विश्व पर्यटन दिवस

युएन नेपाल स्थित आवासीय प्रतिनिधिको टिकटकः नेपाल सुन्दर छ, घुम्न आउनु (भिडियाेसहित)

अनिष भट्टराई २०७८ असोज ११ गते १४:३४

पछाडि अन्नपूर्ण, माछापुच्छ्रे, धवलागिरी लगायतका हिमालहरु उभिएका छन् । सूर्योदयको मनमोहक दृश्य टिकटककै भिडियोमा हेर्दा पनि निकै लोभलाग्दो देखिएको छ ।

त्यसको अगाडि उभिएकी छिन्, संयुक्त राष्ट्र संघको नेपालस्थित आवासीय प्रतिनिधि सराबे सलोनयन्ति । उनी गदगद देखिन्छिन् । उनले नेपालका हिमाल, सूर्योदय, सराङकोटको बखान गर्दै भिडियो बनाएकी छन् ।

५५ सेकेन्डको भिडियोमा सलोयन्तिले नेपाल पर्यटनका लागि खुल्ला रहेको सन्देश दिएकी छन् । उनले नेपालको संस्कृति, प्रकृति महशुस गर्नुपर्ने भन्दै नेपाल घुम्न आउन आग्रह गरेकी छन् ।

Advertisement

उनले भनेकी छन्, ‘म यहाँ गण्डकी प्रदेशमा छु, कुटनीतिक मिसनका लागि । कोभिड महामारी पछिको पर्यटनलाई उठाउने उद्धेश्यले आयोजित कार्यक्रममा भाग लिन आएकी छु । नेपाल पर्यटनमा निर्भर छ । दिगो पर्यटन, पहुँचयोग्य पर्यटन, समावेशी पर्यटनले नेपालको विकास र दिगो विकासका लक्ष्य हासिल गर्न सहयोग गर्छ । म यहाँ कुटनितिक सम्बन्धका लागि नेपाल आएकाले यहाँ (पोखरा) आउन पाएको थिइनँ । तर म आज यहाँ आएकी छु । मेरो पछाडि सुन्दर हिमाल छन् । यहाँबाट सूर्योदय पनि देख्न पाइने रहेछ र अहिले सराङकोटबाट निकै राम्रो सूर्योदय देखिएको छ । म यहाँ आएर गर्वका साथ भन्न सक्छु नेपाल पर्यटनका लागि खुल्ला छ । यदि तपाईं प्रकृतिलाई महशुस गर्न चाहनुहुन्छ भने नेपाल आउनुहोस् । यदि यहाँको संस्कृति जान्न मन छ भने नेपालका गाउँ आउनुहोस् । विश्व पर्यटन दिवसको शुभकामना ।’

पोखरामा अहिले ११ देशका राजदूतसँगै अन्य कुटनितिक नियोगका प्रमुखहरु छन् । कतार, साउदी अरेयिबा, दुवई, दक्षिण कोरिया, थाइल्याण्ड, बंगालदेश, इजिप्ट, जर्मनी, मलेसिया लगायत देशका राजदूत, कुटनीतिक नियोगका उच्च पदस्थ प्रतिनिधि गरी आज २८ सदस्यीय टोली पोखरा आइपुगेका हुन् ।

Advertisement

विश्व पर्यटन दिवसका अवसरमा पोखरा सडक महोत्सवमा सहभागी हुनुका साथै कास्कीकोट, सराङकोटको पदयात्राका लागि उनीहरु पोखरा आएका हुन् । गण्डकी प्रदेश सरकारको विशेष निम्तोमा पोखरा आएका यी प्रतिनिधिहरु सोमबार बिहान कास्कीकोट, सराङकोट, अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालय घुमेका छन् ।

पोखराको लेकसाइडमा रेन्टुरेन्ट एन्ड बार एसोसियसन (रेवान) पोखराले १ दिने मिनी सडक महोत्सव गर्दैछ । राजदूतहरुको टोलीलाई महोत्सवमा सहभागी गराएर पोखराको पर्यटन क्षेत्र सुरक्षीत भएको सन्देश दिने पोखरा पर्यटन परिषदका अध्यक्ष गोपीबहादुर भट्टराईले बताए । लामो समय देखि थला परेको पोखराको पर्यटन क्षेत्रलाई उकास्न विश्व पर्यटन दिवसको अवसरमा राजदूतहरुको सहभागिताले पर्यटन क्षेत्रलाई केही राहत पुग्ने पर्यटन व्यवसायी बताउँछन् ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्

https://vm.tiktok.com/ZSeeJvpuK/

अनिष भट्टराई

भट्टराई समाधान दैनिक र समाधानन्युज डटकमका संवाददाता हुन् ।

तपाईको प्रतिक्रिया