दैनिक १ हजारले पोखरा छाड्दै

सञ्जय रानाभाट २०७८ असोज २२ गते १७:४५

पोखरा ।
बजारको भीड बाक्लो भएको छ । पसलहरुमा ग्राहक बढेका छन्, ठेलमठेल छ अहिले पोखराको बजार । बसमा चढे पनि उस्तै घुँइचो । किनमेल गर्न गाउँबाट मानिसहरु आइरहेछन् । विद्यालय बन्द भए, स्कुले केटाकेटी लिएर बुबाआमा गाउँ फर्कंदै छन् । दसैं आएपछिको परिदृश्य हो यो । अहिले दसैं लागेपछि पोखरा छाड्नेको संख्या बढेको छ ।


बिहीबार पनि पोखराको पृथ्वीचोक भरिभराउ देखिन्थ्यो । त्यहाँ रहेका खाजा पसल देखि टिकट काउन्टर भरिभराउ थिए । त्यही भिडमा भेटिए, रोल्पाका महेन्द्र घर्ती । रोल्पा सुनछहरी गाउँपालिकाका घर्ती पोखरा आएको ५ महिना भएको थियो । दसैंलाई लक्ष्य गरेर केही पैसा कमाउन घर्ती पोखरा झरेका थिए । बिहीबार पृथ्वीराजमार्ग बस सञ्चालक समितिको टिकट काउन्टरमा उनी टिकट लिन पुगेका थिए । अहिले केही पैसा हातमा राखेर उनी फेरि रोल्पा नै फर्किएका छन् । दसैंका लागि केही पैसा कमाएर घर फर्कंदा उनी प्रफुल्लित देखिन्थे । बुबाआमाका लागि केही जोर कपडा किनेर लगिदिएका छन् । अब उनी दसैं, तिहार मनाएर पोखरा फर्कने योजनामा छन् ।


सराङकोट घर भएकी सविना ढकाल पनि माइत फर्किन बिहीबार टिकट हातमा लिएर बसेकी थिइन् । २ छोरी सहित उनी गोरखा दस किलोमा रहेको माइत फर्किन लागेकी थिइन् । उनका श्रीमान विदेश छन् । परिवारमा अरु नभएपछि सविना दसैंैं मनाउन माइत जान लागेकी हुन् । ‘अरुबेला त के पर्छ, कहिले के पर्छ, चाडवाडमा त परिवारसँगै हुँदाको मजा बेग्लै हुन्छ नि,’ उनी खुसी सुनिइन् ।

Advertisement


बुटवल घरभएका अजय राउत सोमबार टिकट काट्न काउन्टरमा लाइन लगाउँदै थिए । उनी सहित श्रीमती छोराका लागि उनले टिकट काट्न काउन्टर पुगेका थिए । अफिस बन्द भएपछि २५ गते घर फर्किने गरी टिकट काट्न आएको उनले बताए । अघिल्लो वर्ष कोरोनाको कारण घर नगएका उनी यसपलि भने घर गएर चाड मनाउन लागेका हुन् । ‘सबै परिवारसँग चाडपर्व मनाएको जस्तो नहुँदो रैछ,’ उनले भने ।


पृथ्वीबस सञ्चालक समितिका अध्यक्ष योगेन्द्र केसीका अनुसार ४ दिनदेखि पोखराबाट बाहिरिनेको संख्या बढेको छ । उनका अनुसार प्रत्येक दिन १ हजार जनाले पोखरा छाडेको उनले बताए । उनी भन्छन्, ‘महामारीले अघिल्लो वर्ष धेरैले पोखरा छाडेर बाहिर जान सकेनन्, अहिले बाहिरिने धेरै हुनुहुन्छ ।’ समितिले अग्रिम बुकिङ २७ असोजसम्म खुलाएको छ । दुई वर्ष अघि दसैंैंमा १ लाख मान्छेले पोखरा छोडेकोमा यसवर्ष भने २५ हजारले पोखरा छोड्ने समितिले अनुमान गरेको छ । केसी भन्छन्, ‘महामारीले थलिएको बस व्यवसायलाई दसैंैंमा केही राहत त भयो तर, मान्छेहरु अझै खुलेर बाहिर निस्कन डाराए ।’

Advertisement


पहिले पहिल निजी सवारी साधनहरु कम हुन्थे । अहिले धेरैसँग सवारीसाधन भएकाले पनि बस चढ्नेहरु कम हुँदै गएका केसी सुनाउँछन् । यस वर्ष टिकट काटेर जाने मान्छेहरु धेरै कम भएको केसीले बताए । दसैंैंको दिनभने समितिले गाडी नचलाउने उनी सुनाउँछन् । गाडीवालाले चलाए पाउने तर, समितिले त्यसदिन भने बिदा दिएको उनले सुनाए । भन्छन, ‘समितिको रुटमा यसदिन नहिँडेपनि व्यक्तीगत गाडीहरु चल्न सक्छन् यसदिन बस व्यवसायहरु समितिको नियममा हुन्नन्’

सञ्जय रानाभाट

रानाभाट समाधानन्युज डटकम र समाधान दैनिकका संवाददाता हुन् ।

तपाईको प्रतिक्रिया