अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस

आधा जीवन परिवार बिनै बित्यो, ९४ वर्षमा आश्रम सहारा

सञ्जय रानाभाट २०७८ असोज १७ गते ७:२७

पोखरा ।
सहाराका लागि त्यही एउटा बैसाखी छ । मुजा परेको अनुहारमा फिस्स मुस्कान । कापिरहेको लवज, थरथराइरहेको हात । आँखामा छचल्किरहेका आँसु । उमेर शताब्दी हुनै लाग्यो । तनहुँ चुँदीमा जन्मी, हुर्केका रामनाथ खनाल एक महिनादेखि हेम्जाको वृद्धाश्रममा छन् । उनका कोही नभएका होइन, केही नभएको पनि होइन । बस्, बुढ्यौलीमा सहारा पाएका छैनन् । ७ छोराछोरी, २७ नातिनातिनी छन्, श्रीसम्पत्ति पनि गाउँमै छ । तर उनका लागि केही केही नभएजस्तो भएको छ, कोही नभएको जस्तो भएको छ ।


भदौ १२ गते रामनाथको जिन्दगीले ९४ औं हिउँदबर्खा पार गर्‍यो । तर, आधा जिन्दगी घरपरिवारसँग बस्न पाएनन् । श्रीमतीको मृत्यु भएपछि उनी एक्लिए । बिहे गरेका 2 श्रीमती उनीभन्दा अघि नै भगवानका प्यारा भए । खनाल बलबुताले सकिन्जेल आफैं पालिए । ठूलो परिवारलाई एक्लै समाले । तर अहिले आफू समाल्हिन नसक्ने बेलामा एक्लिएका छन् ।


मात्र एक महिना भो उनी बेफिक्री बस्न थालेको । त्यसअघि उनको खानेबस्ने ठेगान थिएन । प्रहरीले पोखराको महेन्द्रपुलमा बेबारिस भेटेपछि उनलाई मानवसेवा आश्रम पुर्‍याइदियो । त्यसपछि आश्रम उनको घर र त्यहाँका अरु परिवारका सदस्यजस्तै भएका छन् । साथीहरु पाएका छन्, आफ्नै जस्तो वेदना बोकेका ।


त्यसअघिको उनको जीवन कहालीलाग्दो छ । कान्छी श्रीमतीको मृत्यु भएपछि उनलाई छोराहरुले हेलाँ गर्न थाले । कहिले मुख छाड्थे त कहिले हात नै हाले । ती दिनका नमिठा याद उनको मानसपटलमा अझै जीवितै छन् । घरमा एक्लिएर हेलाँमा परेपछि उनी भारत लागे । १६ वर्ष भारतमै बिताए । उनले त्यहाँ न आफूले जन्माएर हुर्काएका छोराछोरी बिर्सन सके न आफूमाथि छोराहरुले गरेको हातपात नै ।


भारतमा बसिरहन उनलाई मन लागेन । भारतमा छँदा उनलाई मद्रासी ब्राहमणले भारतमै बस्न अनुरोध गरेका थिए । उनी हिन्दीमै बोल्न थाल्छन् । ‘उसने मुझेकहाँ मेरा नेपालमे कुछ खेरीहत नहीँ हे । उसने मुझेकहाँ कि मुझे ओ भारतमें ही रख्ना चाहता था,’ उनी भन्छन् । उनलाई त्यहीँ बस्न मन नलागेको पनि होइन, तर घरको यादले सताएपछि तनहुँ फर्किए । घर फर्किएपछि पनि उनलाई फेरि कुटपिट गर्न थालियो । घर छाडेर दमौलीको आश्रममा शरण लिए ।


