पोखराको ९ ठाउँमा इन्टरनेट तार काटियो, ७ सय जना प्रभावित

सञ्जय रानाभाट २०७८ असोज १८ गते १२:३६

पोखरा ।
नेपाल विद्युत प्रधिकरणको निर्देशनमा पोखरा वितरण केन्द्रले इन्टरनेट सेवा प्रदायक कम्पनीको तार काटेको छ । केन्द्रले लेकसाइड, डिहिकोपाटन, लालुपातेमार्ग, ढुंगेसाँघु, छोरेपाटन, विरौटा, महतगौंडा, डेबिजफल्स गरि ९ ठाउँको तार काटेको हो ।


इन्टरनेट प्रदायकहरु भायनेट, क्लासिक टेक, वल्र्डलिंक, टेकमाइन्ड र कम्पनीको नाम नलेखिएका राउटरहरु प्राधिकरणले काटेको पोखरा वितरण केन्द्रका प्रमुख इन्जिनियर ऋषिकुमार बरनवालले बताए । इन्टरनेट प्रदायकले प्राधिकरणको बिजुलीको पोल प्रयोग गरेर ३ आर्थिक वर्षदेखि संरचना प्रयोग गरेबापत भाडा नतिरेको भन्दै पोखरा लगायत देशकै प्रमुख सहरमा तार काटेको हो ।


प्राधिकरणलाई २०७५ साल देखि भाडा नतिरेपछि प्राधिकरणले पहिलो चरणको कारबाही सुरु गरेको बरनवाले बताए । ‘यो पहिलो चरणको कारबाही थियो । माथिको निर्णय अनुसार हामी काम गछौं,’ बरनवालले भने, ‘हामीले शनिबार संकेतका रुममा अस्पताल, विद्यालय, सरकारी कार्यालयलाई मर्का नपर्ने गरि लाइन काटेका हौं ।’

Advertisement


पोखरामा काटिएको तार बढी असर नपर्ने ठाउँमा र अप्ठेरो नपर्ने ठाउँमा काटिएको उनले बताए । शनिबार काटिएको इन्टरनेट लाइनबाट ७ सय घर तथा व्यवसायहरुलाई असर परेको उनले बताए । प्राधिकरणले असार १५ सम्म भाडा तिर्न अल्टिमेटम दिएको थियो । प्राधिकरणलाई टेलिकम, एनसेल र डिसहोमले भाडा बुझाउँदै आएका छन् । प्राधिकरणले २०७५ असार देखि भाडा महँगो बनाएपछि इन्टरनेट प्रदायकहरुले सम्झौतामा हस्ताक्षर गरेका थिएनन् ।


निर्णयबाट पछि हट्यो प्राधिकरण
नेपाल विद्युत प्राधिकरणले इन्टरनेट सेवा प्रदायक नकाट्ने भएको छ । सोमबार प्राधिकरणले तार काट्दा उपभोक्ता प्रभावित भएको भन्दै प्राधिकरणपछि हटेको हो । कार्यकारी निर्देशक कुलमान घिसिङले सांकेतिक रुपमा तार काटेपनि उपभोक्तालाई परेको मर्कालाई ध्यानमा राखेर तत्काल थप तार नकाटिने बताएका छन् । प्राधिकरण जनताको हितमा काम गर्ने भएकाले उपभोक्तालाई असर नपर्ने गरी बक्तयौता उठाउन कदम चाल्ने निर्णय गरेको हो ।

Advertisement

सञ्जय रानाभाट

रानाभाट समाधानन्युज डटकम र समाधान दैनिकका संवाददाता हुन् ।

तपाईको प्रतिक्रिया