चाडपर्व नजिकिँदा कोरोना त्रास

सञ्जय रानाभाट २०७८ असोज २० गते १३:३७

पोखरा ।
गण्डकी प्रदेशमा कोरोनाका गम्भीर बिरामी घटेपनि संक्रमण दर भने बढ्न थालेको छ । चाडपर्व नजिकिएसँगै मानिसको बढ्दो चहलपहल र भीडभाडसँगै कोरोना पनि बढेको हो । असोजको पहिलो दिन गण्डकी प्रदेशभर कोरोना संक्रमितको संख्या ८४ हजार २ सय १४ थियो । मंगलबारसम्म यो संख्या १८ सय ७४ ले बढेर ८६ हजार ८८ जना पुगेको छ ।


पोखराका अस्पतालमा उपचार गर्न आउने संक्रमितको संख्या बढ्दो छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका कोभिड फोकल पर्सन शरद बरालले अहिले अस्पतालमा उपचार गर्न आउने बिरामीको चाप बढ्न लागेको बताएका छन् ।
असोज १ देखि निषेधाज्ञा हटाएकासँगै चाडपर्व नजिकिँदा जोखिम बढेको हो । केही समयअघि संक्रमण दर घटेपनि गएको १ हप्ताबाट कोरोना बढेर अस्पतालमा भर्ना हुनेको संख्या २७ पुगेको छ । ‘जिल्ला अस्पतालले कोरानाको उपचार गर्न छोडेपछि अस्पतालमा कोरोनाको बिरामी बढ्दो छ । अस्पतालमा दैनिक ओपिडिमा २०÷३० कोरोना संक्रमित आउँछन् । यसमध्ये ५÷६ जनालाई भर्ना गर्नुपर्ने हन्छ । अस्पतालमा भन्दा घरमै बसेर सञ्चो हुने बढी छन्,’ उनले भने ।


कोरोनाको उपचार हुने पोखरामा रहेका सरकारी अस्पताल पश्चिमाञ्चल क्षेत्रीय अस्पताल र संक्रामक रोग अस्पताल मोहरियामा अहिले आधा बेड खाली छन् तर गएको केही दिनदेखि संक्रमित बढेका छन् । संक्रामण्क रोग अस्पतालमा अहिले १३ संक्रमितको उपचार भइरहेको छ । ३५ बेड क्षमताको यो अस्पतालमा पछिल्लो समय खोपकै कारण कम भएपनि सुरक्षाका मापदण्ड पालना नगर्दा बढ्न सक्ने भन्दै सचेत रहन अस्पतालका प्रमुख विकास गौचन बताउँछन् ।

Advertisement


अहिले अस्पतालमा भन्दा धेरै बिरामी होम आइसोलेसनमै निको भएका छन् । प्रदेशमा धेरैले खोप लगाइसके पनि जोखिम भने अझै रहेको डाक्टरहरु बताउँछन् । डाक्टर शरद बराल भन्छन्, ‘बजारमा भीडभाड कायमै छ । कुनै सामाजिक दूरी पालना भएको छैन ।’ चाडपर्वमा जमघट बढ्दा संक्रमण बढ्न सक्ने जोखिम कायम भएको डाक्टरहरु बताउँछन् ।


धेरैले खोप लगाएका कारण संक्रमण दर घटेपनि चाडपर्वमा समयमा मानिसहरु धेरै घुलमिल हुने हुँदा संक्रमण बढ्न सक्ने बराल बताउँछन् । यस्तो बेला संक्रमण दर उच्च हुने हुँदा सर्तक रहनसमेत अनुरोध गरे । ‘निषेधाज्ञा खुकुलो भए पनि स्वास्थ्य मापदण्ड अपनाएर काम गर्ने र हिँडडुल गरौँ,’ उनले भने ।

Advertisement


२५ लाख जनसंख्या भएको गण्डकी प्रदेशमा ६ लाख ८८ हजार २९ जनाले पुरा डोज लगाइसकेका भने पहिले डोज ७ लाख ८९ हजार २ सयले लगाइसकेको प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. खिमबहादुर खड्काले बताए । खोप लागएकामध्ये सबैभन्दा बढी कास्कीका छन् । कास्कीमा दोस्रो डोजको खोप १ लाख हजार ७७ हजार १ सय २६ जनाले दुवै खोप लगाए भने पहिलो डोजको खोप १ लाख ६९ हजार २ सय ७७ जनाले पाएका छन् । खड्काका अनुसार ५२ वर्षभन्दा माथिको उमेर समूहकाले खोप लगाइसकेका छन् । १८ वर्ष माथिका विद्यार्थीहरुलाई खोप अभियान जारी भएको उनले बताए । पछिल्लो २४ घण्टामा प्रदेशमा थप १ सय जनामा संक्रमण पुष्टि भएको छ । गण्डकी स्वास्थ्य निर्देशनालयका अनुसार पछिल्लो समयमा १ हजार ३५ जना सक्रिय संक्रमित रहेको बताएका छन् ।

सञ्जय रानाभाट

रानाभाट समाधानन्युज डटकम र समाधान दैनिकका संवाददाता हुन् ।

तपाईको प्रतिक्रिया