विश्वकप छनाैटः ब्राजिले जित्याे, अर्जेन्टिना ड्र

समाधान संवाददाता २०७८ असोज २२ गते ८:४०

एजेन्सी ।

विश्वकप फुटबल छनोट अन्तर्गत दक्षिण अमेरिकी छनोटमा ब्राजिलले शानदार जित निकाल्दा अर्जेन्टिना बराबारीमा राेकिएकाे छ । ब्राजिलले भेनेजुयलालाई पराजित गरेकाे हाे भने अर्जेन्टिना पाराग्वेसँग अंक बाड्न बाध्य भयाे ।

ब्राजिलले भेनेजुएलालाई ३–१ ले पराजित गरेको छ । शुक्रबार बिहान सम्पन्न खेलमा ब्राजिलले एक गोलले पछि परेको स्थिति उल्टाएर जित हात पारेको हो ।

Advertisement

खेलको ११औं मिनेटमा एरिक रामिरेजले गोल गर्दै भेनेजुएलालाई अग्रता दिलाएका थिए । ७० मिनेटसम्म अग्रता कायम राखेपनि त्यसपछि ब्राजिलले ३ गोल फर्कायो ।

७१औं मिनेटमा मार्क्विवन्होसले ब्राजिलका लागि बराबरी गोल गरे । गाब्रिएल बारबोसाले ८५औं र एन्टोनीले इन्जुरी टाइममा गोल गरेपछि ब्राजिलले जित हात पारेको हो ।

Advertisement

छनोटमा लगातार ९ खेल जितेको ब्राजिल शतप्रतिशत नतिजासहित २७ अंक जोडेर शीर्ष स्थानमा छ ।

भेनेजुएला १० खेलबाट ४ अंकसहित १०औं स्थानमा छ ।

यस्तै अर्को खेलमा अर्जेन्टिनाले पाराग्वेसँग गोलरहित बराबरी खेल्दै अंक बाँडेको छ ।

छनोटमा चौथो बराबरी खेलेको अर्जेन्टिना ९ खेलबाट ५ जित र ४ बराबरीको नतिजासहित १९ अंक जोडेर दोस्रो स्थानमा छ । पाराग्वे १० खेलबाट १२ अंकसहित छैटौं स्थानमा छ ।

अर्को खेलमा उरुग्वे र कोलम्बियाले पनि गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् । उरुग्वे १० खेलबाट १६ अंकसहित चौथो र कोलम्बिया १४ अंकसहित पाँचौ स्थानमा छन् ।

तपाईको प्रतिक्रिया