विमानस्थल अघि बनिसक्लान् अरु संरचना ?

अनिष भट्टराई २०७८ असोज १६ गते १२:०६


पोखरा ।
पोखरामा अहिले अन्तर्राष्ट्रिय विमानस्थल निर्माणाधीन छ । करिब ८४ प्रतिशत काम सम्पन्न भइसकेको यो विमानस्थलले मध्यपुसमा आन्तरिक उडान र असारसम्म अन्तर्राष्ट्रिय उडान भर्ने लक्ष्य लिएको छ । काठमाडौंबाहिर पहिलोपटक अन्तर्राष्ट्रिय विमानस्थल पोखरामा सञ्चालनमा आउन लाग्दा पोखराका पर्यटनकर्मी र पुरै पोखरेली गदगद छन् ।


स्मार्ट सिटी बन्ने लक्ष्य लिएर बढेको पोखरामा अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण त सम्पन्न हुन आँटिसकेको छ । तर यहाँका बाटो, पुल, बसपार्कको भने अवस्था अझै सुध्रन सकेको छैन । यसका कारण विमानस्थलले आफ्नो क्षमता अनुसारको सुविधा दिइराख्न नसक्ने र पछि विमानस्थल महँगिन सक्ने नागरिक उड्डयन प्राधिकरण पोखरा प्रमुख विक्रम गौतम बताउँछन् ।


‘एअरपोर्टलाई पूरा प्रयोग गर्न नसके स्वाभाविक रुपमा महँगो हुन्छ, विमानस्थल बाहिर निस्केपछि पोखराको अवस्था कस्तो छ ?’ गौतमको प्रश्न छ, ‘तार गज्याङगुजुङ, बाटोभरि खाल्टैखाल्टा, गाडी जाम । कसरी पर्यटकहरुले पोखरा रुचाउँछन् अनि ?’ शुक्रबार पश्चिमाञ्चल होटल संघले राखेको अन्तत्र्रिmया कार्यक्रममा बोल्दै गौतमले विमानस्थलसँगै पोखराका अन्य पूर्वाधार विकासमा ध्यान दिन सुझाए ।

Advertisement


विमानस्थल सञ्चालनमा आउनुअघि यसको उचित विज्ञापन गरिनुका साथै पोखराका अन्य पूर्वाधार पनि सुधारिनुपर्ने गौतमको सुझाव छ । खानेपानी, स्वास्थ्य सुरक्षा, बाटो, पुल, विद्युतीय पोलहरुको पनि उचित व्यवस्थापन गरेमात्र पोखराको सुन्दरता बढ्ने र विमानस्थल फस्टाउने उनले बताए । पोखराको लागि यो अर्थतन्त्रमा नयाँ ‘टर्न’ हुने उनको आशा छ ।


एसियाली विकास बैंकले अहिले पृथ्वीराजमार्गको मर्मतकार्य गरिरहेको छ । पोखराको ट्राफिक व्यवस्थापन पनि उति चुस्त छैन । बाटोमा निस्कने हो भने यात्रुले छिनछिनको जाम र खाल्डाखुल्डीमात्र भोग्छन् । विमानस्थलमात्र बनाएर नहुने पोखरेली व्यवसायी, राजनीतिज्ञ र आम सर्वसाधारणको छ ।
नेपाल एसोसियसन अफ टुर्स एन्ड ट्राभल्स (नाट्टा) का अध्यक्ष सञ्जयकान्त सिग्देलले सडक कनेक्टिभिटीलाई अहिले नै ध्यानमा राख्नुपर्ने बताए । पोखरामात्र आउने यात्रुले विमानस्थल चल्न नसक्ने भएकाले सबै क्षेत्रका यात्रुलाई सहज र सुलभ हुने गरी सडक सञ्जालले पनि जोडिनुपर्ने बताए । ‘इटहरी जाने यात्रुलाई पनि सहज र सस्तो पर्ने गरी बनाऔं । पोखरामात्र आउनेले विमानस्थल चल्न सक्दैन, कनेक्टिभिटीलाई ध्यान दिऔं,’ उनले भने ।

Advertisement


राप्रपा कास्कीका नेता गणेश ढकालले पोखराको एक भागमा विमानस्थलमात्र बनेर पोखरा समृद्ध बन्न नसक्ने बताए । नेपाली कांग्रेसका सचिव देवेन्द्र रानाभाटले सफा सहर बनाउन काम थालिनुपर्ने सुझाए । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का नेता श्रीनाथ बरालले बाटोका साथै बसपार्क पनि व्यवस्थित बनाइनुपर्ने बताए । ‘पुरानो विमानस्थलले बसपार्कको केही जग्गा लिएको छ, विमानस्थलकोकेही जग्गामा बसपार्कलाई व्यवस्थित गर्न सकिएला,’ बरालले भने ।


पर्यटनकर्मी बासु त्रिपाठीले विमानस्थलदेखि गन्तव्यसम्म बाटोको सुविधा राम्रो नभए पर्यटकहरु फर्किएर नआउने तर्क गरे । पोखरा १४ मझेरीपाटनका बोधराज कार्की पनि सडक निर्माण र मर्मतलाई अघि बढाइनुपर्ने बताउँछन् । विमानस्थलको दक्षिणी भेगमा बाटो पनि नबनाइएको र नेता, विमानस्थल कर्मचारीहरु गाडीमा हुइँकिदा आफूहरुलाई पनि ४ लेनको बाटोमा हिँड्ने इच्छा बढेको बताए । ‘नेताहरु, विमानस्थल कर्मचारीहरु सरर गाडी लिएर हुइँकिने, हामीलाई पनि इच्छा हुँदैन ?’ उनको प्रश्न छ ।


अन्तर्राष्ट्रिय उडान भरेर उद्घाटन गर्न माग


गत बुधबार गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल नेतृत्वको टोलीले निर्माणाधीन पोखरा अन्तर्राष्ट्रिय क्षेत्रीय विमानस्थलको अवलोकन ग¥यो । सो दिन मुख्यमन्त्रीसँगको ब्रिफिङमा नागरिक उड्डयन प्राधिकरण पोखरा प्रमुख गौतमले नयाँ वर्षमा पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलबाट आन्तरिक उडान भर्ने महत्वाकांक्षी योजना सारे । पहिलो चरणमा सुरक्षा र सुविधालाई राम्रो बनाउनुपर्ने र मध्यमकालीन लक्ष्यमा नयाँ वर्षका दिन आन्तरिक उडान भर्ने योजना सारे । ब्रिफिङमै गौतमले निर्माणाधीन विमानस्थलमा न्यारोबडी एअरक्राफ्ट सञ्चालन हुने र वाइडबडी क्राफ्ट चलाउन नसकिने बताए ।


तर पोखरेली व्यवसायी, पर्यटनकर्मी भने गौतमको यो प्रस्ताव विपरीत उभिएका छन् । विमानस्थलको उद्घाटन अन्तर्राष्ट्रिय उडान भरेर गरिनुपर्ने माग राखेका छन् । पोखरा उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष विश्वशंकर पालिखेले हतासमा विमानस्थल सञ्चालन नगर्न आग्रह गरे । विमानस्थल सञ्चालन मितिबारे पुनर्विचार गरिनुपर्ने भन्दै उनले चिनीयाँ पक्षलाई बोलाएर उद्घाटन गराएर ऋणलाई अनुदानमा बदल्नुपर्ने उनको तर्क छ । ‘चिनियाँ ठूला नेतालाई बोलाएर उद्घाटन गरौं, सफ्ट लोनलाई ग्रान्टमा बदलौं, अहिले नै हतार गर्नुपर्दैन, सञ्चालन मितिबारे अझै सोचौं,’ उनले भने ।


प्याग्लाइडिङ अझै अन्योलमा
पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि प्याराग्लाइडिङ, अल्ट्रालाइट के हुने भन्ने अझै अन्योल छ । पोखरा पर्यटन परिषद्का उपाध्यक्ष पोमनारायण श्रेष्ठले पोखरा हवाई खेलकुदको हब भएकाले यी क्षेत्रबारे जानकारी दिइनुपर्ने बताए । पुरानो विमानस्थललाई पाइलट ट्रेनिङ स्कुलको रुपमा प्रयोग गर्न सकिने सुझाए ।


