असफलताको चक्रबाट निस्कनुपर्छ राजनीति

सूर्यप्रसाद गैरे पारस २०७८ असोज ९ गते १७:३२
सूर्यप्रसाद गैरे पारस


कुनै पनि प्रकारको असफलता कसैको लागि प्रिय बन्दैन । तर विद्यार्थी र खोजकर्ताहरुका लागि असफलता आगामी सफलता प्राप्तिका लागि सिकाई अवस्य हुन्छ । एउटा ठूलो बिडम्बना नेपाली राजनीतिक खेल एउटा डरलाग्दो असफलताको चक्रमा फस्न पुगेको छ । सबै खेल र पात्रहरु असफल बनेका वा बनाइएका छन् । सफल नेपाली राजनीति स्थापनाका लागि प्रशस्त सिकाइहरु जम्मा भएका छन् । तर ती सिकाइहरु मात्रै थुप्रिएका छन्, प्रयोगमा आउन छाडेका छन् । स्वाभिमान, समृद्ध र सफल नेपालको सपना देख्नेहरुले निकृष्ट राजनीतिक क्रिडा हेरिरहनुपरेको छ ।

राजनीतिलाई फोहोरी राजनीतिको बिल्ला त लाग्दै आएको थियो तर अब बिस्तारै राजनीतिक कर्ममा सहभागी हुनेहरुलाई आम मान्छेले ठग्ने, लुट्ने, ढाँट्ने, छल्ने, भ्रष्टाचार गर्ने जस्ता तल्लो स्तरको काम गर्ने मान्छेको रुपमा टिप्पणी गर्न थालेको पाइन्छ । राजनीति सबै प्रकारका ज्ञानहरुको समुच्च ज्ञान र सबै प्रकारका कामहरुको नेतृत्वदायी काम हो ।

समाज, राष्ट्र र विश्व सत्ता सञ्चालन गर्ने उन्नत एकमात्र कर्म राजनीति माथि यति ठूलो अविश्वास र घृणा पैदा हुनु राष्ट्रको भविष्यमाथि नै सोझिएको गम्भिर सवाल हो । व्यवस्था, सत्ता, दल र पात्र निरन्तर असफल बनाइरहने र भइरहने खेलबाट एउटा व्यक्ति र मानव समाजको सबैभन्दा महत्वपूर्ण विषय समय माथि नै खेलबाड भइरहेको छ । अब हाम्रो जिवनको महत्वपूर्ण समयसँग खेलबाड गर्ने सबै पक्षले हार्ने गरी असफलताको चक्रमा फसेको नेपाली राजनीतिलाई बाहिर निकाल्ने पहलको प्रारम्भ गर्न जरुरी छ ।

Advertisement

पृथ्वीनारायणदेखि ज्ञानेन्द्रसम्म


वर्तमान नेपाली भूराजनीतिको स्थापना गर्ने र यसमाथि शासन प्रारम्भ गर्ने श्रेय मुलतः नेपालको राजतन्त्रलाई जान्छ । विश्वका कतिपय मुलुकहरुमा विशेषतः युरोपमा औद्योगिक क्रान्ति अगाडि बढिरहेको बेलामा तत्कालीन राजा पृथ्वीनारायण शाहले गोर्खा राज्यको बिस्तारको लडाइंलाई अगाडि बढाइरहेका थिए । जतिबेला विश्व एकप्रकारले सामन्तबादबाट अगाडि पुँजीवादतर्फ लम्किरहेको थियो । पृथ्वीनारायण शाहको नेतृत्वमा टुक्रे सामन्ती राज्यहरुको अन्त्य गरेर विशाल नेपाल निर्माणमा वा विश्व मानचित्रमा नेपाल देशको स्थापना त ग¥यो तर झन मजबुत सामन्ती राज्यसत्ताको पनि विकास गर्‍यो ।

