेको छ । दर्ता र कारवाहीको व्यवस्थाले कुकुर पालन व्यवस्थित बन्ने अधिकारी बताउँछन् । ‘यो व्यवस्थाले महानगरका अव्यवस्थित कुकुरको संख्या पनि घट्छ,’ उनले भने ।


पहिचान गर्न चिप्स


महानगरले घरपालुवा कुकुरलाई अलपत्र छाड्ने प्रवृत्ति रोक्न कुकुरको घाँटीमा चिप्स लगाउने भएको छ । ‘हामी एउटा संस्थासँग कुरा गर्दै छौं । मिलेसम्म कार्यक्रम छिट्टै सुरु गर्छाैं,’ उनले भने । चिप्समा रहेको जिजिएस ट्रयाकका आधारमा कुकुर पालकको विवरण सजिलै उपलब्ध हुने हुँदा कुकर अलपत्र छाड्ने क्रम रोकिने महानगरको अपेक्षा छ । पोखरा महानगरमा करिब ५ हजार कुकुर रहेको बताइन्छ । सडकमा छाडा रुपमा रहेका कुकुरको यकिन तथ्यांक महानगरसँग छैन ।

सञ्जय रानाभाट

रानाभाट समाधानन्युज डटकम र समाधान दैनिकका संवाददाता हुन् ।

तपाईको प्रतिक्रिया