पोविविमा अनुसन्धान केन्द्र र आवास गृह निर्माण सुरु

समाधान संवाददाता २०७८ असोज २३ गते १३:५२

पोखरा ।
पोखरा विश्वविद्यालयका उपकुलपति प्राडा प्रेमनारायण अर्यालले पोखरा विश्वविद्यालय प्रांगणमा निर्माण हुन लागेको अत्याधुनिक अन्तर्राष्ट्रियस्तरको अनुसन्धान केन्द्र तथा आवास गृहको शुक्रबार शिलान्यास गरेका छन् ।

Advertisement


‘ओपन इन्टरनेसनल रिसर्च सेन्टर एन्ड गेस्ट हाउस’ नामकरण दिइएको उक्त भवन पोखरा विश्वविद्यालय शिक्षण संस्थाहरूको संघ, नेपाल (ओपन) ले पोखरा विश्वविद्यालय २५ औं वर्ष पुगेको उपलक्ष्यमा मनाउन गइरहेको रजतजयन्तीको अवसरमा पोखरा विश्वविद्यालयसँग सहकार्य गरी निर्माण गर्न लागेको हो ।


करिब १२ करोडको लगानीमा निर्माण हुने उक्त भवन विश्वविद्यालयको प्रांगण लेखनाथमा अवस्थित ११४ रोपनी प्लटको डि ब्लकमा निर्माण हुनेछ । करिब चार हजार वर्गफिट प्रतितलाका दरले सम्पूर्ण पूर्वाधारसहित चारतले भवन निर्माण सम्पन्न गरी दुई वर्षभित्र पोखरा विश्वविद्यालयलाई पूर्णरूपमा हस्तान्तरण गर्ने कार्य योजना छ । भवनमा सबै गरेर सुविधा सम्पन्न ३३ वटा कोठा, हलहरू छन् ।


पोखरा विश्वविद्यालयको समग्र उन्नयन एवम् शैक्षिक तथा अनुसन्धानात्मक वातावरणलाई विश्वस्तरीय बनाई विश्वविद्यालयको छवि उच्च बनाउने उद्देश्यस्वरूप विश्वविद्यालयबाट सम्बन्धन प्राप्त ५८ वटा कलेजहरूले अन्तर्राष्ट्रियस्तरको अनुसन्धान केन्द्र तथा आवास गृह निर्माण गर्न लागेका हुन् ।


शिलान्यासपछिउपकुलपति अर्यालले विश्वविद्यालयलाई सबैले पवित्रस्थलको रूपमा विकास गर्नुपर्नेमा जोड दिए । ‘विश्वविद्यालयमा नयाँनयाँ अनुसन्धान र परिवर्तनको अझ बढीखाँचो छ । यसको उत्थानका लागि ओपनले निर्माण गर्न लागेको अन्तर्राष्ट्रिय अनुसन्धान केन्द्र तथा आवास गृहले विश्वविद्यालयलाई थप उचाईमा लैजाने विश्वास छ,’ उनले भने ।

Advertisement


रजिस्ट्रार डा. दीपकबहादुर भण्डारीले विश्वविद्यालय सबैको साझा संस्था भएकोले यसको विकासमा सबै एकै ठाउँ र समूहमा बसेर काम गर्नुपर्नेमा जोड दिए । उनले सम्बन्धनप्राप्त कलेजहरू विश्वविद्यालयको एउटै परिवार भएकाले ती कलेजहरूको साथ र सहयोग विश्वविद्यालयको विकास र विस्तारका लागि महत्वपूर्ण हुने बताए ।


विश्वविद्यालयको व्यवस्थापन संकाय डिन डा. दयाराज ढकालले ओपनको सहकार्यमा निर्माण हुन लागेको अनुसन्धान तथा आवास गृह विश्वविद्यालय परिवार र समाजका लागि एक उत्कृष्ट कार्य भएको बताए ।


ओपनका अध्यक्ष एवम् नोबेल कलेजका संस्थापक÷प्राचार्य नवराज पाण्डेले पोखरा विश्वविद्यालयको विकास भएमा स्वतः यस क्षेत्रको व्यापार, व्यवसाय, पर्यटन आदि फस्टाउने उल्लेख गरे ।‘पोखरा विश्वविद्यालयको विकासमा स्थानीयबासी र यसका सरोकारवालाहरूको महत्वपूर्ण योगदान छ,’ उनले भने ।अक्सफोर्ड कलेज अफ इन्जिनियरिङ एन्ड म्यानेजमेन्टका संस्थापक÷प्राचार्य तथा भवन निर्माण समितिका संयोजक इन्जिनियर हरि भण्डारीले पोखरा विश्वविद्यालयको उचाई नबढेसम्म सम्बन्धनप्राप्त कलेजहरूको पनि उचाई नबढ्ने विचार राखे ।


राप्रपाका नेता विष्णु पोखरेलले स्थानीयबासीले पोखरा विश्वविद्यालयकालागि छुट्टाइएको २७४० रोपनी जग्गाका लागि पञ्चायती कालमा २ करोड जुटाएको स्मरण गरे । त्यसरी जुटाएको जमिन विश्वविद्यालयले संरक्षण र सम्बर्धन गर्न नसकेकोमा उनले दुःख व्यक्त गरे । पोखरा महानगरपालिका वडा नं. ३० का वडा अध्यक्ष श्रीराम पोखरेलले स्थानीयबासी र यसक्षेत्रका आम नागरिकले धेरै दुःखका साथ पोखरा विश्वविद्यालय जन्माएको बताए । कार्यक्रम सञ्चालन कामु उपप्रशासक रोशन पाण्डेले गरेका थिए ।

तपाईको प्रतिक्रिया