आचार्यले दिए कांग्रेसलाई ५० लाख

समाधान संवाददाता २०७८ असोज २५ गते ११:१२

पोखरा ।
प्रजातन्त्र सेनानी तथा समाजसेवी लीलाभक्त आचार्यले नेपाली कांग्रेसको वडा नम्बर १७ को समितिलाई ५० लाख रुपैयाँ दिएका छन् । कांग्रेसको वडा कार्यालय भवन निर्माणका लागि आचार्यले सो रकम दान गरेका हुन् ।
कांग्रेसको वडा समितिले आचार्यलाई अभिनन्दन गरेको छ । आचार्यले पार्टीका लागि भनी प्रधानमन्त्री शेरबहादुर देउवालाई आइतबार चेक हस्तान्तरण गरे । आचार्यलाई देउवाले अभिनन्दनसमेत गरे । आचार्य पुराना कांग्रेस कार्यकर्ता हुन् । ९३ वर्षीय आचार्य अझै पनि समाजसेवामा सक्रिय छन् ।


आचार्य २००६ सालदेखि नै नेपाली कांग्रेसमा आवद्ध भएका थिए । उनी २००८ मा जनकपुरमा, २०१० नेपालगन्जमा, २०१२ मा वीरगन्जमा र २०१४ विटारनगरमा भएका कांग्रेस महाधिवेशनमा प्रतिनिधि भएका थिए । २०१४ सालमा नेपाली कांग्रेसको आह्वानमा भएको भद्र अवज्ञा आन्दोलनका क्रममा पक्राउ परी आचार्य ६ महिला जेल परेका हुन् ।


२०१५ देखि १७ सालसम्म आचार्य नेपाली कांग्रेस कास्की सभापति भएका थिए । २० सालमा उनलाई राजनीति गतिविधिमा संलग्न भएको आरोपमा तत्कालीन पञ्चायत सरकारले गण्डकी अञ्चल निस्कासन गरेको थियो । पछि २२ सालमा उनी पक्राउ परेका थिए ।
२०४९ सालमा प्रजातान्त्रिक सेनानी कास्कीको उपाध्यक्ष भएका आचार्य २०५३ देखि अहिलेसम्म सभापति छन् । राजनीतिबाहेक धार्मिक र सामाजिक क्षेत्रमा पनि आचार्यको योगदान छ । २०४० सालमा पोखरा १७ बिरौटामा आचार्यले राम मन्दिर स्थापना गरेका हुन् । उक्त मन्दिर व्यवस्थापन समितिमा स्थापना कालदेखि नै अहिलेसम्म उनी अध्यक्ष छन् । त्यसो त उनी २०३७ सालमै विश्व हिन्दु महासंघ कास्की सभापति भएका थिए ।

Advertisement


२०१० सालमा पोखरा वैदाममा वाराही प्राथमिक विद्यालय स्थापना गर्न आचार्यले अगुवाइ गरेका हुन् । उक्त विद्यालयमा २०३१ सालसम्मै आचार्य अध्यक्ष थिए । २०१५ सालमा पोखरा १ बगरमा स्थापित विन्ध्यवासिनी रात्रि पाठशालाका उनी संस्थापक अध्यक्ष हुन् । २०२१ सालमा पोखरा ९ नयाँबजारमा स्थापित महेन्द्र माविका पनि आचार्य संस्थापक अध्यक्ष हुन् । विन्ध्यवासिनी संस्कृत विद्यापीठ पोखरा १ बगरमा उनी २०४९ देखि ५७ सालसम्म अध्यक्ष रहे ।


२२ सालमै उनले लेखनाथको शिशुवामा शिशुवा प्राथमिक विद्यालय स्थापनाका लागि ८ रोपनी जमिन दान गरेका थिए । पोखरा १७ को छोरेपाटन माविमा २०३३ देखि ४६ सम्म आचार्य अध्यक्ष थिए । व्यक्तिगत स्वार्थलाई पन्छाएर सधै राजनीतिक, सामाजिक, शैक्षिक र धार्मिक क्षेत्रका हित र प्रगतिमा बुवा लीलाभक्त लागिरहेको उनका छोरा विश्वराज आचार्यले बताए ।

Advertisement

तपाईको प्रतिक्रिया