पुल चाहिने, काम गर्न नदिने !

अनिष भट्टराई २०७८ असोज १८ गते १२:५०

पोखरा ।
सिद्धार्थचोकमा आइतबार बिहान एक हुलले सडक रोक्यो । सिद्धार्थचोक र पस्र्याङ जोड्ने फिर्के खोला पुल नबनेको भन्दै हुलले सडक रोकेको थियो । हुलले पोखरा ४ का वडाध्यक्ष शंकर बास्तोला र पोखरा ५ का वडाध्यक्ष धनबहादुर नेपालीलाई कालोमोसो धस्नेसम्मको नारा लगायो ।


बिहान ११ बजे गरिएको विरोध प्रदर्शनमा गएर यी दुई वडाध्यक्षले फिर्केखोला पुल निर्माणलाई तीव्रता दिन पहल गर्ने वाचा गरे । महानगरका प्रवक्तासमेत रहेका नेपालीले सोमबार बिहानबाट नै काम थाल्ने र काम पूरा नभए महानगरले जिम्मा लिने प्रतिबद्धता जनाए ।
दुवै वडाध्यक्षले पुल निर्माणलाई जतिसक्दो छिटो बढाउनुका साथै तत्कालका लागि गर्न सकिने वैकल्पिक उपाय पनि सुझाए । नेपालीले पैदलयात्रुको सहजताका लागि अस्थायी बाटो बनाउनेसम्मको योजना सुनाए ।


वडाध्यक्षका प्रतिबद्धताले पनि विरोध प्रदर्शन रोकिएन । पुल निर्माण सुरु नगरे वडा कार्यालयमा तालाबन्दी गर्नेदेखि वडाध्यक्षलाई बाटोमा कालोमोसो धस्ने घोषणा भीडले ग¥यो । ठेकेदार कम्पनीका प्रतिनिधि आएपछि छलफलका लागि भन्दै वडाध्यक्षद्वय महानगर लागे ।
महानगरमा वडाध्यक्षद्वय, महानगरका इन्जिनियर नेत्र तिमिल्सिना, प्रशासन महाशाखाका भरतराज पौडेलले ठेकदार कम्पनीका प्राविधिकसँग स्पष्टीकरण सोधे । वडा ४ का वडाध्यक्ष बास्तोलाले ठेकदार कम्पनीले काम नगर्दा दोष आफूहरुले बोक्नुपरेको गुनासो गरे । ‘हामी त सहजीकरणका लागि बसेका हौं, ठेक्का लगाएको महानगरले हो, काम गर्ने ठेकदारले । तर काम नहुँदा हामीले नै दोष बोक्नुपर्छ,’ बास्तोला कड्किए ।

Advertisement


वडा ५ का वडाध्यक्ष धनबहादुर नेपालीले कुनै बहानामा काम रोकिनु नहुने तर्क गरे । ठेकेदार कम्पनीले जनता रुवाउने काम गरेको उनको आरोप थियो । ‘तपाईंहरु काम नगर्ने, कालोमोसो दलिने डर हामीलाई हुने । कालोमोसो त काम नगर्ने तपाईंहरुलाई दल्ने कि हामीलाई ?’ नेपालीले प्रश्न तेस्र्याए ।


महानगरका इन्जिनियर नेत्र तिमिल्सिनाले पनि ठेकदार कम्पनीलाई दोष देखाउँदै ठेक्का अवधि थप्न नसकिने बताए । सोमबार बिहानसम्म ‘वर्क सेडयुल’ बनाएर दिनुपर्ने, कुनै बाहानमा काम नरोकेमात्र म्याद थपको प्रक्रिया थाल्न सकिने बताए । सिद्धार्थचोक र पस्र्याङ जोड्ने फिर्के पुल निर्माणको जिम्मा शान्ति आरोग्य जेभीले पाएको थियो । अगस्ट २०१९ मै ठेक्का सम्झौता भएर १५ महिनामा सक्नुपर्ने भएपनि काम अहिलेसम्म सकिएको छैन । उल्टै पहिलो पटक थपिएको ६ महिने म्याद पनि कटिसकेको छ । शान्ति आरोग्यले ४ करोड ५५ हजारमा ठेक्का पाएको थियो ।

