स्वास्थ्य पुर्वाधार

मुक्तिक्षेत्रमा “हाईअल्टिच्युड रेस्क्यु सेन्टर’ पूर्वाधार निर्माण हुने

आर्थिक वर्ष २०७९ को माघ मशान्तसम्म सम्पन्न गर्ने लक्ष्य

सुन्दरकुमार थकाली २०७८ असोज ९ गते २२:०६


जोमसोम—समुन्द्री सतहदेखि ३८ सय मिटर अग्लो उचाईमा अवस्थित प्रसिद्ध धार्मिक स्थल मुक्तिक्षेत्रमा पर्यटक उद्दारका लागि “हाईअल्टिच्युड रेस्क्यु सेन्टर’ निर्माण हुने भएको छ । मुस्ताङका प्रदेश सांसद महेन्द्रबहादुर थकालीको पहलमा संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्रालय अन्तर्गत पर्यटन बिभागले मुक्तिनाथ रानीपौवामा हाईअल्टिच्यु रेस्क्यु सेन्टरको पूर्वाधार निर्माण गर्न लागेको हो ।

Advertisement

मुक्तिनाथमा दुई तले रेस्क्यु सेन्टरको पूर्वाधार निर्माणका लागि पर्यटन विभागले गत वर्षको माघ अघिनै बिस्तृत परियोजना प्रतिवेदन ( डिपिआर ) निर्माण गरिसकेको थियो । कोरोना कहर तथा परियोजनाको ठेक्का सम्झौता लगायतको कामले पूर्वाधार निर्माणको काम अघि बढ्न सकेको थिएन । कोरोनाको दोश्रो भेरियन्टसगै रेस्क्यु सेन्टरको काम प्रभावित बनेको थियो । पछिल्लो समय मुस्ताङमा निषेधाज्ञा खुकुलो पारिएसंगै पूर्वाधारको काम सुरु गरिने जनाईएको छ ।

मुक्तिनाथ रानीपौवामा अब बन्ने हाईअल्टिच्युड आपतकालिन रेस्क्यु सेन्टरको संरचना निर्माणको जिम्मा मिसन कन्ट्रक्सनले जिम्मा लिएका कन्ट्रक्सनका ईन्जिनीयर जगत बुढाले जानकारी दिए ।उनका अनुसार कन्ट्रक्सनले रेस्क्यु सेन्टर पूर्वाधार निर्माणका लागि भ्याट बाहेक २ करोड ६५ लाखमा सम्झौता गरेको थियो । पूर्वाधार निर्माणको लागि १५ महिनाको सम्झौता अवधी तोकिएको र आर्थिक वर्ष २०७९ को माघ मशान्तसम्म सम्पन्न गर्ने लक्ष्य रहेको ईन्जिनीयर बुढाले उल्लेख गरे ।

फोटो क्याप्सन ः १, मुक्तिनाथमा बन्ने हाईअल्टिच्युड रेस्क्यु सेन्टरको नापजाच गर्दै ।

मुक्तिनाथ रानीपौवाको दुई कोठे स्वास्थ्य चौकीको हल पछाडी उक्त पूर्वाधार निर्माण हुनेछ भने संरचना बनेपछि स्वास्थ्यको भवन मासेर गेट निर्माण गरिने छ । रेस्क्यु सेन्टर नाम दिईएको दुई तले पूर्वाधारको लम्बाई २५ मिटर र चौडाई १२ दशमलव ५ मिटर रहने इन्जिनीयर बुढाले जानकारी दिए । दुई तले रेस्क्यु सेन्टरको ग्राउण्ड फ्लोरमा ५ वटा र माथिल्लो फ्लोरमा ४ वटा कोठाहरु हुनेछ ।

जसमध्ये ग्राउण्ड फ्लोरमा ओपिटी कक्ष, ईमरजेन्सी कक्ष, ,मेनेजमेन्ट कक्ष र एक्जामिनेसन कक्ष रहने छन् भने माथिल्लो फ्लोरमा आसियु कक्ष,मेडिकल स्टोर, स्टाप रुम र कोठाहरु हुनेछन् । यस्तै ,माथिल्लो फ्लोरमा ३ वटा कमन ट्वाईलेट र बाथरुम निर्माण हुने कन्ट्रक्सनका ईन्जिनीयर बुढाले बताए ।

Advertisement

शनिबार गण्डकी प्रदेशका सांसद महेन्द्रबहादुर थकालीसहित कन्ट्रक्सनका प्रतिनिधि र स्थानीयबासीको संयुक्त टोली नयाँ बन्ने रेस्क्यु सेन्टर पूर्वाधारको स्थान अवलोकन गरे । टोलीले साविकको डिजाईनमा आशिंक परिवर्तन गरी पूर्वाधार निर्माण गर्नुपर्ने सुझाव दिएको छ । यस्तै ,सो स्थानमा बिजुलीको पोल र दुई वटा रुखहरु व्यवस्थित गर्नुपर्ने भएकाले यसको व्यवस्थापन गर्न स्थानीय गाउ समाजलाई अनुरोध गरेको छ । मुक्तिनाथमा बन्ने रेस्क्यु पूर्वाधार निर्माणको काम दशै लगत्तै सुरु गरिने कन्ट्रक्सनले जनाएको छ ।

हिन्दु तथा बौद्धमार्गीहरुको साझा तिर्थ स्थल मुक्तिनाथ मन्दिरमा स्वदेशी तथा विदेशी भक्तजनहरु उल्लेख्य रुपमा आउने गर्छन । मुक्तिनाथमा आवश्यक स्वास्थ्य पूर्वाधार तथा जनशक्ति नहँुदा मुक्तिनाथमा दर्शन गर्न जाने धार्मिक पर्यटकलाई अल्टिच्यड लाग्दा समस्या हुने गरेको थियो । विगतमा मुक्तिनाथमा आपत्कालिन उद्दार तथा बिरामीको उचित समयमा उपचार नहँुदा अल्टिच्युडका बिरामीले अकालमा ज्यान गुमाउनु पर्ने बाध्यता थियो ।
यस्तै, मुक्तिनाथमा रेस्क्यु सेन्टर स्थापना भएमा राउण्ड अन्नपूर्ण पदयात्रा गर्ने पर्यटक तथा स्थानीयबासीलाई समेत स्वास्थ्य उपचारमा सहयोग पुग्ने मुक्तिनाथ रानीपौवाका गाउँ मुखिया कर्माछिरिङ गुरुङले उल्लेख गरे । मुक्तिनाथमा बर्सेनि झन्डै ३ लाख धार्मिक पर्यटक तथा ६० हजार बिदेशी पर्यटक दर्शनका लागि पुग्ने गरेका छन् ।

सुन्दरकुमार थकाली

थकाली समाधान दैनिकका मुस्ताङ संवाददाता हुन्  

तपाईको प्रतिक्रिया