ट्रेकिङ एजेन्सी एसोसियसन नेपाल (टान) पोखराका अध्यक्ष सुशील पौडेलले अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि बन्द हुने क्षेत्रहरु खुलाइनुपर्ने बताए । केहीले अब विमानस्थल सञ्चालनमा आएपछि यी क्षेत्र बन्द हुने अड्कल काटेका छन् । तर अहिलेसम्म विमानस्थल सञ्चालनमा आएपछि प्याराग्लाइडिङ बन्द हुनुपर्ने कुनै रिपोर्ट आएको छैन । नागरिक उड्डयन प्राधिकरण कार्यालय, पोखराका प्रमुख विक्रम गौतमले अहिले नै हवाई खेलुकद बन्द हुने÷नहुने अन्योल रहेको बताउँछन् । ‘यसका लागि एअरस्पेस रिस्ट्रक्चरिङ भइरहेको छ । यसको कागजी स्ट्रक्चर आएपछि हामी त्यसलाई कार्यान्वयनमात्र गर्ने हो,’ उनले भने ।


ल्यान्डफिल व्यवस्थापनकै समस्या
पोखराको फोहोर अहिले पोखरा १४ बाच्छीबुडुवामा विसर्जन गरिन्छ । महानगरकी सरसफाइ शाखा प्रमुख कल्पना बरालका अनुसार यहाँ मलमूत्रसँगै पोखराका अस्पतालहरुका फोहोर र अरु फोहोर व्यवस्थापन गरिन्छ । २ सय रोपनीको जग्गामा मलमूत्र व्यवस्थापनका लागि ८० रोपनीको फिल्ड छ । अटोक्लेभ मेसिनहरु पनि छन्, बायोमेडिकल फोहोरको व्यवस्थापनका लागि ।


यो ल्यान्डफिल साइट एसियाली विकास बैंकले बनाइदिएको हो । यसको व्यवस्थापन अहिले महानगरलाई चिन्ताको विषय बनेको बराल बताउँछिन् । महानगरले अर्को जग्गामा ल्यान्डफिल सार्दा त्यहाँको संरचनासँगै नयाँ जग्गा र साइटका लागि ठूलो बजेटको खाँचो पर्ने उनले बताइन् । महानगरले यसमा सहजीकरण गरिदिन नागरिक उड्डयन प्राधिकरणलाई पत्र पनि पठाएको थियो । २०७७ साउनमा पठाएको पत्रको अझै जवाफ नपाएको बरालले जानकारी दिइन् । ‘अहिलेसम्म जवाफ पाएनौं, अहिले तत्काल ल्यान्डफिल सार्दा कुनकुन संरचना सार्नुपर्ने हो, जवाफ मागेर पत्र काटेका थियौं,’ बरालले भनिन् । महानगर विमानस्थल सञ्चालनमा गम्भीर रहेकाले ल्यान्डफिल साइट समयमै सार्ने पनि उनले बताइन् ।


अन्तर्राष्ट्रिय उडान भरेर सन्देश दिनुपर्छः मुख्यमन्त्री
गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले अन्तर्राष्ट्रिय उडान भरेर नै सन्देश दिनुपर्ने बताएका छन् । अन्तर्राष्ट्रिय उडान भर्ने कम्पनीका नेपाल प्रमुखहरुलाई पोखरा बोलाएर छलफल पनि गर्न सकिने उनले बताए । ‘उडान त अब हुन्छ नै, आन्तरिक उडान नै भएपनि सुरु गरौैं न भन्ने भावनालाई पनि कदर गर्नुपर्छ तर सन्देश दिने भनेको अन्तर्राष्ट्रिय उडानबाट नै हो,’ मुख्यमन्त्रीले भने ।


ल्यान्डफिललाई स्थानान्तरण गर्ने कुरा अहिले महत्वपूर्ण रहेको मुख्यमन्त्रीको भनाइ छ । विमानस्थल आसपासको क्षेत्रका स्थानीयलाई सडक, सिँचाइको उचित सुविधा दिइने उनको आश्वासन छ । ‘विमानस्थल बनाउन योगदान पु¥याउने किसानको जमिन सुकाएर अभियान अघि बढाइँदैन,’ उनले भने ।

अनिष भट्टराई

भट्टराई समाधान दैनिक र समाधानन्युज डटकमका संवाददाता हुन् ।

तपाईको प्रतिक्रिया