दुर्घटना

त्रिशूलीमात्रै देख्ने साक्षी भो

समाधान संवाददाता २०७८ असोज ९ गते ११:३१

पोखरा- काठमाडौंबाट पोखरा आउँदै गर्दा व्यवसायी प्रेमबहादुर भुजेलसहित ४ जना सवार कार त्रिशूली नदीमा खस्दा उनीसमेत गरी ३ जना बेपत्ता भएका छन् । बिहीबार मध्यरात भुजेलले हाँकेको ग२च ४९१८ नम्बरको कार मुग्लिङभन्दा ३ किलोमिटर जति पूर्व नाग्दीखोला भन्ने ठाउँबाट त्रिशूलीमा खसेको थियो ।


कार दुर्घटनामा प्रेमसहित पोखरा १७ का लेखबहादुर भुजेल र ईश्वरी भुजेल पनि त्रिशूलीमा हराएका हुन् । अर्का यात्रु रुद्र सुवेदी भने घाइते छन् । उनलाई चितवनको भरतपुरमा उपचार गरी शुक्रबार साँझ पोखरा ल्याएको छ । सुवेदीको पोखरामा उपचार भइरहेको छ ।
शुक्रबार दिनभर खोजी गर्दा पनि प्रेमसहित ३ जना नभेटिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी सूर्यबहादुर थापाले बताए । ‘ड्रोन उडाएर त्रिशूलीको किनारैकिनार खोज्यौं, सशस्त्रका गोताखोरले पनि खोजे,’ उनले भने, ‘साँझसम्म खोज्दा भेटिनु भएको छैन, अँध्यारो भयो, भोलि फेरि खोज्छौं ।’


प्रेम पोखरा चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष हुन् । कपडा व्यवसायी संघ कास्कीका पूर्वअध्यक्ष रहेका उनी पोखरा उद्योग वाणिज्य संघका पूर्वसदस्य पनि हुन् । कपडा व्यवसायी भुजेल दसैंका लागि कपडा किनमेल गर्न काठमाडौं गएको पोखरा चेम्बर अफ कमर्सका महासचिव नवराज आचार्यले जानकारी दिए । ‘उहाँहरु सबै कपडा व्यवसायी हुनुहुन्छ,’ उनले भने, ‘काठमाडौंमा कपडा अर्डर गर्न जानुभएको थियो ।’
दिनभर कपडा किनमेल गरी त्यसलाई पोखरा ल्याउने बन्दोबस्तसमेत मिलाएर उनीहरु पोखराका लागि रवाना भएका थिए । तर, राति मुग्लिङ नजिकको घुम्तीमा कार अनिन्त्रित भई त्रिशूलीमा खसेको प्रहरीको प्रारम्भिक अनुमान छ ।

Advertisement


डिएसपी थापाले नाग्दीखोला क्षेत्र अत्यधिक दुर्घटना भइरहने ठाउँ भएको पनि जानकारी दिए । ‘त्यहाँ अलिक घुम्ती छ, कार अनियन्त्रित भएर खसेको अनुमान गरेका छौं,’ उनले भने । गाडीहरु नखसून् भनेर छेक्न गाडिएका सिमेन्टका खम्बाहरुमा ठोक्किँदै भुजेलको कार त्रिशूलीमा खसेको प्रहरीको अनुमान छ । तर दुर्घटना देख्ने साक्षी भने स्वयं त्रिशूली नदीबाहेक अरु भएन । घाइते अवस्थामा फेला परेका रुद्र सुवेदीले पनि रुखमा अल्झिएको अवस्थामा आफूलाई पाएको प्रहरीलाई सुनाएका छन् । उपचारकै क्रममा भएको हुँदा उनीसँग घटनाबारे थप सोधपुछ नगरेको डिएसपी थापाले सुनाए ।


केही वर्ष पहिला पूर्वगृहमन्त्री माधवप्रसाद घिमिरेलगायत चढेको गाडी नाग्दीखोला इलाकाबाटै त्रिशूलीमा खसेको थियो । २०६७ असोज ६ गते काठमाडौंमा नेपाली कांग्रेसको महाधिवेशनबाट फर्किंदै गर्दा पोखरा ४ का पूर्ववडाध्यक्ष कृष्ण पराजुलीको कार पनि नाग्दीखोला नजिकैबाट त्रिशूलीमा खसेको थियो । त्यति बेला पराजुलीसहित ४ जनाको ज्यान गएको थियो । त्यसअघि पनि त्यही ठाउँको अर्काे दुर्घटनामा पोखराको वैद्य परिवारका सदस्यले ज्यान गुमाएका थिए ।

Advertisement


रुखमा अड्किएँ
व्यवसायी प्रेम भुजेलको कार त्रिशूलीमा खसेर बेपत्ता हुँदा कारमा सवार १ जना यात्रु रुद्र सुवेदी घाइते अवस्थामा फेला परे । उनलाई उद्धार गरी चितवनको भरतपुरस्थित पुरानो मेडिकल कलेजमा उपचार गरियो । शुक्रबार साँझ भने उनलाई त्यहाँकै रेफरमा पोखरा ल्याइएको छ । उनको शरीर भित्र र बाहिर चोट देखिएको छैन । तर जिउ थिलोथिलो भएको छ ।
सुवेदीले प्रहरीलाई बताए अनुसार दुर्घटना कसरी भयो भन्ने भेउ उनले पाएनन् । एक्कासि ड्याम्म आवाज आएको र आफू रुखमा अड्किएको मात्रै याद रहेको उनले सुनाएका छन् । ‘घाइते भएको हुँदा उपचार र उद्धारतिर लाग्यौं, धेरै सोध्ने कुरा भएन,’ जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी सूर्यबहादुर थापाले भने । सुवेदी राष्ट्रिय वाणिज्य संघ पोखरा १७ का अध्यक्ष हुन् ।

तपाईको प्रतिक्रिया