उनी आफू सयौं रोपनी जग्गाको मालिक भएको बताउँछन् । तनहुँमा उनको सबथोक छ तर केही छैन जेमा उनी खुसी रहन सकुन् । आफ्नै सन्तानले उनलाई पाल्न चाहेनन् । ‘मलाई मार्न खोजेपछि घर छोडेर हिँडे । घरमा गयो भने मलाई मार्छन्,’ उनी सुक्सुकाउँछन् । आफूले कमाएको सम्पत्ति छोराछोरीका लागि भनेर कहिल्यै नबेची राखिदिएको तर अहिले आफू नै उनीहरुका लागि बोझ भएको उनको बुझाइ छ । जेठो छोराले एकपटक हलोको फालीले टाउकोमा हानिदिएको बताउँछन् । माइलो छोराले करङ फुस्कने गरी गोदेको पनि उनलाई सम्झना छ । ‘बन्दीपुरको अस्पतालमा १ महिना उपचार पछि बिसेक भयो,’ उनी भक्कानिन्छन्, ‘बहिनीले फाडोसम्म दिई र बाँचें । पछि पनि कुटिरहेपछि घर छाडें ।’ खनालले नातिनातिनाको माया त पाए, तर जब छोराबुहारीले नै चाहेनन्, उनको केही जोर चलेन र घर छाड्न बाध्य बने ।


६ छोरालाई उनले उतिबेलै एसएलसीसम्म पढाएर आर्मीमा भर्ती गराए । एक छोराले आर्मीबाट काम छाडेपछि जिल्ला विकास कार्यालयका हाकिमसँग रोइकराइ गरेर शिक्षक बनाउन लगाए । छोराछोरीलाई कहिल्यै केहीको अभाव हुन दिएनन् । ‘सानो हुँदा अभाव केहीको हुन दिइनँ । जेजे भन्छन् त्यही पुर्‍याएर हुर्काएँ, बढाएँ । अहिले मलाईदेखि सहन्नन्,’ उनी भन्छन् । अहिले आफूलाई खाना पनि रुच्न छाडेको उनी सुनाउँछन् । पाखुरा चलिन्जेलमात्रा अरुले माया गर्ने गरेको अनुभव उनको छ । ‘अरुले माया गर्ने भनेको त हात पाखुरा भइन्जेल रैछ । अहिले हात पाखुरा बसे । सबैले हेलाँ गर्छन्,’ उनले भने ।


राजनीतिक विचार नमिल्दा …


खनाललाई १ महिना अघि प्रहरीले आश्रममा ल्याएको आश्रमका कास्की संयोजक राजन सापकोटाले बताए । ‘आश्रममा आउँदा सुरुमा घर बताउनुभएन । पछि बिस्तारै घर बताउनुभयो । मैले फेसबुकमा भिडिओ हालेपछि चितवनबाट जेठा छोराले सम्पर्क गर्नुभयो,’ सापकोटाले भने ।
जेठो छोराले फरकफरक राजनीतिक विचार भएकाले विचार नमिलेर छाडेको बताएका छन् । घर झगडा हुने र नडुल्नु भने पनि नमानेकाले त्यागेको आश्रमलाई बताएका छन् । ‘तनहुँमा रहेका माइलो छोराको नम्बर दिनुभयो जेठो छोराले, हामीले गाडी चढाएर घर पठाउँछौं भनेको बा मान्नुभएन्, सापकोटाले भने । खनालले आश्रमका स्वयंसेवी राजनहरुलाई नै आफ्ना छोराहरु मान्न थालेका छन् । भन्छन्, ‘तपाईंहरु नै मेरो छोराछोरी हो, घर त जान्नँ । यहीं बस्छु ।’


अहिले खनालले दुखसुख साट्न साथीहरु पाएका छन् । तर सबै साथी असल नभएको उनको अनुभव छ । ‘आश्रममा अरु साथीहरुले सबै कपडा चोरिदिन्छन् । मेरो लाइट पनि हरायो । हल्ला बढी भएर सुत्न पाएको छैन,’ उनी सुनाउँछन् ।

सञ्जय रानाभाट

रानाभाट समाधानन्युज डटकम र समाधान दैनिकका संवाददाता हुन् ।

तपाईको प्रतिक्रिया