अलपत्र फिर्केखोला पुलको कथाव्यथा

समाधान संवाददाता २०७८ असोज २३ गते १७:४७


मुक्ति पराजुली (लहर)


पोखराको मुटु मानिने चिप्लेढुंगाबाट सिधा पश्चिमतर्फ गएको सिद्धार्थचोक हुँदै पोखरा बागलुङ सडकसँग जोडिने बाटोमा फिर्के खोला पर्दछ । उक्त खोलामा विगत केही वर्षअघि यहाँका स्थानीय बासिन्दा र पोखरा नगरपालिकाको सहयोगमा ह्युमपाइप राखी पुल निर्माण गरी बाटो सञ्चालन भइरहेको थियो, तर उक्त समयमा एउटामात्र ह्युमपाइप राखिएको थियो । वर्षाद्को समयमा ठूलो बाढी आउँदा एउटा ह्युमपाइपले मात्र थेग्न सक्दैन भनी केही वर्षपछि अर्को ह्युमपाइप थपियो । तर पछि राखिएको ह्युमपाइप अलि तल राख्नुपर्ने थियो त्यो नहुँदा पहिला राखेको ह्युपाइपबाट मात्र खोलाको पानी जम्ने गर्दथ्यो ।


पुलको उत्तरपट्टि खोलाको किनारमा केही सुकुमबासीहरू बसोबास गर्छन् । वर्षाद्को समयमा ठूलो बाढी आउँदा ह्युमपाइप बुजिएर कहिले काहीँ बाढीले उनीहरूलाई असर पार्ने गथ्र्याे । यही विषयलाई मध्यनजर गर्दै पोखरा महानगरपालिकाले पक्की पुल निर्माण गर्ने सोच राखेर शान्ति आरोग्य जेभी सानेपा, ललितपुर कम्पनीसँग ४ करोड ५५ हजार रूपैयाँको लागतमा पुन निर्माणको सम्झौता गरेको बुझिन्छ । पुल निर्माणको कार्य १८ महिनामा ठेकेदारले सम्पन्न गर्नुपर्ने थियो, झण्डै २ (दुई) वर्ष लगाएर कछुवा गतिमा पुलको फाउन्डेसनसम्म निर्माण गरेको पाइन्छ । तत् पश्चात् एउटा पुरानो डोजर र एकजना प्राविधिक इन्जिनियरको उपस्थिति मात्र देखिन्छ । पुल निर्माण गर्दा आवश्यक पर्ने सामग्रीहरू र अन्य औजारहरू कहीँ कतै देखिँदैन ।


सिद्धार्थचोकदेखि वडा नं. ५ को पोखरा–बागलुङ सडकसँग जोडिने बाटोको आसपासमा कयौँ पसलहरू सञ्चालन भएका छन् । त्यतिमात्र नभएर यो सडक अति व्यस्त हुन्थ्यो । जहाँबाट धवलागिरी क्षेत्रभित्रका जिल्लाहरूमा जाने सवारी साधनहरू समेत जाने गर्थे । बेगनास तालमा जाने सवारी साधनहरू पनि जाने बाटो नै यही हो । यस्तो व्यस्त रहने बाटोमा विगत २ वर्षअघिदेखि सवारी साधन आवतजावत गर्न नमिल्ने, वैकल्पिक बाटोको समेत व्यवस्था नगरी पुल निर्माण गर्न भनी खाडल खनी कामको थालनी नै नगरी राखेको हुँदा सबैलाई सास्ती पु¥याएको कारणले यहाँका स्थानीय व्यक्तिहरूले पुल छिटो निर्माण गरियोस् भनी सम्बन्धित निकायहरूमा पटकपटक मौखिक एवं लिखित रूपमा समेत निवेदन दिँदै आएको बुझिन्छ । समयमा काम सम्पन्न गर्ने अवस्था नदेखेपछि २०७८ आश्विन १७ गतेका दिन सिद्धार्थचोकमा शान्तिपूर्ण चक्काजामको कार्यक्रम पनि राखिएको थियो ।


कुनै पनि काम गर्नेभन्दा गराउनेलाई महत्त्वपूर्ण मानिन्छ । पुल निर्माणको कार्य गराउने भनेको पोखरा महानगरपालिका नै हो । यसको जस, अपजस लिने काम पनि उसैको हो । यस कार्यमा सहयोग गर्ने भनेको ठेकेदार, वडा अध्यक्षहरू र स्थानीय बासिन्दा हुन् । एकातिर बाटोको आसपासमा बसोबास गर्ने स्थानीयहरू बाटो नभएर तड्पीतड्पी बसेका छन् । कतिपयलाई त व्यवसाय नै छाड्न पर्ने परिस्थितिको सिर्जना भएको छ । अर्कोतर्फ केही पत्र–पत्रिकामा स्थानीयले नै अवरोध खडा गरी बाटो निर्माण गर्न दिएनन् भनि खबर छापिनु युक्तिसंगत देखिँदैन । यस्तो संवेदनशील विषयमा पत्र–पत्रिकाको समेत सहयोगको आवश्यक देखिन्छ । पानीमा भएको माछा पानीबाट बाहिर निकाल्दा छट्पटिन्छ, उसले पानीमा नै बस्न खोज्दछ, यो प्राकृतिक नियम हो सबैले बुझ्नुपर्ने हुन्छ । साथै असोज १७ गतेको आन्दोलनको कार्यक्रममा ऐक्यबद्धता जनाउन आउनुभएका वडा नं. ४ र ५ का वडा अध्यक्षहरूले अश्विन १८ गतेबाटै ३ (तीन) दिनभित्र सानो गाडी चल्ने बैकल्पिक बाटोको निर्माणको व्यवस्था मिलाउनुका साथै पुल निर्माणको काम पनि तत्कालै सञ्चालनमा ल्याइनेछ भनी बचन दिनुभएको थियो । त्यसको आधारमा आन्दोलन स्थगित गरेको पाइन्छ । तर त्यो हुन सकेको देखिँदैन, उहाँहरूको सहयोग पनि नपाएको भन्न मिल्दैन, बेला बखतमा बोलाएको समयमा उपस्थित भएकै देखिन्छ ।


