महानगर, सिँचाइ र आयल निगमले काम नगर्दा पाेखरा विमानस्थल सञ्चालन मिति सर्दै

अनिष भट्टराई २०७८ असोज १४ गते १३:५८

महानगरले ल्यान्डफिल साइट बनाउन ढिलाइ, देखाएको जग्गा प्रयोग नगरि अन्यत्र खोज्दा ढिलाइ
विमानस्थलमा आयल डिपो बनाउनुपर्नेमा नेपाल आयल निगम गम्भीर भएन, २ वर्षसम्म पत्राचार गरेपछि बल्ल डिजाइनिङ सकेर टेन्डर
रिठ्ठेपानी डाँडाको सरकारी जग्गाका रुख र डाँडा काट्न पुरक इआइए गर्नुपर्ने झन्झटले ढिलाइ
सिँचाइको व्यवस्था चुस्त नहुँदा पूर्वी भेगमा पहिरो, व्यवस्थापन गर्दा ३४ करोड भार

पोखरा । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम ८४ प्रतिशत सकिएको छ । विमानस्थल निर्माणमा अहिले प्राविधिक कामहरु भइरहेका छन् । विमानस्थल निर्माण आयोजना प्रमुख विनस मुनकर्मीका अनुसार अहिले नेभिगेसन, मेटेरोलोजिकल तथा सर्भेलेन्सको कामहरु भइरहेका छन् । विमानस्थलको घेराबार गर्ने काम पनि अहिले चलिरहेको छ । टर्मिनल, ह्याङ्गरसँगै १४ भवनको निर्माण सकिएको छ । अब काम बाँकी छ त केवल विद्युत जडानको ।

विमानस्थलमा अहिले १८५ चिनियाँ र २३० नेपालीले काम गरिरहेका छन् । असारसम्म निर्माण सकिने भनिएको विमानस्थलको निर्माण अवधि २०२२ जुलाई १० (२०७९ असार २६) सम्म बढाइएको छ । विमानस्थलहाताको काम तीव्र गतिमा बढिरहँदा बाहिरका काम भने भएका छैनन् । महानगर, सिँचाइ डिभिजन कार्यालय र नेपाल आयल निगमको ढिलासुस्तीका कारण विमानस्थल सञ्चालनको समय अझै लम्बिने देखिन्छ ।

Advertisement

विमानस्थल पूर्वपट्टिको रिठ्ठेपानी डाँडा काट्नुपर्ने भएपनि अहिलेसम्म थोरै ताछिएको मात्रै छ, आवश्यक मात्रामा काटिएको छैन । सरकारी वनको पुरक वातावरणीय प्रभाव मूल्यांकन (इआइए) गर्नुपर्ने बाध्यता रहेपछि झनै ढिलाइ भएको आयोजना प्रमुख मुनकर्मी बताउँछन् । यसका लागि सुरुमा त्यहाँका रुखहरुको लगत संकलन गर्नुपर्नेमा डिभिजन वन कार्यालयले कोभिड देखाउँदै काम ढिला गरेको आरोप विमानस्थल आयोजनाको छ । लगत संकलन र पुरक इआइएका लागि अहिले अध्ययनकै चरणमा छ । ‘कानुनी अड्चनका कारण पनि विमानस्थल सञ्चालनमा ढिलाइ हुन सक्छ,’ मुनकर्मीले भने ।

विमानस्थलभित्र आयल डिपो निर्माणमा नेपाल आयल निगम पनि ढिलासुस्ती गरिरहेको छ । विमानस्थल आयोजना प्रमुख मुनकर्मीका अनुसार आयल निगमलाई पटकपटक पत्राचार गरेपनि डिपो निर्माणको कामलाई अघि बढाइएको छैन । डिपो निर्माणका लागि विमानस्थलले जग्गा छुट्याएको छ । विमानस्थलले २ वर्षदेखि पत्राचार गरिरहे पनि निगम भने बल्ल टेन्डर प्रक्रियामा गएको छ । ‘२ वर्षबाट लगातार पत्राचार, फोन सम्पर्क ग¥यौं, बल्ल डिजाइनिङ, ड्रइङको काम सकेर टेन्डरमा गएका छौं भन्नुहुन्छ, मन्त्रालयस्तरबाट निर्देशन दिनुप¥यो,’ मुनकर्मीले भने ।

Advertisement

विमानस्थल सञ्चालन गर्न नजिकैको ल्यान्डफिल साइटलाई हटाउनुपर्ने हुन्छ । विमानस्थलबाट २ किलोमिटरको दूरीमा ल्यान्डफिल साइट भएकाले विमानस्थल सञ्चालनमा आइहाले पनि विमान चरासँग ठोक्किन सक्ने खतरा अर्थात् बर्ड हाजार्ड हुने मुनकर्मी बताउँछन् । ल्यान्डफिल हटाउन विमानस्थल आयोजना कार्यालयले महानगरलाई पटकपटक पत्राचार गरेपनि काम भने हुन सकेको छैन ।

