गण्डकीलाई २४ गते साक्षर प्रदेश घोषणा गरिँदै

समाधान संवाददाता २०७८ असोज २० गते ११:३४

पोखरा – गण्डकी प्रदेश सरकारले आफ्नो प्रदेशलाई साक्षर घोषणा गर्ने भएको छ । २४ असोजमा पोखरामा हुने विशेष समारोहमा प्रधानमन्त्री शेरबहादुर देउवाको उपस्थितिमा साक्षर प्रदेश घोषणा गरिने भएको हो । यसका लागि प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रधानमन्त्री देउवालाई सरकारी निवास बालुवाटारमै भेटेर निमन्त्रणा पत्रसहित निम्तो दिएका छन् ।

३० भदौमा बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले सबै जिल्ला साक्षर घोषणा भइसकेकोले साक्षर गण्डकी अवधारणापत्र स्वीकृत गरी साक्षर प्रदेश घोषणा गर्ने निर्णय गरेको थियो । प्राप्त तथ्यांकअनुसार नवलपुरमा सबैभन्दा बढी ९८ प्रतिशत नागरिक साक्षर छन् । सबैभन्दा कम लमजुङमा ९५।५ प्रतिशतमात्रै नागरिक साक्षर भएको तथ्यांक छ ।

यस्तै मुस्ताङ ९६।३५, स्याङ्जा ९६।१६, कास्की ९६, तनहुँ ९६।४, बागलुङ ९६।५७, मनाङ ९६।९, गोरखा ९७।२, म्याग्दी ९६।२७ र पर्वत ९६।९३ प्रतिशत नागरिक साक्षर भइसकेको शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्रालयले जनाएको छ । जिल्लागत रूपमा सबै जिल्ला साक्षर घोषणा भइसकेका छन् ।

Advertisement

मुस्ताङलाई सबैभन्दा पहिलो साक्षर जिल्ला घोषणा गरिएको हो । ३१ असार ०७१ मा मुस्ताङ साक्षर जिल्ला घोषित भएको हो भने सबैभन्दा अन्तिममा पर्वतलाई १८ माघ ०७४ मा साक्षर जिल्ला घोषणा गरिएको हो । लक्षित समूहका ९५ प्रतिशतभन्दा बढी नागरिक साक्षर भए साक्षर जिल्ला घोषणा गर्न मिल्ने प्रचलन छ । अघिल्लो नीति तथा कार्यक्रममा २ वर्षभित्र प्रदेशलाई साक्षर घोषणा गर्ने बताइएको थियो ।

Advertisement

तपाईको प्रतिक्रिया