गजबको कुरा त के हो भने यो कुनै महाकाली नदी, सेती नदी जस्ता ठूला नदीमाथि बनाएको पुल पनि होइन । यो फिर्केखोला त एउटा सानो खोला हो जहाँ ३ महिना मात्र वर्षादको समयमा पनि बग्छ । अन्य समयमा यहाँ कामकाज गर्न कुनै प्रकारको असुविधा हुँदैन । अहिले कोभिडको अवस्था पनि न्यून भएर गएको पाइन्छ । पोखराको आसपासमा निर्माण भएका नारायण स्थानको पुल र फिर्केखोलामा बनेको मासबारको पुल कति समयभित्र बन्न सक्यो भन्ने कुरा पनि सबैले थाहा पाएका छन् । समस्याको सुरुवात जहाँबाट हुन्छ समाधान पनि त्यहीँबाट हुनुपर्छ ।


जुन स्थानबाट लोटिन्छ उठ्ने पनि त्यहीबाट हो । कुनै मानिसले सयौंँ राम्रा काम गरोस् केही ख्याल गरिँदैन । तर एउटा मात्र नराम्रो काम ग¥यो भने त्यसमा सबैको ध्यान जाने पनि गर्छ । अनि पहिला गरेको राम्रो कामको पनि खोट लगाउन खोजिन्छ । कुनै एकजना गुरुले भित्तामा सेतो कागज टाँसेर चेलाहरूलाई सोध्छन्, यहाँ तिमीहरूले के देखेका छांै ? उनीहरूले भन्छन्, कालो मसीको दाग तर उनीहरूले भित्ताभरि टाँसिरहेको सेतो कागज देखेका हुँदैनन्, दुनियाँ पनि यस्तै छ । होला कतिपय राम्रा कामहरू महानगरपालिकाले गरेको पनि छ तर विकास निर्माणको काम गर्दा ठाउँ हेरी कतिको प्राथमिकता दिनुपर्ने हो भन्ने विषयमा विचार गर्नुपर्ने हो । जनतालाई कुनै असुविधा नहोस्, झमेलामा कोही नपरुन् काम छिटो छरितोसँग होस् भन्ने उद्देश्य राखी ३ (तीन) तहको सरकार गठन भएको छ । त्यो पनि अधिकार सम्पन्न तर कामको रूपरेखा हेर्दा चित्तबुझ्दो तवरले काम गरेको कतै पाइँदैन । जसलाई जे जिम्मेवारी दिएको हुन्छ नियमपूर्वक गरेमा जनता खुसी हुन्छन् ।


सानोतिनो विषयमा पनि पटकपटक धाउनुपर्ने, व्यक्त गरिएका विषयको सुनुवाइ नहुने जस्तो अवस्था रहँदै गयो भने यसले व्यवस्थालाई नै असर पु¥याउने गर्छ । विद्या भन्दा पनि बुद्धि ठूलो हुन्छ, बुद्धि भन्दा पनि विवेक ठूलो हुन्छ । कतिपय विषयमा नियम कानुन मात्र पालना गर्दछु भनी अन्धभक्त मात्र भएर पनि हुँदैन, विवेकको प्रयोग हुनुपर्दछ । पानीले तिर्खाएको मानिसलाई पानी नै दिनुपर्दछ अनि यो प्यास मेटिन्छ, उसलाई भात दिएर हुँदैन । भोलि पाइने मयूरभन्दा आजै प्राप्त हुने परेवा उत्तम मानिन्छ । भोलि महत्त्वपूर्ण कुरा पाउने भए पनि तुलनात्मक रूपमा आजै पाइने सामान्य वस्तु श्रेयस्कर हुन्छ ।


कुनै कामको थालनी गर्नुभन्दा पहिला समयमा काम गर्न सकिएन भने त्यसको परिणाम के हुन्छ भन्ने सोच विचार गर्नुपर्छ । खोलामा पुल निर्माण गर्न त थालियो, बटुवाका लागि वैकल्पिक बाटोको कल्पना गरिएन । ठेकेदारको कामको शैली हेर्दा छिटो पुल बनाउला जस्तो रूपरेखा देखिँदैन, सुस्त गतिमा गएको देखिन्छ । जोगीले मागेर खीर खान खोजेको अवस्था छ । यहाँ कसैले कसैलाई दोष दिनुभन्दा समन्वयात्मक तरिकाले पुलको काम छिटो सम्पन्न निर्माण होस् भन्ने सबैको जनचासोको विषय बनेको छ ।

तपाईको प्रतिक्रिया