चुनौतीबिनाको जीन्दगी, के जिन्दगी

अनिष भट्टराई २०७८ असोज १३ गते १२:१६


पोखरा- लेकसाइडको व्यस्त सडक । ठूला साना गाडी आफ्नै बेगमा हुँइकिरहेका थिए । सोही बाटोमा ठूला गाडीको परवाह नगरी साइकल कुदाइरहेका थिए, गगनगौंडाका विशाल गर्बुजा । साइकल चलाउनु धेरैका लागि सामान्य हुन सक्छ, तर गर्बुजा (२०) का लागि भने होइन ।
गर्बुजाको देब्रे हातको कुइँनोमुनिको भाग छैन । त्यही पनि गर्बुजा अरुले झैं नै साइकल कुदाउँछन् । पाइडल ठेल्दै, १ हातले साइकल सन्तुलित बनाएर पोखराका सडकमा निस्कन्छन् उनी । एउटा हात नभए पनि उनको साइकल चलाउने इच्छा मरेन । किनकी साइकल कुदाउनु उनको सानैदेखिको शोख हो ।


गर्बुजा व्यस्त पोखराको कोलाहलबाट केही पर गगनगौंडामा जन्मे, हुर्के । साथीहरु सबै राम्रा र बुझेका थिए । जन्मँदै हात नभए पनि उनले विद्यालय र छरछिमेकमा कहिल्यै दुव्र्यवहार भोग्नु परेन । बरु साथीहरुको भरपुर साथ पाए । साइकल कुदाउने धोको पनि साथीहरुकै कारण पूरा भयो । उनी सम्झन्छन्, ९ वर्ष हुँदाका ती दिन । जब उनका साथीहरु उनलाई साइकल सिकाउन मरिहत्ते गरेर लागेका थिए ।
‘दुई जना साथीले ह्यान्डल समाइदिने, १ जना पछाडि बसिदिने गर्थे अनि म अगाडि बसेर चलाएको जस्तो गर्थें,’ गर्बुजा विस्मृतिमा पुग्छन् । साथीहरु पनि साइकल चलाउन सधैं सिकाउन सक्दैनथे । महिनामा १÷२ पटकमात्र गर्बुजाले साइकल सिक्न पाउँथे । कहिले २ महिना नै कुर्नु पथ्र्यो ।


साइकल सिक्न उनलाई १ वर्ष नै लाग्यो । सुरुमा चलाउँदा उनलाई गाह्रो भएको याद ताजै छ । हिरो रोयल साइकल चलाएका थिए गर्बुजाले सुरुमा । अग्लो साइकल, धान्नै फसाद पथ्र्यो । उहिमाथि १ हातले मात्र चलाउनुपर्ने । सुरुमा चलाउँदा देब्रे हातलाई ब्रेक र समाउने ह्यान्डलमा राख्थे । अफरोडमा चलाउँदा हातको छाला नै उप्किएको थियो । ‘सुरुमा सिक्न निकै गाह्रो भएको थियो, देब्रे हातमा बढी प्रेसर परेपछि दाहिने हातले मात्र ह्यान्डल गर्न सिकें,’ गर्बुजा सुनाउँछन् ।

Advertisement


साइक्लिङसँगै उनी अरु खेलकुद पनि उत्तिकै रुचाउँछन् । फुटबल, ह्यान्डबल, टेबलटेनिस पनि खेल्छन् । ज्ञानज्योति विद्या कुञ्ज माध्यमिक विद्यालयमा पढ्दा उनी ‘स्कुल टिम’ बाट पनि खेलेको सम्झन्छन् । कक्षा ७ मा हुँदा बाट नै विद्यायलको टिमबाट खेल्न थालेपछि उनलाई खेलकुदको भोक बढ्दै गयो । १० कक्षामा हुँदाचाहिँ खेलाडी बन्ने धोको बढेपछि अहिले त्यहीतर्फ मोडिएका छन्, गर्बुजा ।


१० कक्षामा विद्यालयबाट खेलेको १ प्रतियोगिताले उनको खेलतर्फको मानसिकता नै परिवर्तन गरिदियो । ओलम्पिक दिवसका दिन कास्कीमा आयोजित अन्तर विद्यालय ह्यान्डबल प्रतियोगितामा १ हातले मात्र खेले । तर पनि उनी प्रतियोगिताको ‘आउटस्ट्यान्डिङ प्लेयर’ बन्न सके । उनलाई सो उपाधिका साथ नगद पुरस्कार पनि दिइयो । अहिलेका गण्डकी प्रदेश खेलकुद परिषद सदस्य सचिव तेज गुरुङ त्यति बेला नेपाल ह्यान्डबल संघका अध्यक्ष थिए । गुरुङको पहलमा गर्बुजालाई आर्थिक सहयोगसमेत जुट्यो ।

Advertisement


खेलबाट पहिलो पटक पुरस्कृतसहित आर्थिक सहयोग नै पाएपछि गर्बुजालाई लाग्यो– खेलकुदबाट केही गर्न सकिन्छ । उनी १० कक्षापछि फुल टाइम नै खेलुकदलाई दिइरहेका छन् । भन्छन्, ‘खेलकुदकै माध्यमबाट परिवार पाल्ने, पहिचान कमाउने सामथ्र्य राख्छु भन्ने लाग्छ ।’
गर्बुजा प्लस टु पढाइ सकेपछि काठमाडौं लागे । काठमाडौंमा डेरा लिएर बसेका छन्, दाइसँग । प्लस टु सकेर लगातार साइक्लिङ गरिरहे पनि उनीसँग आफ्नै साइकल भने थिएन । साइकल भाडामा लिएर साइक्लिङ गर्थे । उनी पहिलो पटक ‘लङ राइड’ मा गएको भनेको बुटवलदेखि पाल्पासम्म हो । उनी एक समूहसँग सो राइडमा गएका थिए । पछि त्यहाँबाट फर्किएर ५० किलोमिटर काठमाडौं कोरामा गए ।


उनको साइक्लिङ मोह देखेर इन्दिरा रानाले साइकल सहयोग गरिन् । त्यसपछि गर्बुजाले भाडाको साइकल चढ्नु परेन । काठमाडौंबाट पोखरा आए, पोखरा वरपरका सबै ठाउँ साइकलमा गए । गर्बुजालाई २०१९ को टुर दि पोखराको ब्रान्ड एम्बासेडर बनाइयो । ‘पोखराका दाइहरुसँग साइक्लिङ जान पाएँ । म पोखराको धेरै ठाउँ साइकलमा घुमेको छु, कतै काममा जान परे पनि साइकल नै चढ्छु,’ गर्बुजा भन्छन् ।


फेरिएको नजर

प्लस टु सकेर काठमाडौं गएपछि विशालको जिन्दगीले नयाँ मोड लिएको छ । उनी साइक्लिङसँगै पारा तेक्वान्दोमा पनि आकर्षित भए । पोखराका युग लामाको सहयोगमा उनले काठमाडौंमा पारा तेक्वान्दो प्रशिक्षकसँग भेटे । पारा तेक्वान्दोमा पनि केही ठूलो गर्ने धोको विशालको छ ।
पारा तेक्वान्दोमा उनका आइडल हुन्ः पलेसा भारद्वाज । पलेसाले नेपालका लागि ओलम्पिकमा सबैभन्दा राम्रो प्रदर्शन गरेकी थिइन् । पारा ओलम्पिकमा तेक्वान्दोतर्फ उनी काँस्य पदकका लागि खेलेकी थिइन् । गर्बुजा पनि पलेसाले झैं विश्व मञ्चमा नेपाललाई चिनाउन चाहन्छन् । ‘नेपाललाई रिप्रिजेन्ट गर्ने मेरो धोको छ, पारा तेक्वान्दोबाट नेपाललाई पदक दिलाउन चाहन्छु,’ उनी भन्छन् ।


उनलाई आफू अरुभन्दा फरक छु भन्ने थाहा छ । उनले यसैलाई आफ्नो शक्ति मान्छन् । ‘म फरक क्षमता लिएर जन्मिएकोमा एकदमै गर्व लाग्छ । यसैका कारण पनि मैले धेरै मौका पाएको छु र मानिसहरुको राम्रो प्रतिक्रिया पाएको छु,’ थप्छन्, ‘मैले थोरैमात्रै पनि केही गरें भने अरु मानिसले पाउने प्रतिक्रियाभन्दा निकै राम्रा प्रतिक्रिया पाउँछु ।’


चुनौती नभए मानिसलाई प्रगति गर्ने इच्छाशक्ति नआउने उनको धारणा छ । जीवनलाई साइक्लिङसँगै जोडेर हेर्छन् । ‘पिच रोडमा सरर चलाउँदा त गाह्रो हुँदैन, तर अफ रोडमा चलाउँदा घच्याकघुचुक हुन्छ, बचाएर चलाउने प्रेसरले झनै रोमाञ्चक हुन्छ नि, त्यसरी नै जिन्दगीमा पनि केही च्यालेन्ज त चाहियो नि,’ उनी थप्छन् ।

अनिष भट्टराई

भट्टराई समाधान दैनिक र समाधानन्युज डटकमका संवाददाता हुन् ।

तपाईको प्रतिक्रिया