१७ असोजदेखि गण्डकी विश्वविद्यालयमा पढाइ
पढाइ थाल्नुअघि गण्डकी विश्वविद्यालयमा विद्यार्थीलाई उत्प्रेरणा

पोखरा ।
गण्डकी विश्वविद्यालयमा आइतबारदेखि पढाइ सुरु हुँदैछ । औपचारिक अध्यापनअघि उसले विद्यार्थीका लागि उत्प्रेरणा र अभिमुखीकरण कार्यक्रम गरेको छ । खेलकुद विषयमा स्नातक तह ‘ब्याचलर्स इन स्पोर्टस म्यानेजमेन्ट’ (बिएसएम) र ब्याचलर्स इन इन्फरमेसन टेक्नोलोजी (विआइटी) विषयमा भर्ना भएका विद्यार्थी लक्ष्य गरी उक्त कार्यक्रम शुक्रबार आयोजना गरिएको थियो ।

विश्वविद्यालयले पहिलोपटक ती २ विषयमा पढाइ थाल्दैछ । यसअघि प्रवेश परीक्षा भएको थियो । ‘ब्याचलर्स इन स्पोर्टस म्यानेजमेन्ट’ (बिएसएम) विषयमा १६ जना, ब्याचलर्स इन इन्फरमेसन टेक्नोलोजी (बिआइटी) विषयमा ३१ जना र बिफर्मामा २० जना गरी ६७ जना विद्यार्थी विश्वविद्यालयमा भर्ना भएका छन् ।

अभिमुखीकरण उद्घाटन कार्यक्रममा विश्वविद्यालयको न्यासिक परिषदका अध्यक्ष डा. दिनेशचन्द्र देवकोटाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा खरो उत्रन सक्ने मानव संसाधन विकास गरिनुपर्नेमा जोड दिए । प्रदेश सरकारले विश्वविद्यालयमार्फत गण्डकीलाई शिक्षाको केन्द्र बनाउन आँटेको देवकोटाको भनाइ थियो । मानिसको बानीव्यहोरा र चेतनामा परिवर्तन गर्न सक्ने ज्ञान विश्वविद्यालयले दिनुपर्ने देवकोटाले बताए ।
विश्वविद्यालयका उपकुलपति प्राडा नवराज देवकोटाले दक्ष जनशक्तिमार्फत प्रदेशमा मात्रै नभई अन्तर्राष्ट्रिय जगतमा नै प्रतिस्पर्धी र सक्षम जनशक्ति उत्पादन गर्ने लक्ष्य विश्वविद्यालयको रहेको सुनाए ।
विश्वविद्यालयका डिन डा. कपिल अधिकारीले विश्वविद्यालयले आफ्नो पाठ्यक्रमलाई नयाँ ज्ञानको क्षेत्रसँग जोडिने बताए । ‘बदलिँदो परिवेशभित्र रहेका चुनौतीहरुकाबीच सम्भवनाहरुको खोजी गर्दै विश्वे नागरिक उत्पादन गर्ने विश्वविद्यालयको उद्देश्य हो,’ उनले भने । रजिस्ट्रार डा.कैलाश तिमिल्सिनाले विश्वविद्यालयको आजको दिनसम्म ल्याउन सहयोग गर्नेहरुप्रति आभार प्रकट गरे ।

गण्डकी प्रदेशका प्रमुख सचिव डा. दामोदर रेग्मीले विश्वविद्यालय स्थापनाको सुरुआतमा नै स्नातक तहमा खेलकुद व्यवस्थापनको अध्ययन सुरु हुनु खुसीको विषय भएको धारणा राखे । प्रदेशमा खेलकुद पर्यटनको सम्भावना रहेकाले पनि यो विषयमा दक्ष जनशक्ति उत्पादन हुने विश्वास उनले व्यक्त गरे । प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा. रघुराज काफ्लेले प्रदेशको विशिष्टितालाई आत्मसात गर्दै प्रदेशको समृद्धिका लागि विश्वविद्यालयले आफ्ना योजनाहरु अघि बढाउनुपर्ने भनाइ राखे ।
गण्डकी विश्वविद्यालयका कुलपति प्राडा गणेशमान गुरुङको अध्यक्षतामा कार्यक्रम भएको थियो । कार्यक्रममा विश्वविद्यालयका न्यासिक परिषदका सदस्य निर्मल गुरुङले समेत आफ्ना भनाई राखे । हिमाली सांस्कृतिक परिवारका कलाकारले कार्यक्रममा नृत्य प्रस्तुत गरेका थिए ।









चुनावको मुखमा फुट्यो कांग्रेस
सम्पादकीय—स्वास्थ्य बिमा नरोकौं
अन्नपूर्णका विद्यार्थीलाई प्राथमिक उपचार तालिम, आयुष विक प्रथम
राजनीतिक सन्देशसहितको ‘बल्क एसएमएस’ एनसेलका ग्राहकलाई नपठाएको कम्पनीको स्पष्टीकरण
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकीमा ‘मुख्यमन्त्री सुशासन फेलोसिप’ खुल्यो : युवालाई मासिक ३० हजार पारिश्रमिक
तपाईको प्रतिक्रिया