Advertisement

कुनै एक आन्दोलन वा अभियानले सबै आयामहरुलाई नसमेट्न सक्छ वा त्यसको उद्देश्य सीमित हुनसक्छ र बाँकी कार्यभार अर्को पुस्ताले पुरा गर्ने मान्यतालाई स्वीकार गर्दा हामीले जे जस्तो अवस्था, स्वरुप र प्रवृत्ति बोकेको भएतापनि नेपाल राज्य स्थापनाको विषयलाई तुलनात्मक रुपमा महत्वपूर्ण मान्नुपर्ने हुन्छ । किनकी पृथ्वीनारायण शाहले तत्कालीन समयमा राज्य विस्तारको महत्वकांक्षा बोकेर अभियान सुरु नगरेको भए वर्तमान नेपालको नक्सा विश्व मानचित्रमा नहुन पनि सक्थ्यो । सँगै इतिहासले देखाउने तत्कालीन परिवेश, पृथ्वीनारायण शाहको पारिवारिक पृष्ठभूमि र उनको वैचारिक अवस्थालाई हेर्दा उनिबाट रुपान्तरणकारी राज्य निर्माणको आशा गर्नु पनि सुहाउँदो देखिँदैन ।

धुमलिएको नेपाली राजनीतिलाई रुपान्तरण गर्न नेतृत्व र दललाई रुपान्तरण गर्न सक्नु पहिलो आवश्यकता देखिएको छ ।

नेपाल राज्य बिस्तारले वर्तमान स्वरुप ग्रहण गर्ने क्रममा र गरिसकेपछि झण्डै १ दर्जन राजाहरुले नेपालको राज्यव्यवस्थाको केन्द्रमा रहेर शासन सत्ता सञ्चालन गर्ने काम गरे । त्यसरी झण्डै साढे २ सय वर्ष राजाहरुले सत्ता सञ्चालन गर्दा उनीहरुले राज्य र जनता केन्द्रित ढंगले नभएर सीमित वर्ग, धर्म र जातको हितमा मात्रै सञ्चालन गर्ने काम गरे । जसले गर्दा राज्यले आधुनिक रुपान्तरणकारी मार्ग समात्न सकेन् । समाजको बद्लिँदो चाहना र आवश्यकतामा दरबार बाधकको रुपमा देखा पर्ने अवस्थामा अन्तिम राजा ज्ञानेन्द्र बन्न पुगे ।

पृथ्वीनारायण शाहपछिका धेरै राजाहरुमा क्षमताको अभाव वा परिस्थितिका बाबजुद गतिशिल सफलताको महत्वकांक्षा नै देखिएन् । राजा महेन्द्र तुलनात्मक रुपमा दृष्टिकोणसहित राजनीतिक हस्तक्षेप गर्दै राज्यसत्ता हातमा लिएको भएपनि समसामयिकताको अभाव र सामन्तवादबाट माथि नउठेको कारण त्यो सत्ता टिक्न सकेन । राजा ज्ञानेन्द्रले बिना दृष्टिकोण सत्ता हातमा लिने प्रयत्न गर्दा राजतन्त्रकै अन्त्य हुन पुग्यो । इतिहासको अध्ययन गर्दा पृथ्वीनारायण शाहपछि राजा त्रिभुवन सम्मका पुस्ताबाट भएका राजाहरु अति असक्षम रुपमा देखिन्छन् भने महेन्द्र र त्यसपछाडिका राजाहरुमा सीमित क्षमता र महत्वकांक्षा देखिए पनि बहुआयामिक क्षमताको अभाव, दृष्टिकोण सीमितता सँगै आन्तरिक र बाह्य हस्तक्षेपका कारण असफल बनेका वा बनाइएका देखिन्छन् ।


बिपीदेखि प्रचण्डसम्म दोहोरिएको असफलता


राजतन्त्र र राणा शासन व्यवस्थालाई अलगथलग बनाउने गरी आन्दोलनको थालनी गर्ने मुख्य पात्रका रुपमा विशेषगरी विशेश्वरप्रसाद कोइराला र पुष्पकमल दाहालको नेतृत्वमा भएको आन्दोलनलाई लिन सकिन्छ । तर ती दुबै पात्रको नेतृत्वमा भएका आन्दोलनमाथि यथार्थ समीक्षा गर्दा जे जस्ता कारणहरु देखिएता पनि असफल भएको देख्न सकिन्छ । जसको मुल कारण आन्दोलनले स्थापित गरेका मुख्य विचार वा मर्मलाई छोड्ने वा एक प्रकारले वा एकतहको आत्मसमर्पण गर्नु हो । बिपीको सम्झौतापरस्त एवं असक्षमताका कारण २०१७ सालको राजनीतिक घट्ना घट्न पुगेको हो । त्यस्तै ०४६ मा बामप्रजातान्त्रिक आन्दोलनको सम्झौताको दस्तावेजका रुपमा आएको रुढीबादी रुझानजन्य संविधानको कारण व्यवस्था असफल भएको हो । ०५२ सालमा प्रचण्डको नेतृत्वमा सञ्चालन भएको माओवादी आन्दोलनको विकासमा बहुआयामिक सफलता देखिएता पनि त्यसको उत्कर्ष समयमा एकप्रकारको आत्मसमर्पण वा असफलताको कारण स्वयं माओवादी आज अति रक्षाको अवस्थामा पुगेको छ ।

