तातोपानी कुण्डमा भीड

प्राकृतिक चिकित्सालयका नामले चर्चित म्याग्दीको बेनी नगरपालिका–४ सिंगामा रहेको तातोपानी कुण्डमा नुहाएर निको हुन आउने बिरामीको भीड लागेको छ ।
कोरोनाको दोस्रो लहर देखिएपछि पाँच महिनासम्म बन्द भएको तातोपानी कुण्ड यही असोजको पहिलो सातादेखि खुला गरिएपछि उपचारका लागि यहाँ नुहाउन आउने बिरामीको भीड लागेको हो ।
नयाँ भेरियन्टसहितको कोभिड–१९ को सङ्क्रमण बढेसँगै वैशाखको तेस्रो सातादेखि तातोपानी कुण्ड बन्द गरिएको थियो । जिल्ला प्रशासन कार्यालयले स्वास्थ्य मापदण्ड पालना गरेर तातोपानी कुण्ड खुला गर्न अनुमति दिएपछि तातोपानी कुण्ड व्यवस्थापन समितिले असोज पहिलो सातादेखि सर्वसाधारणका लागि खुला गरेको हो ।
पछिल्लो समय कोरोना भाइरसको सङ्क्रमण घट्दै गएकाले उच्च स्वास्थ्य सतर्कता अपनाएर कुण्ड खुला गरिएको र आगामी दिनमा अझै व्यवस्थित बनाउँदै लैजाने पहल सुरु भएको कुण्ड व्यवस्थापन समितिका सचिव कुमार केसीले जानकारी दिए । समितिका सचिव केसीका अनुसार कुण्ड खुलेसँगै दैनिक डेढसयदेखि दुईसयको हाराहारीमा बिरामी कुण्डमा नुहाएर रोग निको गराउन आउने गरेका छन् । कोभिडविरुद्धको खोप लगाएको कार्ड वा नेगेटिभ रिपोर्टको प्रमाण देखाएर मात्र कुण्डमा प्रवेश दिइने गरिएको छ ।
केही दिनयता बिरामीको चाप बढ्दै गएपछि कुण्डमा प्रवेश गर्दा अनिवार्यरुपमा माक्स लगाउनुपर्ने, स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्नुपर्ने र भीडभाड गर्न नहुने नियमलाई कडाइका साथ कार्यान्वयन गरिएको केसीको भनाइ छ । अहिले कुण्डमा आउने बिरामीलाई आलोपालो गरेर नुहाउने व्यवस्था मिलाइएको उहाँले जानकारी दिए।
अहिले विशेष गरी म्याग्दी र छिमेकी जिल्लाका बिरामी उपचारका लागि यहाँ आएका छन् । टाढाटाढाका बिरामी नआएका भए पनि सङ्क्रमण दर कम हुँदै गएकाले र वातावरण सहज बन्दै गएकाले बिरामी बढ्ने आकलनका साथ समितिले व्यवस्थापन तथा स्वास्थ्य सावधानीका उपायबारेमा सतर्कता अपनाएको व्यवस्थापन समितिले जनाएको छ ।
पश्चिमबाट पूर्वतर्फ बगेको म्याग्दी नदीको किनारमा अवस्थित तातोपानी कुण्डमा प्राकृतिकरुपमा नै जमिनभित्रबाट ५० डिग्री सेल्सियस तापक्रमको पानी निस्कने गर्दछ । विरेनुनको गन्धमिश्रित तातोपानीमा अनौठो किसिमको नुनिलोपना पाइन्छ । त्यस्तो पानी पिउँदै तातोपानी कुण्डमा बिहान तीन घण्टा र बेलुकी तीन घण्टाका दरमा सातदेखि दश दिनसम्म नुहाएमा बाथरोग, ढाड दुख्ने, ग्यास्ट्रिक, चर्मलगायत रोग निको हुने विश्वास गरिन्छ ।









जनप्रिय क्याम्पसको गरिमा कायम राख्छुः राजेन्द्र
व्यावसायिक कृषिमा रमाउँदै ढकाल परिवार
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
‘विमानस्थलमा ट्याक्सीको मनोमानी रोक’
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया