लोमाङथाङका च्यांग्रा पोखरामा

सञ्जय रानाभाट २०७८ असोज २१ गते १४:५२

पोखरा ।
पोखरा बगरका रमेश खड्की १० दिनअघि मुस्ताङको लोमाङथाङ पुगे । दसैं नजिकिएपछि उनी वर्सेनी मुस्ताङ पुग्छन् । यो वर्ष पनि उनी असोज १० गते मुस्ताङ उक्ले । मुस्ताङबाट भेडा च्यांग्रा ल्याएर दुई चार पैसा कमाउने, अनि दसैंैं मनाउने ।


मुस्ताङबाट च्यांग्रा ल्याउनु सहज भने छैन । गाडीमा ल्याउँदा मर्ने डर त्यसमाथि महँगो भाडा तिर्नुपर्ने झन्झट । व्यापारीले ८÷१० दिन हिँडाएर च्यांग्रा पोखरा ल्याउँछन् । यसरी ल्याउँदा लागत महँगो पर्न जार्ने खड्का सुनाउँछन् ।


च्यांग्रा लिन मुस्ताङ पुगेका खड्काको ५ जनाको टोलीले यो वर्ष १ हजार भेडा, च्यांग्रा ल्याउने योजना बनाएको थियो । फर्कंदा १ सय ७० भेडा, च्यांग्रामात्र लिएर फर्किएको उनले सुनाए । भन्छन्, ‘मुस्ताङ पुग्दा किसानले नै मूल्य बढाए । पोहोर सालभन्दा यो वर्ष प्रतिच्यांग्रा १२ हजार महँगो हामीलाई नै प¥यो । मूल्य आकासियो, लगानी कम भयो । बेच्न पनि मुस्किल हुने जस्तो भएपछि कम ल्याएका छौं ।’

Advertisement


पोखरा ल्याउँदासम्म रोज्जा च्यांग्राको मूल्य ४५÷४६ हजार रुपैयाँ पर्ने उनी सुनाउँछन् । ‘सस्तोमा पाइन्छ भनेर मुस्ताङमै पुग्यौं । खोरमै महँगो प¥यो । रित्तै फिर्किन मनले नमानेपछि थोरै भने पनि ल्यायौं,’ उनले भने, ‘खोरमै महँगो पर्दा खतरा मोलेरै भए पनि केही भेडा, च्यांग्रा ल्याएका छौं । पोखरा ल्याएर हेम्जामा राख्छांै ।’


३० भेडा र १ सय ४० च्यांग्रा लिएर बुधबार कास्कीको नयाँपुल आइपुगेको छ उनको टोली । ६ दिनअघि मुस्ताङको लोमाङथाङबाट भेडा च्यांग्रा खेद्दै उनीहरु आएका छन् । बिहीबार बेलुकासम्म पोखरा आइपुग्ने खड्का सुनाउँछन् । भेडा, च्यांग्रा ल्याउँदा दुख पनि उत्तिकै छ । ‘जोखिम मोलेर पानीमा भिज्दै च्यांग्रा ल्याएका छांै । पोखरा ल्याएर हेम्जा याम्दिपुल नजिकै राख्छांै,’ उनी सुनाउँछन् । मूल्य महँगो पर्दा च्यांग्रा नबिक्ने डर पनि उनको टोलीलाई छ ।

Advertisement

ल्याउँदाको दुख जोड्दा च्यांग्रा झनै महँगो पर्ने उनले सुनाए । ‘घामपानी नभनी रातदिन च्यांग्रा हिँडाउँदा धेरै दिनदेखि सडकमै सुत्ने, सडकमै खाने गरेका छौं । अहिले च्यांग्र्रा महँगो भयो, यही मूल्य भए अर्को वर्ष ल्याउँदैनौं,’ उनले भने ।


पोखरा खसीबोका व्यवसाय समिति अध्यक्ष ज्ञानबहादुर श्रेष्ठले यो वर्ष पोहोर सालभन्दा च्यांग्राको मूल्य बढ्ने बताए । यस वर्ष खोरमै च्यांग्राको मूल्य बढेकाले धेरै आयात नहुने र बजारमा भएका पनि गाउँमा गएर दसैंैं मनाउने भएकाले धेरै खसीबोका बिक्री नहुने उनले बताए । भन्छन्, ‘गत साल कोरोनाले मानिस गाउँघर जान पाएनन् । अहिले त जान सुरु गरिसके । गाउँघरमा खसीबोका हुने हुँदा व्यापार कम हुन्छ ।’


यो वर्ष जिल्लाबाहिरबाट पोखरामा १ हजार खसीबोका भित्रिसकेको र अब ४ हजार भित्रिने उनको भनाइ छ । पोखरामा स्याङ्जा, तनहुँ, पर्वत, लमजुङ गोरखा, नवलपरासी लगायतबाट खसीबोका ल्यान्छ । ‘पोहोर सालसम्म १२ हजार खसीबोकाको माग भए पनि यो वर्ष ५ देखि ६ हजारले पुग्छ । च्यांग्रा भने महँगो भएर यो वर्ष धेरैमा ५ हजार च्यांग्रा आउँछ,’ उनले भने ।


हरेक वर्ष किन महँगिन्छ च्यांग्रा ?
गत वर्ष व्यापारीले रोज्जा च्यांग्रा २७ देखि ३५ हजारसम्ममा बेचेका थिए । अहिले भने ४५ हजारसम्म पुग्ने अनुमान छ । कोरोना महामारी र भूकम्पपछि चीनबाट ल्याइने सेतो च्यांग्रा ल्याइएको छैन । मुस्ताङमै माग बढी र उत्पादन कम भएपछि च्यांग्राको मूल्य बढेको व्यापारीहरु बताउँछन् । लामो बाटोमा कठिन यात्रा तय गरेर च्याङ्ग्रा ल्याउनुपर्ने र व्यापारी कम गएकाले मूल्य बढेको अध्यक्ष श्रेष्ठले दाबी गरे । ‘कोरला नाका बन्द हुनु, धेरै व्यापारी नजानु, ठाउँ ठाउँमा कर र दस्तुर तिर्नु पर्दा मूल्य बढेको बुझ्न सकिन्छ,’ उनले भने ।


च्यांग्रा किन्दा सजग हुन उपभोक्ता मञ्च गण्डकी अध्यक्ष कपिलनाथ कोइराला आग्रह गर्छन् । भाले च्यांग्रा र पोथी च्यांग्राको मूल्य फरक फरक हुने हुँदा ध्यान दिन उनले अनुरोध गरे । पोखरामा खसीबोकाको मासु प्रतिकेजी ११ सय ३० रुपैयाँ तोकिएको छ । च्यांग्राको मासुको मूल्य भने तोकिएको छैन ।


पशु चिकित्सक डा. शम्भुराज पाण्डे कोरोना महामारीको समयमा खसीबोका स्वस्थ छ कि छैन भनेर छुट्टाएरमात्र किन्न अनुरोध गर्छन् । हेर्दा टाठो, चिसो नलागेको, दिसा, पिसाब निरन्तर गरिरहेको पशु स्वस्थ हुने हुँदा त्यस्ता पशुमात्र किन्न उनले उपभोक्तालाई आग्रह गरे ।

सञ्जय रानाभाट

रानाभाट समाधानन्युज डटकम र समाधान दैनिकका संवाददाता हुन् ।

तपाईको प्रतिक्रिया