नेपाली कंग्रेसको नेतृत्वमा भएको आन्दोलन र माओवादी आन्दोलनले नेपाली राजनीतिमा केही सकरात्मक उपलब्धि भएका छन्, त्यसका बाबजुद ती दुबै आन्दोलनको अवतरणमा देखिएको प्रवृत्तिले नेपाली राजनीतिलाई नै भारी मात्रामा प्रदुषित बनाएको छ । अस्पष्ट व्यवस्था, संविधान, सम्झौतावाद, आत्मसमर्पणवाद, कमजोर राष्ट्रियता र जनअनुत्तरदायी राज्यसत्ता यसका उदाहरण हुन्, जसलाई आज हामीले व्यवहारमा गहिरो गरी अनुभूति गरिरहेका छौं । कुनै पनि देश, व्यवस्था र आन्दोलनको विकास वा विनासमा आन्तरिक र बाह्य दुवै कारण र आवश्यकता हुन्छन् भन्ने कुरालाई राजनीतिक मानिसले अस्वीकार गर्न सकिँदैन । इतिहासका पानाहरुलाई सन्तुलनात्मक ढंगले पल्टाउँदा बिपी र प्रचण्डको नेतृत्वमा विकास भएका आन्दोलनहरुमा पनि आन्तरिक र बाह्य कारणहरु स्पष्ट रुपमा देख्न सकिन्छ । अपरिपक्क राजनीतिक उपलब्धिका बीचमा ति दुबै आन्दोलनलाई आन्तरिक वा बाह्य प्रभावबाट उस्तै प्रकारले असफल बनाइएको देखिन्छ ।


वर्तमान गलत यथार्थ

नयाँ संविधानसँगै देशमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था सञ्चालन भइरहेको छ । नयाँ संविधान कार्यान्वयनका लागि निर्वाचित भएको सरकारको करिब ४१ महिनाको समयवधिमा समृद्ध नेपाल, सुखी नेपालीको महान् कार्यलाई अगाडि बढाउँदै गर्दा पार्टीभित्रबाटै र बाह्य शक्तिको गठजोडका कारण अन्ततः राष्ट्र, राष्ट्रियता, समृद्धिको तिव्र अभिलासा मात्र होइन त्यसै अनुसारको लगाव र परिणाम निकाल्दै गएको केपी शर्मा ओली सरकारलाई समेत अपदस्त गरी असफल भनि प्रचार गरिएको छ । संविधानले स्थापित गरेका नयाँ व्यवस्था र त्यसका केही मूल्य मान्यतामाथि केही पक्षबाट फेरि गम्भीर ढंगले प्रश्न उठाउन थालिएको पाइन्छ । वर्तमान व्यवस्थाको मुख्य कडी संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता र समावेशितामाथि नै प्रश्न उठाउन थालिएको छ । सामान्यतयाः सामाजिक सञ्जालमा अभिव्यक्त भएका स्वतन्त्र धारणाहरुलाई हेर्दा ठूलो नेपाली जमातले यस्तो प्रकारको प्रश्न उठाएको देख्न सकिन्छ । तर ती प्रश्नहरुमा कारण नभएर कुण्ठा र वर्तमान राजनीतिक प्रवृत्तिप्रतिको असहमति देखिएको सजिलै बुझ्न सकिन्छ ।