Advertisement


महानगरका प्रतिनिधिसँग ठेकदार कम्पनीका प्राविधिक रामनारायण यादवले भने यथास्थितिमा काम गर्न नसक्ने जवाफ दिए । महानगर र स्थानीयबाट असयोग भएपछि आफूले काम गराउन नसकेको यादवले बताए । ‘लकडाउन भो, वर्षा सकियो ती कुरा सकियो । पब्लिकको कारण काम गर्न नसकेर आज यसरी फेस गर्नुपरेको छ,’ यादवले बताए । १ दिन काम गरेपछि ५ दिन काम नगरी बस्नुपर्ने भएपछि काम पूरा गर्न नसकेको उनको अनुभव छ । महानगरले सुरक्षा दिने र ठेकदार कम्पनीले काम सुचारु गर्ने सहमति पछि यादवले काम सुरु गर्न निर्देशन दिए । साढे १ बजे यादवले महानगर कार्यालयबाट नै कर्मचारीलाई निर्देशन दिएपछि एक्साभेटर फिल्डमा आयो ।


स्थानीयकै अवरोध
फिर्के पुल निर्माणको काम सुरु भएको ५ मिनेट पनि भएको थिएन । पुल निर्माणको पारिपट्टि स्थानीय दीपक मुल्मीको घरमा सीता फर्निचर उद्योग चलाइरहेका पुरुष बाहिर निस्कन्छन् । हतास देखिएका ती पुरुषले फोन गरिरहन्छन् । उनले फोन दीपक मुल्मी र भाइ प्रदीप मुल्मीलाई गरेका थिए ।


प्रदीप मुल्मी आएपछि भने ती पुरुष पनि आक्रोशित मुद्रामा प्रस्तुत हुन्छन् । तल ठेकदार कम्पनीको एक्साभेटरले भर्खर खन्न सुरु गरेको थियो । प्रदीप मुल्मी र ती फर्निचर व्यवसायी गएर एक्साभेटर सञ्चालकसँग गालीगलौज गर्छन् ।


काममा अवरोध गरेपछि ठेकदार कम्पनीका रामनारायण यादवले पोखरा ५ का वडाध्यक्ष धनबहादुर नेपाली लगायत महानगरको टोलीलाई खबर गरे । प्रदीप मुल्मी आएर विरोध गरेपछि काम रोकिन्छ । पछि प्रदीपका दाइ दीपक पनि निर्माणस्थल आइपुग्छन् । मुल्मी दाजुभाइ गएर प्राविधिकसँग सवाल जवाफ गर्छन् ।


‘मैले नबुझेको कुरा, यादव तिमी यहाँ बनाउन आएको कि बिगार्न ? तिमीले त्यहाँको माटो तानेपछि माथिको घर खस्छ कि खस्दैन ?’ दीपक मुल्मी सुरुमै यादवलाई प्रश्न गर्छन् । मुल्मी यतिमै रोकिँदैनन् । भन्छन्, ‘महाकाली नदीमा पुल हालेको हो ? खुला ठाउँमा ? भौतिक अवस्था कति बिग्रिएको छ ?’


मुल्मी दाजुभाइले यादवलाई लगातार प्रश्न तेस्र्याइरहे । यादवले खोलामा राखिएको ह्युमपाइपको दुईतर्फै खोल्नुपर्ने भएकाले काम गर्न लागेको र त्यसको ‘क्लियरेन्स’ का लागि माटो खार्नु परेको उत्तर दिए । मुल्मीसँगै यादवलाई प्रश्न गर्न थपिन्छन्, अर्का स्थानीय मधु कोइराला । कोइराला आइतबार बिहान सिद्धार्थचोकमा भएको विरोध कार्यक्रममा पनि उपस्थित थिए, पुल तत्काल नबनाए कारबाही गरिनुपर्ने माग सहित । तर पुल निर्माणको काम चलिरहेका बेला उनी पनि ठेकदार कम्पनीमाथि नै खनिए ।


‘चोर तरिकाले काम गरेर हुन्छ, यता (पस्र्याङ) पट्टिको माटो पुरै खस्ने गरेर डोजर लगाएछन्, यसरी पुल बनाएर के गर्ने हो ?’ उनको प्रश्न थियो । यस्तै बिहान सिद्धार्थचोकमा भएको विरोध प्रदर्शनमा पुल बनाउनुपर्ने नबनाए वडा कार्यालयमा ताला लगाइदिने धम्की दिएका एक व्यवसायीले दिउँसो निर्माणस्थलमा भने पुल नबनाए पनि हुने सम्म भन्न भ्याए । ‘पुल बनेन भने हामी आज त बन्द ग¥र्यौं, भोली वडा कार्यालय पनि बन्द गर्छौं,’ बिहानको आफ्नै कुरा उल्ट्याउँदै दिउँसो भने, ‘पुल नबनाएपनि, १ वर्षसम्म नबनाएपनि केही छैन, पहिला बाटो बनाउनुप¥यो ।’


