स्वास्थ्य

मुस्ताङका बालबालिकामा कोरोनाको लक्षण , १३ जनाको स्वाब पोखरा पठाईयो

बालबालिकामा निमोनियाको प्रकोप

सुन्दरकुमार थकाली २०७८ असोज २१ गते १५:५९


जोमसोम

Advertisement

मुस्ताङका बालबालिकामा निमोनियाको प्रकोप देखिएको छ । निमोनियाका कारण पछिल्लो साता दुई दर्जन बालबालिका बिरामी परेसंगै जिल्ला अस्पतालको बिरामी राख्ने बेड भरिएको जिल्ला अस्पताल जोमसोमले जनाएको छ ।बिरामी बढेसंगै अस्पताल र स्वास्थ्य चौकीमा उपचार गराउन आउने बालबालिको संख्या दिनहु वृद्धि भईरहेको छ ।

मुस्ताङ अस्पतालमा भर्ना भएका अधिकांश बालबालिकामा निमोनियाको समस्या देखिएको अस्पतालको मेडिकल सुपरिटेन्डन मनोज घिमिरेले जानकारी दिए । उनका अनुसार बालबालिकाहरु रुघाखोकी,ज्वरो ,छातीको घ्यार÷घ्यार गर्नुको साथै श्वाशप्रश्वास लगायतको समस्या देखिएको हो ।‘एक्कासी बालबालिकाहरु धमाधम बिरामी पर्न थालेका छन् ,मेसु घिमिरेले भने,‘ उपचारमा आएका बालबालिका मध्ये सबैजसोमा निमोनिया र ज्वरो आदीको समस्या छ ।’ दुई साताको फेरोमा अस्पतालमा करिव ३ दर्जन बालबालिकामा यसप्रकारको समस्या देखिएको उनको भनाई छ । उनका अनुसार अस्पतालमा भर्ना हुन आएका २ महिनादेखि ३ बर्षका बालबालिकामा निमोनियाको समस्या देखिएको हो ।

जोमसोम अस्पतालमा भर्ना भएका मध्ये दुई दर्जन बिरामी उपचारपछि घर फर्किएको उपचार गराई रहेका एक दर्जन बढी बिरामी अस्पतालमै रहेको अस्पतालले जनाएको छ । कोरोना भाईरस सक्रमणको लक्षणसंगै मिल्दोजुल्दो भएकाले अस्पतालले बालबालबालिकाहरुको एन्टिजेन परीक्षण समेत गराएको छ । अस्पताल भर्ना भएका बालबालिका सबैको रिपोर्ट नेगेटिभ आएपनि जिल्ला अस्पतालले भने बढी लक्षण देखिएका १३ जना बालबालिकाको नमूना स्वाब परीक्षणका लागि बुधबार पोखरा पठाएको मेसु घिमिरेले जानकारी दिए । स्वाब पठाएका बालबालबालिकामा श्वाश प्रश्वासको समस्या देखिएकाले अक्सिजन दिएर राखेको उनले बताए ।

कोरोना भाईरसको तेश्रो लहर बालबालिकामा हुने भएका कारण बालबालिकाका अभिभावक त्रसिद बन्न थालेका छन् ।मुस्ताङमा १८ वर्षदेखि माथिका सबै नागरिकले कोरोना बिरुद्धको खोप प्राप्त गरिसकेको भएपनि बालबालिकामा रुघाखोकी,ज्वरो र छातीको समस्याले कोरोनाकै कारण उब्जिएको समस्या हाकी भन्दै अभिभावकहरुमा चिन्ता थपिएको छ । जिल्ला अस्पतालमा अक्सिजनसहित भर्ना भएका बालबालिकाको अवस्था भने सामान्य रहेको जनाईएको छ ।मुस्ताङमा गर्मीयामसंगै जाडो समय सुरु भएको र मौसम परिवर्तनका कारण पनि निमोनियाको समस्या आउन सक्ने जोमसोम अस्पतालको भनाई छ । तर ,भर्ना भएका बालबालिकाको बिस्तृत रिपोर्ट आएपछि मात्र बिरामी हुनुको कारण पत्ता लाग्न सक्ने अस्पतालले बताएको छ ।

Advertisement

सुन्दरकुमार थकाली

थकाली समाधान दैनिकका मुस्ताङ संवाददाता हुन्  

तपाईको प्रतिक्रिया