आइकाओ एसिया प्यासिफिक वन्यजन्तु तथा चरा नियन्त्रण कार्यक्रमका अध्यक्ष तथा नागरिक उड्यन प्राधिकरण प्रालिका निर्देशक सहितको टोलीले रंगेडाँडामा ल्यान्डफिल साइट बनाउन सकिने प्रतिवेदन दिएको थियो । तर महानगर भने प्रतिवेदन बेवास्ता गर्दै अहिलेसम्म पनि ठाउँ खोजी गरिरहेको बताउँछ । ‘अर्को ठाउँ खोजी गरेका छौं, त्यसको प्रतिवेदन आउन बाँकी छ,’ महानगरका एक अधिकारी भन्छन् ।

निर्माणाधीन पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको पूर्वीभागमा वर्षेनी पहिरो खस्छ । पानीको निकास व्यवस्थित नहुँदा बाढी पनि जाने गरेको छ । गएको असार अन्तिम साता पोखरा १४ मझेरीपाटनमा बाढी आयो । साधना मार्गका २५ घर डुबानमा पर्ने खतरा थियो, बीचमै ढल फुटेर पानी अन्यत्र बगेपछि खतरा ट¥यो ।

यहाँ पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट ४ किलोमिटर उत्तर मनिपाल अस्पताल, काहुँखोलादेखि ५ सय हेक्टर जग्गाबाट बग्ने पानी र नाला आउँछ । पानी एकीकृत भई विमानस्थलमै प्रवेश गर्छ । यसले निर्माणाधीन विमानस्थल र स्थानीय दुवै मारमा छन् । विमानस्थल निर्माणमा सिँचाइको व्यवस्थापन एउटा गम्भीर समस्याको रुपमा देखिएको आयोजना प्रमुख मुनकर्मी बताउँछन् ।

ड्रेनेज व्यवस्थित गराउने सन्दर्भमा २०७६ पुस २६ मै सिँचाइ डिभिजन कार्यालयसँग विमानस्थल आयोजना कार्यालयको सहमति भएको थियो । जसअनुसार परिवर्तन टोलबाट औद्योगिक क्षेत्र कदम मार्ग हुँदै विमानस्थलको पश्चिमतर्फको सिमानामा बनेको डाइभर्सन क्यानल (वैकल्पिक नहर) सम्म आवश्यक क्षमता बढाइ दक्षिणी नहर सुचारु गर्नुपर्नेछ । परिवर्तन टोलबाट पुरानो नहर विमानस्थलको सिमानामा पुगेपछि बनेको कुलो सञ्चालन गरेर विमानस्थलको दक्षिणपूर्वी कुनासम्म प्राविधिक रुपमा पानी सञ्चालन गर्न सकिने स्थानसम्म पु¥याएर बाँकी नहर सुचारु गर्न पनि सिँचाइ विकास डिभिजन कार्यालयले विकल्प तयार गरेको थियो । यो विकल्प अनुसार नहर व्यवस्थापन गर्न ३४ करोड भार पर्ने प्रतिवेदनमा उल्लेख छ । ‘सिँचाइ कार्यालयले अहिले बजेटको समस्या देखाएको छ, सरकारले बजेट व्यवस्था गरेर यो समस्या हल गर्न लाग्नुप¥यो,’ मुनकर्मीले सुझाए ।

६८ प्रतिशत वित्तिय प्रगति

विमानस्थलले ६८ प्रतिशत वित्तिय प्रगति हासिल गरेको जनाएको छ । जग्गा अधिग्रहण गर्दा सुरुमा ३ अर्ब ८८ करोड खर्च भएको र नयाँ जग्गा अधिग्रहणमा ७९ करोड रुपैयाँ खर्च भएको विमानस्थल आयोजना कार्यालयले जानकारी दिएको छ । निर्माणाधीन कम्पनी चाइना सिएमसी इन्जिनियरिङलाई १६ अर्ब रुपैयाँभन्दा बढीको भुक्तानी आयोजनाले गरेको छ ।

विमानस्थल निर्माणका लािग २०३२ सालबाट अधिग्रहण सुरु गरिएको थियो । अहिलेसम्म ३१ सय ६ रोपनी जग्गाको मुआब्जा दिई अधिग्रहण गरिएको छ । ९९ प्रतिशत जग्गा अधिग्रहण पूरा भइसकेको विमानस्थल ३८ सय ९९ रोपनी क्षेत्रफलमा फैलिएको छ ।

नयाँ वर्षमा आन्तरिक उडान
नागरिक उड्डयन प्राधिकरण कार्यालय, पोखराका प्रमुख विक्रम गौतमले नयाँ वर्षमा पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलबाट आन्तरिक उडान भर्ने महत्वाकांक्षी योजना सारेका छन् ।

पहिलो चरणमा सुरक्षा र सुविधालाई राम्रो बनाउनुपर्ने र मध्यमकालीन लक्ष्यमा नयाँ वर्षका दिन आन्तरिक उडान भर्ने योजना सारे । ‘म महत्वाकांक्षी व्यक्ति हुँ र अहिले सिफारिस गर्ने पोजिसनमा छु । नयाँ वर्षका दिन आन्तरिक उडान भरौं न, पहिला विमानस्थलको सेफ्टि, सेक्युरिटी र फ्यासिलिटी राम्रो बनाऔं,’ उनले भने ।

अनिष भट्टराई

भट्टराई समाधान दैनिक र समाधानन्युज डटकमका संवाददाता हुन् ।

तपाईको प्रतिक्रिया