म्याग्दीका ४ पालिकामा सर्वसम्मत, २ मा चुनाव

समाधान संवाददाता २०७८ असोज १३ गते १२:४४

राकेश शर्मा
म्याग्दी-नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत म्याग्दीका ४ पालिामा सर्वसम्मत नेतृत्व चयन भएको छ भने २ पालिकामा मतदानबाट नेतृत्व चुनिएको छ ।


जिल्लाका ६ स्थानीय तहमध्ये बेनी नगरपालिका र अन्नपूर्ण गाउँपालिकामा मतदानबाट नेतृत्व चयन भएको छ । ६ स्थानीय तहमध्ये ४ स्थानीय तहमा युवाले नै नेतृत्व लिएका छन् । अन्नपूर्ण र मंगला गाउँपालिकामा केश फुलेका सभापति भए पनि धवलागिरी, मालिका, रघुगंगा र बेनी नगरपालिकामा युवाले नेतृत्व लिएका छन् ।


मंगलाका नरसिंह केसी र अन्नपूर्णका बलबहादुर पुन सभापति बने । धवलागिरीमा प्रेम पुन, मालिकामा खिमबहादुर पुन, रघुगंगामा मनकुमार शेरपुजा र बेनी नगरमा रवि कार्की चुनिए । गत भदौ १८ गते भएको नेपाली कांग्रेसको वडा अधिवेशनमा समेत अधिकांश वडामा युवाले जितेका थिए ।

Advertisement


बेनी नगरपालिकाको नेतृत्वका लागि विक्रम बोगटी र रवीन्द्र कार्की (रवि) प्यानल बनाएर चुनावी प्रतिश्पर्धामा थिए । आइतबार भएको निर्वाचनमा ८ मतले बोगटीलाई पछि पार्दै रवि विजयी भए । कार्कीले ७६ मत र बोगटीले ६८ मत पाएका थिए । उपसभापतिमा हरि पौडेल र गंगाबहादुर खत्री विजयी बने । पौडेलले ७३ र खत्रीले ७२ मत पाए ।


सचिवमा ज्ञानेन्द्र श्रेष्ठ झलक जिसी चुनिए । सहसचिवमा स्यानीमाया कार्की (८१ मत) र शान्ति शर्मा (७५ मत) विजयी भएको निर्वाचन अधिकृत निरञ्जनराज भण्डारीले जानकारी दिए । नगर समितिका लागि देउवानिकट जिल्ला सभापति खमविर गर्बुजा पक्षबाट कार्की र वरिष्ठ नेता रामचन्द्र पौडेल निकट निवर्तमान जिल्ला सभापति रेशम बानियाँ पक्षबाट बोगटीले प्यानल उम्मेदवारी दिएका थिए । कार्की प्यानलबाट सभापतिसहित १ उपसभापति र १ सचिव विजयी हुँदा बोगटी प्यानलबाट १ उपसभापति, १ सचिव र २ सहसचिव समितिमा परेका छन् ।

Advertisement


अन्नपूर्ण गाउँपालिका सभापतिमा १ मतको अन्तरले बलबहादुर तिलिजा चुनएि । १ सय २८ मतदातामध्ये १ सय १७ मत खसेकोमा २ मत बदर भएको थियो । ५८ मत ल्याएर सभापतिमा निर्वाचित तिलिजाका प्रत्यासी कृष्णप्रसाद बरुवालले ५७ मतमा चित्त बुझाए । उपसभापतिमा राजेश तिलिजा र अर्जुन गुरुङ, सचिवमा टुकबहादुर फगामी र ललिता तिलिजा, सहसचिवमा गोपाल पुर्जा र धनबहादुर पाइजा सर्वसम्मत भएका छन् ।
दरबाङमा भएको मालिकाको अधिवेशनले खिम पुनको सभापतित्वमा ४५ सदस्यीय कार्यसमिति सर्वसम्मत छानेको छ । उपसभापतिमा वीरेन्द्र पुन र मिम पुन, सचिवमा वीरेन्द्र किसान र ताराबहादुर रोका, सहसचिवमा श्यामबहादुर बुढाथोकी र अमृत सापकोटा छन् ।


मंगला गाउँपालिकाको अधिवेशनबाट नरसिंहबहादुर खत्रीको अध्यक्षतामा ३५ सदस्यीय कार्यसमिति सर्वसम्मत भएको छ । उपसभापतिमा भागिरथ उपाध्याय र बिलबहादुर पुन, सचिवमा चित्रराज आचार्य र वीरेन्द्र बुढाथोकी, सहसचिवमा नेत्रराज सुवेदी र बिमल सुनार छन् । घट्टेखोलामा भएको अधिवेशनबाट प्रेम पुनको अध्यक्षतामा धवलागिरी गाउँपालिकाको ५४ सदस्यीय कार्यसमिति चुनिएको छ । उपसभापतिमा हरि छन्त्याल र प्रेम विक, सचिवमा नगेन्द्र मल्ल र देबेन्द्र रोका, कोषाध्यक्षमा बुद्धिमान शेरपुञ्जा र सहसचिवमा कमल खत्री र रोशन थापासहित सबै सर्वसम्मत भए ।

रघुगंगा गाउँपालिकाको अधिवेशनबाट मनकुमार शेरपुञ्जाको अध्यक्षतामा नयाँ कार्यसमिति छानिएको छ । उपसभापतिमा निरज भण्डारी र केशव छन्त्याल र देउप्रसाद पुन, सचिवमा सीता कुमारी खड्का सुवेदी, मोहन तिलिजा र खिमबहादुर फगामी छन् । सहसचिवमा भीमबहादुर कार्की, रीति थजाली र कोषाध्यक्षमा ओमकुमारी फगामी छन् । विधानमा २÷२ उपसभापति र सचिव रहने प्रावधान भए पनि सहमतिमा ३÷३ जना चुनिएको निर्वाचन समितिले जनाएको छ ।

तपाईको प्रतिक्रिया