
सप्तरी । यहाँ पोखरीमा डुबेर पाँच दिनको अवधिमा छ जनाको मृत्यु भएको छ । प्रत्येक दिनजसो पानीमा डुबेर मृत्यु हुन थालेपछि जिल्लावासी शोकाकुल र चिन्तित भएका छन् ।
शम्भुनाथ नगरपालिका–१२ अर्नाहा टोल बस्ने महानन्द सरदारका छोरा दुई वर्षीय रामपुकारको शनिबार राति पोखरीमा डुबेर मृत्यु भयो । घर पछाडि रहेको पोखरीमा डुबी बेहोस भएका उनलाई उपचारका लागि राजविराज ल्याउँदै गर्दा बाटोमा नै मृत्यु भएको परिवारका सदस्यले जानकारी दिएका छन् ।
शव परीक्षणका लागि गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा राखिएको छ । आज शव परीक्षण गरी अन्य थप अनुसन्धान कार्य गरिने जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले बताउनुभयो । यसअघि शुक्रबार विष्णुपुर गाउँपालिका–५ मा खेलिरहेका आजाद अलीका तीन वर्षीय छोरा रहमतको पोखरीमा डुबेर मृत्यु भएको थियो ।
महदेवा गाउँपालिका–२ अकबरपुरकी रामचरित्र मण्डलकी पाँच वर्षीया छोरी शिवानीको बुधबार नुहाउने क्रममा पोखरीमा डुबेर मृत्यु भएको प्रहरीको तथ्याङ्कमा छ । महदेवा गाउँपालिका–४ परसाहीस्थित सार्वजनिक पोखरीमा मङ्गलबारसमेत भाँडा पखाल्न गएका बेला अमृत सदाकी छोरी ३० वर्षीया अविवाहिता लक्षनकुमारीको डुबेर मृत्यु भयो ।
सोही दिन खड्ग नगरपालिका–८ मुसहरनियामा रहेको आफ्नै पोखरीमा राजेशकुमार चौधरीकी छोरी तीन वर्षीया एलिजाकुमारी डुबिरहेको अवस्थामा मृत फेला परिन् । सोही दिन तिलाठी कोइलाडी गाउँपालिका–२ लौनियाकी भतो मन्सुरीकी छोरी १२ वर्षीया सवाना खातुनको नहरमा कपडा धुने क्रममा डुबेर मृत्यु भयो ।
योसमेत आव २०७८÷०७९ मा जिल्लामा पोखरीमा डुबेर मृत्यु हुनेको सङ्ख्या १५ पुगेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार मृत्यु हुनेमा सात बालक, चार बालिका, दुई पुरुष र दुई महिला छन् ।

राष्ट्रिय समाचार समिति (रासस)
रासस नेपाल सरकार स्वामित्वको समाचार एजेन्सी हो ।








पर्यटकीय गन्तव्यका रुपमा विकास हुँदै चांगा
कटुवा पेस्तोलसहित एक जना पक्राउ
दोभान कपमा पहिलो चरणका खेल
रास्वपाद्वारा गण्डकी प्रदेशका समानुपातिक उम्मेदवारको प्रारम्भिक सूची सार्वजनिक
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया