निर्माण सकाउनुपर्ने बेला ३० प्रतिशत प्रगति

सिरुवा कन्सट्रक्सनः ठेक्का लिँदै अधकल्चो छाड्दै

अनिष भट्टराई २०७८ असोज १९ गते ११:५०

पोखरा ।
पोखरा महानगरपालिका १३ र २८ जोड्ने गरी विजयपुर खोलामाथि पुल निर्माणका लागि सिरुवा कन्सट्रक्सनले जिम्मा पायो । आर्थिक वर्ष २०७२÷७३ मा ठेक्का सम्झौताका बेला उसलाई दिइएको म्याद थियोः २०७५ असार ३० । तर कम्पनीले काम पूरा गर्न सकेन, सरकारले पुनः म्याद थपिदियो ।

थपिएको म्याद अनुसार कम्पनीले २०७७ फागनुन ८ सम्म पुल निर्माण सक्नुपर्ने थियो । तर अझै पनि काम पूरा हुन सकेको छैन । काम सुरु भएको ६ वर्ष कटिसक्दा पनि अहिलेसम्म यस पुलको भौतिक प्रगति ४० प्रतिशतमात्र छ । वित्तीय प्रगति ३८ प्रतिशतमात्र ।
सिरुवाले ठेक्का पाएको अर्को पुल हो, मादी नदी पुल, हंसपुर–टिमुरे चौर कास्की । आर्थिक वर्ष २०७२÷७३ मै नेपाल सरकार र कम्पनीबीच ठेक्का सम्झौता भएको थियो । सम्झौता अनुसार उसले २०७५ असार २० सम्म पुल निर्माण सकेर हस्तान्तरण गर्नुपर्ने थियो । तर काम नसकेपछि दोस्रोपटक थपिएको म्याद २०७७ फागुन ६ पनि कटिसकेको छ । अहिलेसम्म पुलको भौतिक प्रगति ३० प्रतिशत छ भने वित्तीय प्रगतिमात्र २५ प्रतिशत ।


सिरुवा कन्सट्रक्सनले दुवै पुल निर्माणमा ढिला सुस्ती गरिरहेको छ । लगातार म्याद थप्दा पनि कार्यप्रगति सन्तोषजनक देखिँदैन । अब यी दुवै पुलको अन्तिम म्याद चैत मसान्तसम्म छ । सम्झौता अनुसारको म्याद सकिइसकेपनि मन्त्रिपरिषदले म्याद थपको निर्णय गरेको थियो । २०७८ भदौ ३ गतेको मन्त्रिपरिषद बैठकले बढीमा चैत मसान्तसम्म म्याद थप गर्न सकिने निर्णय गरेको थियो ।

Advertisement


चैत मसान्तसम्म म्याद भएपनि यी दुवै पुल निर्माण नसकिने पक्का जस्तै छ । सडक डिभिजन कार्यालय, पोखराका सूचना अधिकारी इन्जिनियर किरण सुवेदी निर्माण कम्पनीले कार्यतालिका अनुसार काम नगर्दा यी दुई पुल अधकल्चो अवस्थामा पुगेको बताउँछन् । देशका विभिन्न ठाउँमा पुल र सडकको ठेक्का लिने र कामै नगरी अलपत्र पार्ने गरेर पप्पु कन्स्ट्रक्सन बदनामित छ । सिरुवा पनि त्यस्तै बाटोमा हिँडेको छ ।


सरकारले म्याद थप गर्ने निर्णय गरेपछि ठेकेदार कम्पनी सिँचाइ डिभिजन कार्यालय, पोखराको सम्पर्कमा आएको थियो । अहिले ठेकेदार कम्पनीले विजयपुर खोला पुलको निर्माणलाई अघि बढाएको छ । तर मादी नदी पुल निर्माण भने अझै सुरु हुन सकेको छैन । इन्जिनियर सुवेदी ठेकदार कम्पनीले म्याद अवधिमा निर्माण सम्पन्न नगरे टेक्का रद्द गरेर कालोसूचीमा राखिने बताउँछन् । यसबारे सम्पर्क गर्न खोज्दा ठेकेदार कम्पनीका दिनेश पौडेलले फोन उठाएनन् ।

Advertisement


कास्कीमा निर्माणाधीन अरु ४ पुलको भने भौतिक प्रगति सन्तोषजनक छ । मादी नदी पुल, घुम्ले बजार कास्कीको निर्माण ९८ प्रतिशत सकिएको छ । यसको म्याद गएको असार १५ मा सकिएपनि सरकारले थपिदिएको म्याद अर्थात् चैतसम्म निर्माण सम्पन्न हुने निश्चित देखिन्छ । इन्जिनियर किरण सुवेदी भन्छन्, ‘यो पुल निर्माणचाहिँ चैतसम्म कुर्नु पर्दैन, पुसमसान्तमै सकिन्छ ।’


ल्वाङघलेलमा निर्माणाधीन आँपखोला पुलको पनि ९५ प्रतिशत काम भएको छ । यस्तै फुस्रे खोला दम्सादीघाट पुल निर्माणको काम पनि ६० प्रतिशत सकिएको छ । जग बसाल्ने काम सकेर अहिले बाँकी काम चलिहरेको बताइएको छ ।


फिर्के पुलको पनि उही चाल !
पोखरा बागलुङ राजमार्गमा पर्ने फिर्के खोला पुल निर्माणको पनि कार्यप्रगति अहिलेसम्म ३० प्रतिशत माथि पुग्न सकेको छैन । सम्झौता अनुसार असोजमसान्तमा ठेक्का अवधि सकिने भएपनि पुल निर्माणको काम भने तीव्रता पाउन सकेको छैन । तर सरकारले दिएको थप म्याद अनुसार यो पुल निर्माणको अवधि अब ६ महिनामात्र बाँकी छ ।


२४ मिटरभन्दा फराकिलो यो सडकमा पुल भने २ लेनको पनि छैन । पुललाई दुईतिर २÷२ लेनको थपेर ६ लेनको बनाउने गरी निर्माण चलिरहेको छ । शान्ति आरोग्य जेभीसँग यस पुल निर्माणका लागि २०७५ असोज ८ गते सम्झौता भएको थियो । ठेक्का सम्झौता अनुसार पुल निर्माणको लागत १२ करोड ३२ लाख छ । तर पुलको निर्माण सक्नुपर्ने बेलासम्म पनि आधा काम पनि नभएको हो ।


सडक डिभिजन कार्यालय, पोखराका इन्जिनियर सन्तोष थापा जग्गा प्राप्ति, बिजुलीको पोल र खानेपानीका कारण ढिलाइ भएको बताउँछन् । ‘जग्गा भ्यालुएसनको काम भइरहेको छ, बजेट भने छैन जग्गा प्राप्तिका लागि, बिजुली, खानेपानीको पाइपले पनि ढिलाइ भयो,’ थापाले भने ।
पुलको जग बसाल्ने काम भने सकिएको छ । अब बाँकी रहेको काम भनेको माथिको पिल्लरको छ । अहिले पनि खानेपानी पाइपका कारण कुनामा जग राख्ने काम भने हुन सकेको छैन । ‘तल्लो फाउन्डेसनको त काम सकिइसक्यो, अब माथिल्लो मेन पिल्लरको काम छ, कुनामा पाइपका कारण फाउन्डेसनको काम हुन सकेको छैन,’ थापाले बताए ।

अनिष भट्टराई

भट्टराई समाधान दैनिक र समाधानन्युज डटकमका संवाददाता हुन् ।

तपाईको प्रतिक्रिया