विरोधमा उत्रने प्रमुख व्यक्ति भने दीपक मुल्मी र उनका भाइ प्रदीप मुल्मी हुन् । निर्माणाधीन पुलको छेउमा दीपकको घर छ । पुलका लागि भित्ता खन्दा आफ्नो घर नै भत्कन लागेको भन्दै उनले विरोध गरेका हुन् । ‘घर चर्किसक्यो, एकपटक होइन, दुई पटक होइन, अझै कति सहने ? अब जोसँग लड्न परेपनि लड्छ्, त्यहाँको माटो खोस्रनु भनेको अब मलाई खोस्रनु हो,’ दीपक जंगिए ।


महानगर, वडा, प्रहरीको डर देखाएर आफूलाई ठगिएको दीपकको आरोप थियो । पुल बन्नुपर्ने तर पुलको डिजाइन नै गलत गरी गराइएको भन्दै उनले पुल एकातिर र खोला एकातिर रहेको पनि भन्न भ्याए । पुल निर्माणको जग बसिसकेको छ । पुलको रिटेनिङ वाल लगाउनका लागि दीपकको घर मुनिको जग्गा केही खोल्नु पर्ने भएकाले काम भइरहेका बेला दीपक र उनका भाइ प्रदीपले तगारो हालेका हुन् । उनीहरु काम रोक्दै पुल निर्माणमा पूर्ण सहयोग रहेको दाबीसम्म गर्न भ्याए । ‘पुल बनाउन हामीले कति सहयोग गरेका छौं, तर महानगरले हाम्रो कुरा सुनेन । महानगरले स्थानीयको कुरा नसुनि कसरी काम बढाउँछ,’ दीपकले भने ।


एक स्थानीयले नाम नबताउने सर्तमा दीपक मुल्मीले त्यो खोला नजिकै पहिला कारवास सञ्चालन गरेको र पछि त्यो पनि हटाउनुपरेपछि आक्रोशित रहेको आरोप लगाए । ‘पुल बनेको उनीहरु (मुल्मी)को जग्गामा होइन । सहयोग भन्दा असहयोग बढी गरेका छन् । खोला पुरेर कार वास अनि अरु व्यवसाय गरेका थिए, बन्द भएपछि आक्रोशित छन्,’ उनको आरोप छ ।


स्थानीयले विरोध जनाएपछि महानगरका प्रवक्ता तथा वडा ५ का वडाध्यक्ष धनबहादुर नेपाली आक्रोशित बने । पुल बनाउन स्थानीयले नै सहयोग गर्नुपर्नेमा महानगर र वडाले पैसा खाएर काम नगराएको आरोप लगाउन थालिएको उनको गुनासो थियो । ‘हामी काम गर्न तयार छौं, पुल पहिला बनाउने हो कि अस्थायी पुल पहिला बनाउने हो कि ? हामीलाई केही छैन, महानगरको २÷४ लाख जान्छ त्यही हो,’ नेपालीले भने । विकासको काम गर्दा कसैको जग्गा पर्ने र त्यसैलाई विषय बनाएर काम रोक्न नपाइने उनको तर्क छ । ‘छोइन्छ त विकासको काम गरेको हो, छोइन्छ । डाडुले तरकारी झिकेझैं गर्ने हो र ? अलिअलि छोइन्छ, निजी जग्गा प¥यो भने महानगरले क्षतिपूर्ति दिन्छ,’ नेपालीले थपे ।


वडा ४ का वडाध्यक्ष शंकर बास्तोलाले काम नभएको भन्दै विरोध पनि गर्ने र काम पनि गर्न नदिने दोहोरो चरित्र नदेखाउन आग्रह गरे । ‘बिहान विरोध गर्ने अनि अहिले काम गर्न नदिएर भएन । पहिला प्राथमिकता पुललाई बनाऔं, अस्थायी बाटो चाहिए पनि बनाऔं,’ वडाध्यक्ष बास्तोलाले भने ।

अनिष भट्टराई

भट्टराई समाधान दैनिक र समाधानन्युज डटकमका संवाददाता हुन् ।

तपाईको प्रतिक्रिया