हिजोका आन्दोलनहरुले बाँडेको सपना र ती सपनाहरुसँग जोडिएका आमजनताका आकांक्षाहरु अनुकुलको व्यवहार जब राज्यसत्ता र नेतृत्वबाट देखिएनन तब असन्तुष्टि स्वाभाविक रुपमा चुलिएको देखिन्छ । आजको दिनमा हामीले देखिरहेका मात्र छैनौ अनुभूति गरिरहेका छौं कि राजनीतिक पार्टीहरु विचारको आधारमा निर्माण र सञ्चालन भइरहेका छैनन् । मुलतः ती अमुक स्वार्थ, व्याक्तिगत स्वार्थ र गुटगत स्वार्थले निर्माण र सञ्चालन भइरहेका छन् । निहित स्वार्थलाई नै केन्द्रमा राखेर नेतृत्वलाई असफल वा क्षणिक सफल बनाउने प्रयत्न भइरहेको छ । नेपाली राजनीतिमा निहित स्वार्थ र गलत राजनीतिक प्रवृत्तिको विकासका कारण नेपाली राजनीति वैचारिक वा राष्ट्रिय उद्देश्यमूलक नभएर प्रयोगशालामा रुपान्तरण हुन पुगेको छ । जसले गर्दा सबै नेतृत्व असफल बन्ने वा बनाइने र व्यवस्था नै असफल बनाइने डरलाग्दो खाडलतर्फ राजनीतिक यात्रा सोझिन खोजेको संकेतहरु देखापर्न थालेका छन् ।

नयाँ बहसको आवश्यकता


नेपाली राजनीतिमा नयाँ बहसको आवश्यकता देखिएको छ । केहि व्याक्ति वा पङ्तीले बैकल्पिक राजनीतिको नाममा धमिलो पानीमा माछा मार्ने उद्देश्य राखेर दल खोलेजस्तो नभएर सँस्थागत भइसकेका राज्य सञ्चालनको जिम्मेवारी लिएका वा अनुभव लिएका दलहरु भित्रनै यो प्रकारको बहसको आवश्यकता छ । ठूला राजनीतिक दलहरुलाई सुधार्ने र साँच्चिकै वैचारिक एवं कार्यक्रमिक राजनीतिक परिवेशको निर्माण गर्ने अभियान सुरु गर्नुपर्ने आवश्यकता हाम्रासामु छ ।

बिना वैचारिक मतभेद निहित स्वार्थका आधारमा एक पक्षले क्षणिक स्वार्थका लागि अर्को पक्षलाई असफल बनाउने अनन्त खेलले सबैलाई असफल बनाउँछ । आज निहित स्वार्थकै कारण विधिको शासन पुरै प्रभावित भएको छ । दलमा स्वार्थ समुहको प्रभावको कारण संविधान बमोजिमका ऐन, कानुन र संरचना निर्माण हुन सकेका छैनन् । व्यवस्था अनुसारको अधिकारको अभ्यास नभएकै कारण संघियता अलोकप्रिय बन्न पुगेको छ भने छरिएको गलत शक्ति अभ्यासका कारण गणतन्त्रमाथि नै प्रश्न उठाउने वातावरण निर्माण भएको छ ।

शासकीय स्वरुप, निर्वाचन प्राणाली, मौलिक अधिकार लगायत कतिपय विषयहरुमा सुधारको अनिवार्यता पक्कै छन् र ति विषयहरुमाथि पनि बहसको प्रारम्भ गर्न जरुरी छ । तर धुमलिएको नेपाली राजनीतिलाई रुपान्तरण गर्न नेतृत्व र दललाई रुपान्तरण गर्न सक्नु पहिलो आवश्यकता देखिएको छ । अन्यथा जस्तो व्यवस्था बनाएता पनि गलत नियतको नेतृत्वमा पुग्यो भने बाँदरको हातमा नरिवल उखान जस्तै हुने कुरालाई नकार्न सकिँदैन । जिम्मेवारी प्राप्त गरेकोलाई सफल बनाउने र असक्षम नै रहेछ भने पुष्ट्याँइका साथ विधिबाट प्रतिस्थापन गर्ने विधि र व्यवहारको कार्यान्वयन गर्ने अवस्था सिर्जना गर्न जरुरी छ । अन्यथा असफलताको चक्रमा हामी सबै पालैपालो पिसिँदै जानेछौं र देशले पनि सँधै गलत राजनीतिक प्रवृत्तिको भारी बोकिरहनुपर्नेछ ।

सूर्यप्रसाद गैरे पारस

गैरे नेकपा एमाले स्याङ्जाका अध्यक्ष हुन् 

तपाईको प्रतिक्रिया